सुनदेखि स्कुटरसम्म तस्करी

सुन, गाँजा, मदिरा, सुपारी, पोस्तादाना, छोकडा, केराउ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, औद्योगिक मेसिनरी, मासको दाल, इलेक्ट्रिक स्कुटरलगायत तस्करी

पुस ५, २०८०

सीमा तामाङ

काठमाडौँ — भन्सार नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै समयदेखि सुन तस्करीका घटना बाहिरिएका छन् । तर, भन्सार प्रशासनले नै गरेको एक अध्ययनअनुसार सुन मात्र होइन, अन्य वस्तुहरू पनि निर्बाध रूपमा तस्करी भइरहेको भेटिएको छ ।

देशभर रहेका भन्सारका विभिन्न नाका तथा प्वाइन्टबाट प्रतिबन्धित मालवस्तु, उच्च कर तिर्नुपर्ने वस्तुहरू पनि भित्रिरहेको पाइएको छ । एउटा वस्तुलाई अर्कै भनी कर छलीसँगै प्रतिबन्धित वस्तु पनि भित्र्याइने गरेको विभागले जनाएको छ । विमानस्थलबाट सुनसँगै पछिल्लो समय गाँजा पनि तस्करी भएको भेटिएको छ । गत साता मात्रै त्रिभुवन विमानस्थलबाट १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको ५५ किलो गाँजा बरामद गरिएको थियो । भेप र ब्रेक सुमा लुकाएर ११ महिनाको अवधिमा ३ सय ६३ केजी सुन भित्रिएको पुष्टि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिसकेको छ । यसबाहेक सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा नै रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराउ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी, मासको दाललगायत वस्तु भेटिएको छ । 

भन्सार विभागका शाखा अधिकृत मधु खनालको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा सन् २०१८ देखि थन्किएर रहेका, ६० दिन नाघेका करिब ३ सय ८० कन्टेनर खोलेर चेकजाँच सुरु गर्दा धेरै सामग्री तस्करी हुने गरेको भेटिएको हो । भन्सार गोदाम र यार्डमा रहेका १८३ कन्टेनरको चेक गरिएका कन्टेनरमा आयात प्रतिबन्धित वस्तु र उच्च भन्सार महसुल भएका सामानहरू फेला परेका हुन् । ‘वीरगन्ज सुक्खा बन्दरगाहमा तस्करी भएका यी सामग्रीहरू फेला पारेका हौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्ता धेरै सामग्रीहरूको तस्करी भएको अनुमान छ । विमानस्थलबाट सुनबाहेक के कस्ता सामग्रीहरू तस्करी हुन्छन् भन्ने विवरण केही दिनपछि सार्वजनिक हुनेछ,’ विभागका महानिर्देशक पौडेलले बताए । विभाग स्रोतका अनुसार विगतमा बढी भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिबन्ध रहेका वस्तुलाई कम भन्सार लाग्ने र अर्कै वस्तु भनी भन्सारबाट छुटाउने गरेको पाइएको छ । विभागले आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाई भन्सार कार्यालयबाट जाँचपास हुने हरेक मालवस्तुको निगरानी गर्ने र शंकास्पद देखिएमा विभागबाटै टोली खटाई पुनः भौतिक परीक्षण गर्न सुरु गरेको जनाएको छ । 

यी/यस्ता घटनाले पनि तस्कर वा व्यापारीहरूले सलबलाइरहेको देखिन्छ । पछिल्लो समय बारम्बार यस्ता घटना घट्दा पहिला के हुन्थ्यो भनेर सम्झन पर्ने परिस्थिति भन्सारमा महानिर्देशकसमेत भएर काम गरेका पूर्वसचिव कृष्णहरि बाँस्कोटाले बताए । ‘२२/२५ वर्षअघि पनि भन्सारबाट यसरी तस्करी हुन्थ्यो कि भनेर सम्झन बाध्य बनाइरहेको छ,’ उनले भने, ‘भन्सार प्रशासक, राजस्व अनुसन्धान विभाग र प्रहरी प्रशासन अत्यन्त सजग हुनुपर्‍यो । सरकारले पनि निजी क्षेत्रसँग कडिकडाउ तरिकाले कुरा गर्नुपर्‍यो ।’

राष्ट्रलाई नै क्षति हुने गरी निजी क्षेत्रबाट पनि कसले यस्तो काम गरिरहेको छ भन्नेबारे जानकारी लिनुपर्ने उनले सुनाए । व्यापारीले पनि ‘बिजनेस इथिक्स’ मा रहेर काम गर्नुपर्ने र यसका लागि निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले पनि राष्ट्रको अहितमा कर छलेर चोरीपैठारी गर्नु हुँदैन भनेर बताउनुपर्ने उनको भनाइ छ । ‘सूचना प्राप्तिमा प्रहरी प्रशासन पनि दरिलो हुनुपर्ने । भन्सार नाकामा खटिने कर्मचारीले भ्रष्टाचाररहित सदाचारमा रहेर काम गर्नुपर्छ,’ उनले भने, ‘लगातार भन्सारबाट प्रवेश गरिरहेपछि भन्सार प्रशासनले आफूलाई होसियार बनाउनैपर्ने । उपकरण चाहिन्छ भने माग गर्नुपर्‍यो ।’

तर यसको सट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वीरगन्ज भन्सार नाकाका लागि चीन सरकारले २० वर्षअघि दिएको जाँच मेसिन जडान नगरी अलपत्र राखिएको छ । मेटल डिटेक्टर, वाक थ्रु गेट र भेहिकल एक्सरेको काम गर्ने प्रविधियुक्त दुई सेट मेसिन जडान नगरी थन्काइएपछि उपकरण खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । नियन्त्रण र निगरानी गर्न सरकारले आफैंले लगानी नगरेको गुनासो बढिरहेका बेला अनुदानमा दिएको प्रविधिसमेत थन्काएर भन्सार प्रशासनले समग्र तस्करीलाई प्रोत्साहन गरेको घटना पटक–पटक सार्वजनिक भइरहेका छन् । 

