विराटनगरमा अवैध हुण्डी कारोबार बढ्दो

पुस २०, २०८०

विनोद भण्डारी

विराटनगर — पछिल्लो समय जोगवनी र आसपासका नाकाबाट अबैध हुण्डीको कारोबार बढ्दो छ । प्रहरीले दिनहुँजसो भारतको जोगवनीबाट विराटनगर भित्रिंदै आएको स्रोत नखुलेको भारु र नेरु रकम बोक्नेलाई नियन्त्रणमा लिने गरेको छ । अनुसन्धानपछि उनीहरु व्यवसायिक हुण्डी कारोबारीका भरिया मात्र भएको खुल्ने गरेको प्रहरी बताउँछ ।

यो कारोबारमा विराटनगरका केही नाम चलेका उद्योगी व्यवसायीको पनि संलग्नता रहेको र तिनै उद्योगी, व्यवसायीले भरिया मार्फत् हुण्डीको रकम ल्याउने र पुर्‍याउने गरेको प्रहरीको अनुमान छ । 

केहीदिन अगाडि मोरङ प्रहरीले स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित सुनसरीका देवानगन्ज-५ का ४९ वर्षिय सुरेन्द्रप्रसाद साहलाई जोगवनी बोडर नजिकको केशलीया मार्गबाट नियन्त्रणमा लियो ।

नियन्त्रणपछि अनुसन्धान गर्दा उनी जय माता ट्रेर्डस देवानगन्ज सुनसरीमा धान चालमको व्यापार गर्ने व्यापारीसँगै व्यवासायीक हुण्डी कारोबारी भएको पुष्टि भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालको ठहर छ । उनले भने भारतमा भएको कारोबार वापतको रकम साहले हुण्डी मार्फत भित्र्याएको पाइएको छ ।

त्यसअघि स्रोत नखुलेको २१ लख ८७ हजार रुपैयाँ सीमापारीबाट ल्याउँदै गरेका एक १६ वर्षिय बालकलाई प्रहरीले सीमा नाका नजिकबाट नियन्त्रणमा लियो । उनलाई व्यवसायिक हुण्डी कारोबारीले प्रयोग गरेको पाइएको डिएसपी दाहालले बताए ।

हुण्डीका कारोबारी विवेक गुप्ता र मनोज साहले ती बालकलाई प्रयोग गरेर सीमापारीको कालोधन भित्र्याउने प्रयास गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । गुप्ता र साह फरार छन् । हुण्डीका व्यवसायिक कारोबारीले रकम ओसार्न १८ वर्ष मुनिका किशोर किशोरीलाई प्रयोग गर्दै आएको पनि प्रहरीले उल्लेख गरेको छ । 

विराटनगर-१५ का धर्मानन्द साहलाई पनि स्रोत नखुलेको ४ लाख ७५ हजार रुपैयाँ र  रन्जीत साहलाई पनि स्रोत नखुलेको ९ लाख २० हजार रुपैयाँसहित केही समय अघि पक्राउ गर्‍यो । डिएसपी दाहालले भने दुवैजना हुण्डी कारोबारीका भरिया भएको पुष्टि भएको बताए ।

अवैध हुण्डीको कारोबार गर्ने सुनसरी बर्जु-३ का २४ वर्षीय उमाकान्त राय गत असोजमा स्रोत नखुलेको १० लाख रुपैयाँ सहित विराटनगरमा परेका थिए । उनी विराटनगरको गणपति मनी ट्रान्सफरको साहारामा हुण्डीको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनी उक्त मनी ट्रान्सफरका लेखा फाँटका कर्मचारी हुन् ।

उमाकान्तलाई पक्राउ गरेको एक हप्तापछि प्रहरीले विराटनगर–७ बाट हुण्डीको कारोबार गर्ने अर्का स्थानीय ४९ वर्षीय विनोदप्रसाद साहलाई ७ लाख १८ हजार ८ सय रुपैयाँ सहित नियन्त्रणमा लियो । उनीपनि मनी ट्रान्सफरमा आबद्ध रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

पक्राउ परेका प्राय सबैजसो भरिय मात्र भएको प्रहरीको भनाई छ । डिएसपी दाहालले भने हुण्डीमा प्रयोग भएको रकम जोगवनीबाट विराटनगर ल्याउने क्रममा पक्राउ परेको हो । उनीहरूले सम्बन्धित ठाउँमा हुण्डीको रकम पुर्‍याए वापत् प्रति १ लाखको एक सय रुपैयाँ पारिश्रमिक पाउने गरेको बयानमा खुलेको छ ।

अवैध हुण्डीको कारोबार गर्ने गिरोहले १ लाख रुपैयाँ पठाउँदा ३ हजारदेखि ५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको प्रहरी अनुसन्धानले खुलाएको छ । मनी ट्रान्सफरबाट अहिले ५० हजारभन्दा बढी पठाउन नपाउने र बैंकबाट १० लाखभन्दा बढी रकम पठाउँदा स्रोत खुलाउनुपर्ने प्रावधानले हुण्डीको अवैध धन्दा बढ्दो रहेको डिएसपी दाहालको बुझाई छ ।

उनकाअनुसार पहिला सहकारीको आडमा अवैध हुण्डीको कारोबार हुने गरेको पाइन्थो, अहिले मनि ट्रान्सफरको आडमा हुने गरेको पाइएको छ ।

विनोद

Link copied successfully