मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले लिएको लचिलो नीतिको प्रभाव परेको अनुमान
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय ११ अंकले बढेको छ । एकै दिन यति धेरै अंकले नेप्से बढेको यो पछिल्लो दुई वर्षयताकै पहिलो हो । यसअघि ०७८ मंसिर २८ मा नेप्से एकै दिन १ सय ३७ अंकले बढेको थियो । त्यति बेला एकै दिन नेप्से २ हजार २ सय ८१ बाट २ हजार ४ सय १८ बिन्दुमा पुगेको थियो ।
उक्त दिन पनि नेप्से ६ प्रतिशतले बढ्दा सर्किट ब्रेकरमार्फत कारोबार बन्द गरिएको थियो । त्यसयता पहिलो पटक ६ प्रतिशतको सकारात्मक सर्किट ब्रेकर लागेर आइतबार निर्धारित समयअगावै बजार बन्द गरियो ।
यससँगै नेप्से परिसूचक १ हजार ९ सय ६३.९८ बिन्दु पुगेको छ । गत भदौ १८ मा नेप्से १ हजार ९ सय ६७.९७ बिन्दुमा थियो । आइतबार त्यसयताकै उच्च बिन्दुमा नेप्से आइपुगेको हो ।
यो बजार वृद्धिलाई धेरैले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले गरेको लचिलो नीतिसँग जोडेका छन् । गत शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट घटाएर १ सय २५ बनाएको थियो । यसले आफूहरूको आत्मबल बढाएको लगानीकर्ता बताउँछन् । हालसम्मको उच्च बिन्दुको तुलनामा बजार धेरै घटिसकेकाले मौद्रिक नीतिमार्फत सामान्य नीतिगत परिवर्तन हुँदा पनि बजारमा सकारात्मक प्रभाव परेको उनीहरूको भनाइ छ ।
मौद्रिक नीतिको समीक्षामार्फत सामान्य नै भए पनि बजारलाई सम्बोधन गरिएको र साढे दुई वर्षदेखिको निराशाको परिणाम आइतबार सेयर बजारमा देखिएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले जनाए । ‘बजार बढ्नुको पहिलो कारण मौद्रिक नीतिको समीक्षामा सेयर कर्जासम्बन्धी नीति केही खुकुलो हुनु हो । दोस्रो कारण भने साढे दुई वर्षदेखिको निराशाको परिणाम हो,’ उनले भने, ‘घटिरहेको बजारलाई केही सकारात्मक संकेत चाहिएको थियो, लगानीकर्ता लामो समयसम्म निराशामा थिए, यही बेला राष्ट्र बैंकको नीतिगत व्यवस्थाले थोरै आशा जगाएको मात्र हो ।’ तर आइतबारको बजारको प्रकृति हेर्दा टिकाउयुक्त नदेखिएको सिजापतिले बताए ।
‘आइतबारको बजार हेर्दा लगानीकर्ता आवश्यकताभन्दा बढी उत्साहित देखिएका छन्, जुन लामो समय टिक्ने संकेत होइन,’ उनले थपे, ‘आइतबारको बजारले सुधार धेरै दिनसम्म टिक्ने आधार देखाउन्न, बिस्तारै सकारात्मक बन्दै जाने संकेत भने छ ।’ यसकारण अति उत्साहित नबन्न पनि उनले लगानीकर्तालाई सुझाए ।
आइतबार नेप्से १ सय ११.२० अंकले बढेपछि तेस्रो पटक सर्किट ब्रेकर लागेर बजार बन्द गरिएको हो । यो दिन खुलेको ५ मिनेटमै बजार ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेकर लाग्यो ।
पहिलो सर्किट ब्रेकर लागेर खुलेको एक मिनेटमै बजारमा फेरि दोस्रो सर्किट ब्रेकर लाग्यो । त्यसपछि खुलेको बजारमा १२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि उक्त दिनको कारोबार बन्द गरिएको हो । यसरी हेर्दा आइतबार ७ मिनेट मात्र बजारमा कारोबार हुन पाएको छ । हालको व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा ४ प्रतिशतले बजार बढ्दा वा घट्दा २० मिनेट कारोबार बन्द गरिन्छ । कारोबार सुरु भएको दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे वा घटे ४० मिनेटका लागि र त्यसपछि जुनसुकै समयमा बजार ६ प्रतिशतले बढे वा घटे उक्त दिनकै लागि कारोबार बन्द गर्नुपर्छ ।
आइतबारको बजारले नेप्सेमा दिगो सुधारको संकेत नदिएको अर्का एक पुराना लगानीकर्ता पनि बताउँछन् । ‘मेरो हिसाबमा बजारका लागि यस्तो बढाइ राम्रो हुँदैन । बजारमा उछाल नै आउनुपर्ने गरी मौद्रिक नीतिमा धेरै परिवर्तन भएकै छैन । तर लगानीकर्ता धेरै उत्साहित देखिए । जुन ठीक होइन,’ उनले भने, ‘अहिले अरू क्षेत्रमा कहीं पनि पैसा छैन, ती क्षेत्र बिरामी छन् । बजारको दिगो सुधारका लागि चारैतिरबाट पैसा आउनुपर्छ ।’ बजार धेरै घटिसकेकाले अहिले लगानी थप्ने समय भए पनि अझै केही दिन पर्ख र हेरको नीति लिनुपर्ने उनको सुझाव छ । यसअघि ०७८ भदौ २ मा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु (३ हजार १ सय ९९) मा थियो ।
नेप्सेको अघिल्लो उच्च बिन्दु ०७२ साउन १२ मा थियो । त्यति बेला नेप्से परिसूचक १ हजार ८ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । त्यसयता घटेको बजार पुनः बढेर ०७८ भदौ २ मा नेप्से परिसूचक र बजार पुँजीकरण दुवै हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो । त्यसयता फेरि ओरालो लागिरहेको बजार लामो समयदेखि २ हजार अंकभन्दा तल नै छ ।
आइतबार बजारमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम थोरै हो । गत बिहीबार सेयर बजारमा एक अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएको सबै उपसमूहको परिसूचक बढेको छ, जसअनुसार जलविद्युत् उपसमूहको परिसूचक सबैभन्दा धेरै ८.६३ प्रतिशतले बढ्यो । यस्तै, होटल, वित्त र विकास बैंक, लगानी उपसमूहका परिसूचक ६ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन् ।
पछिल्ला केही महिनायता धेरैले सेयर बजारमा सुधारको अपेक्षा गरेका थिए । अर्थतन्त्रका बाह्य सूचक सबल रहेको, ब्याजदर घटिरहेको, वित्तीय प्रणालीमा पर्याप्त तरलतालगायत कारण सेयर बजार बढ्नुपर्ने उनीहरूको अपेक्षा थियो । तर बजारले अपेक्षाविपरीत गति लिइरहेको थियो । यसलाई धेरैले राष्ट्र बैंकको कसिलो नीतिसँग पनि जोडेर हेरेका थिए । यही कारण पछिल्ला महिनामा राष्ट्र बैंक पनि सेयर बजारका विषयमा तुलनात्मक रूपमा लचिलो देखिएको छ ।
गत साउनमा मौद्रिक नीतिमार्फत सेयर कर्जाको सीमा बढाएको राष्ट्र बैंकले अहिले जोखिम भारसम्बन्धी व्यवस्था केही खुकुलो बनाएको हो । यद्यपि आइतबारको वृद्धिकै आधारमा बजारले सुधारको बाटो समातेको विश्लेषण गर्न नसकिए पनि अर्थतन्त्रका सूचक हेर्दा अब बजारमा सकारात्मक प्रभाव पर्ने जानकार बताउँछन् ।
