काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई अनुदानबापत ८० करोड रुपैयाँ भुक्तानी दिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा किसानलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोड रुपैयाँमध्ये चालु आर्थिक वर्षमा सो रकम भुक्तानी गरिएको हो ।
अब सम्बन्धित जिल्लामा निकासा गरेपछि त्यहाँका किसानले उपलब्ध गराएको विवरणका आधारमा किसानको खातामा रकम भुक्तानी हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिइन् ।
सरकारले उखु किसानको संरक्षण र कृषि व्यवसाय प्रवर्द्धन गर्न हरेक वर्ष उखुको न्यूनतम खरिद मूल्य तोक्दै आएको छ भने त्यसमा थप अनुदान दिने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ र नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ निर्धारण गरिएको छ ।
विभिन्न उखु उत्पादन हुने जिल्लाका किसानबाट लिइएको उत्पादन लागत विवरण तथा छिमेकी देशमा तोकिएको खरिद मूल्यलाई समेत विश्लेषण गरी तयार गरिएको प्रतिवेदनका आधारमा कृषि विभागले मूल्य निर्धारणका लागि प्रस्ताव गरेको थियो । त्यहीअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि यो मूल्य लागू भइसकेको छ ।
