वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र वर्तमान अध्यक्ष परितोष पौड्यालबीच प्रतिस्पर्धा
काठमाडौँ — नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३२ औं वार्षिक साधारणसभा यही पुस ७ र ८ मा हुँदै छ । साधारणसभाले नयाँ नेतृत्व चुन्ने भएकाले त्यसका लागि अध्यक्षमा दुई जना आकांक्षी प्रतिस्पर्धामा देखिएका छन् । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र वर्तमान अध्यक्ष परितोष पौड्याल अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । १९ जना सञ्चालक समितिमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ ।
यही पुस ८ मै तीन जनाको नेतृत्वमा लेखा सुपरिवेक्षण समिति पनि चयन हुनेछ । दुवैको कार्यकाल चार वर्षको हुनेछ । त्यसका लागि अध्यक्षका आकांक्षीहरू फरक–फरक एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् ।
नेफ्स्कुन वित्तीय कारोबार गर्ने बचत ऋण सहकारी संस्थाको संगठन भएकाले यसलाई राजनीतिक रूपमा टाढा राखेर काम गर्ने गरी नेतृत्वका लागि अघि बढेको अध्यक्षका आकांक्षी चन्द्रप्रसाद ढकालले बताए । ‘संस्थामा विधिसम्मत रूपमा काम हुन सकेको छैन,’ उनले भने, ‘फेरि पुरानै व्यक्तिले नेतृत्व लिँदा पुरानै गल्ती दोहोरिने भएकाले नयाँ नेतृत्व आवश्यक छ ।’
सुरुमा साझा सहमतिको प्रयास गरिने र नभए मात्र नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा हुने वर्तमान अध्यक्ष परितोष पौड्यालले बताए । ‘सहकारी क्षेत्रलाई सञ्जालीकरण गर्न जरुरी छ, अन्तरसम्बन्धित र अन्तरनिर्भर सहकारी अभियानको संस्थागत विकास गर्न जरुरी छ,’ उनले भने, ‘अहिलेसम्म यो विषय उठान भएको छैन । यसलाई वैचारिक ढंगले स्थापित र आन्तरिकीकरण गर्ने काममा सुरुदेखि मेरो भूमिका रह्यो, अब आउने कार्यकालमा यसलाई पूर्णता दिन लागिपर्छु ।’ अहिले सानो अवस्थामा रहेको स्तरीकरण कार्यक्रमका माध्यमबाट सुशासन कायम गर्न लागिपर्ने उनको भनाइ छ ।
नेफ्स्कुनमा १९ जनाको सञ्चालक समिति हुन्छ, जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष एक/एक जना चुनिन्छन् । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्छ । महासचिव र कोषाध्यक्ष एक/एक जना हुन्छन् । अन्य १४ जना सञ्चालक सदस्य निर्वाचित हुन्छन् । प्रत्येक प्रदेशबाट कम्तीमा एक जना सदस्य समितिमा आउनुपर्छ । यसअनुसार सातै प्रदेशबाट एक/एक जना सदस्य चुनिन्छन् । तीन जनाको नेतृत्वमा लेखा सुपरिवेक्षण समिति हुन्छ । यसमा एक जना संयोजक र दुई जना सदस्य रहन्छन् । यसमा एक जना भने महिला हुनुपर्छ ।
विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था गरिएकाले समयमै मत परिणाम आउने नेफ्स्कुनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले बताए । नेफ्स्कुनमा ४५ सय सदस्य आबद्ध छन् । मतदानमा भाग लिने गरी २६ सयले मात्र नवीकरण गरेको उनले जनाए । ‘मंसिर ३० सम्म नवीकरण गर्ने समय भए पनि सकिएको छ,’ उनले भने, ‘केही दिनभित्र नवीकरण गर्ने सदस्यको अन्तिम नामावली प्रकाशन गरिनेछ ।’ २६ सय संस्थाले आफ्ना प्रतिनिधिको नाम नवीकरण गराइसकेका छन् ।