तरल राजनीतिक अवस्थामा तस्करहरू मौलाउने प्रवृत्ति रहेको पूर्वसचिव बाँस्कोटाको भनाइ छ । राजनीतिमा तरलता देखिँदा तस्करहरू सलबलाउने नौलो नरहे पनि कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्न तलमाथि गर्न नहुने उनको तर्क छ । ‘विगतमा पनि चुनावताका तस्करहरू सलबलाउँथे, अहिले धेरै दलको सरकार बनेको छ, सबैको ध्यान यसतर्फ लाग्दा तस्करहरू सलबलाएको देखिन्छ, त्यसैले कर्मचारीहरू कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ,’ उनले भने ।

यस्ता मालवस्तु ल्याउने पैठारीकर्ताको पहिचान गरी दोषीमाथि हदैसम्मको कारबाही गरिने विभागको दाबी छ । भन्सारमा आयात प्रतिबन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनी ल्याएका मालवस्तु घोषणा गरी भन्सारमा कमजोर नेतृत्व भएको बखत भन्सार छुटाउने गरी बेवारिसे बनाइराखेको समेत पाइएको विभागकै प्रतिक्रिया छ । पैठारीकर्ताले आयात प्रतिबन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनी ल्याएर लुकाएका शंकास्पद वस्तुहरू भन्सार कार्यालयको यार्ड र गोदाममा रहेको सूचनाका आधारमा विभागले सर्च अभियान तीव्र पारेको महानिर्देशक शोभाकान्त पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सारका विभिन्न नाकाबाट निर्बाध रूपमा प्रतिबन्धित वस्तु र गलत घोषणा गरेर सामान भित्र्याउने प्रवृत्तिलाई निरुत्साहित गर्न विभागले सर्च अभियान सुरु गरेको दाबी गरे । ‘आयातकर्ताले गलत घोषणा गरेर भन्सारका विभिन्न प्वाइन्टबाट सामान भित्र्याएको पाइएको छ, त्यसलाई पनि कडा निगरानीमा राखेका छौं,’ उनले भने, ‘अफिसरको टोलीले नै हरेक ठाउँमा सर्च अभियान गरिरहेको छ ।’

६० दिनभन्दा बढी अवधिदेखि रहेका सबै प्रकारका मालवस्तु जफत गरी लिलाम गर्न र शंकास्पद कन्साइनमेन्टमा कडा निगरानी राख्न सबै भन्सार कार्यालयलाई निर्देशन दिएको विभागले जनाएको छ । विभागबाट अनलाइनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समय अगाडि–पछाडिसमेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको छ । अनुगमनका क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐनअनुसार कारबाही गरिने उनले बताए ।

‘अनुगमन गर्दा गम्भीर राजस्व छली हुन सक्ने देखिएमा त्यस्ता कन्साइनमेन्ट रोकी विभागबाटै छड्के परीक्षणका लागि टोली पठाउने गरेको छ,’ उनले भने । पछिल्लो समय चेकजाँचमा कडाइ गरेकै कारण सुनलगायत अवैध वस्तु फेला परेको हुँदा छानबिन गरी त्यसको नेक्सस तोड्न पनि केही हदसम्म सफल भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए । ‘चेकजाँचमा कडाइ गरेकै कारण केही मान्छेसहित पक्राउ परे, केही सामान मात्रै जफत भयो,’ उनले भने, ‘तिनका नेक्सस पत्ता लगाएर एउटा जालो तोड्नसमेत सफल भएका छौं । अब तत्काल विमानस्थलबाट ल्याउने अवैध सामग्री कम हुन्छ । तर तस्करहरूले नेपाल भित्रन अर्को बाटो खोज्छन् ।’ नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल प्रहरी र अध्यागमनसहितको समन्वयमा नै यो सम्भव भएको उनले सुनाए । 

‘जाँचपासमा कडाइ भएकै कारण अब तस्करले फरक बाटो वा अन्य नाका प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘पहिला सुन बडीमा ल्याएको थियो भने अब लिक्वइड फर्म, डस्टमा ल्याउन सक्छ, त्यसैले त्रिभुवन विमानस्थलको भन्सारमा कडाइ गरेका छौं । स्वघोषणालाई पनि विशेष ध्यान दिएका छौं ।’ अमेरिकाबाट फोन ल्याउनेले स्वघोषणा गर्दा हार्ड डिस्कभन्दा हामीले दुवै पक्षलाई सोध्दा शंकास्पद लागेपछि सामान जफत गर्दा आइफोन १५ म्याक्स भेटिएको समेत उनको भनाइ छ ।

बाहिरबाट आइरन, हेयर ड्रायर, मिक्सर, ओभन, कफी मेसिन सकेसम्म नल्याउनु भनेर सूचनासमेत जारी गरेको उनले सुनाए । ‘आइरन, हेयर ड्रायर, मिक्सर, ओभन, कफी मेसिनलगायत वस्तु एक्सरे मेसिनमा हेर्दा गोल्ड जस्तो देखियो, त्यसैले कार्गोमा सामान ल्याउने वा एयरपोर्टमा आउनेले यस्ता सामान नल्याउन आग्रह गरेका छौं,’ उनले भने, ‘चेकजाँच कडाइ हुँदा यात्रुलाई गाह्रो नहोस् भन्ने हो, त्यसैले सकेसम्म नल्याउन आग्रह गरेका छौं ।’

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully