सिमकोट–हिल्सा सडक स्तरोन्नति गर्न दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा आधा दर्जन सडक पूर्वाधार निर्माणको प्रस्ताव गरिए पनि सिमकोट–हिल्सा सडक स्तरोन्नतिका लागि मात्र दुई देशका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । अन्य पूर्वाधार निर्माण र अध्ययनको काम अघि बढाउने विषयमा भने छलफल मात्र भएको हो । छलफलमा राखिएका आधा दर्जनभन्दा बढी पूर्वाधारको काम अघि बढाउने सम्बन्धमा चीन सकारात्मक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव केशवकुमार शर्माले जनाए ।
‘सिमकोट–हिल्सा र अरनिको राजमार्ग स्तरोन्नतिको काम चीन सरकारबाट हुनेछ,’ उनले भने, ‘टोखा–छहरे सुरुङमार्गको निर्माण थाल्न पहिला सम्भाव्यता अध्ययनको काम छिटो सक्न सहमति भएको छ ।’ अहिले यो सुरुङमार्गको प्रारम्भिक अध्ययन मात्र भएको हो । ‘सिमकोट–हिल्सा सडक स्तरोन्नति गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएपछि बाह्रबिसे–तातोपानी सडक स्तरोन्नति र टोखा–छहरे सुरुङका सम्बन्धमा दुई देशका अधिकारीबीच छलफल भएर संयुक्त वक्तव्य आएको हो,’ उनले भने ।
आगामी बजेटमा अध्ययनसँगै निर्माण थाल्ने भन्दै अर्थमन्त्री प्रकाशशरण महतले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने टोखा–छहरे सुरुङमार्गलाई बजेटमा राखेका छन् । चिनियाँ प्राविधिक टोलीले यो सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेको चार वर्ष बिते पनि थप प्रगति छैन, जसले गर्दा चालु आर्थिक वर्षमै निर्माणमा जान सकिने अवस्था छैन । तर अर्थमन्त्री महतले यही वर्ष निर्माण थाल्ने भन्दै १ अर्ब २५ करोड रुपैयाँ छुट्याएका छन् । ०७६ फागुनमा २० जनाको चिनियाँ टोलीले सुरुङको अध्ययन गरेको थियो । सुरुमा सुरुङको दूरी ७ किमि हुने भनिएको थियो । तर प्राविधिक टोलीले चार किमि हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको थियो । टोखा–छहरे सुरुङको निर्माण चीन सरकारबाटै गराउने गरी भ्रमणका क्रममा प्रस्ताव गरिएको हो ।
‘प्रारम्भिक अध्ययनको काम चीनले सक्ने र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नेपाल सरकारले गर्ने हो,’ सचिव शर्माले भने, ‘यी दुवै काम छिटो सकेर विस्तृत परियोजना रिपोर्ट (डीपीआर) को काम अघि बढाउन चीन सकारात्मक छ ।’ चीन र नेपाल जोड्ने सीमा नाकामा सडक पूर्वाधार निर्माण र स्तरोन्नति गर्नेबारे पनि छलफल भएको छ । ‘चीनले बनाउने केरुङ–काठमाडौं रेलमार्गको अध्ययनलाई छिटो गर्नेदेखि अन्य पूर्वाधार निर्माणको अपडेटसहित छलफल गरिराख्ने निर्णय भएको छ,’ उनले भने, ‘चीन भ्रमणमा जानुअघि नै अध्ययन र निर्माण थालिएका कामलाई निरन्तरता दिने सहमति भएको छ ।’ भ्रमणमा प्रधानमन्त्री दाहालसँगै भौतिकमन्त्री प्रकाश ज्वाला, सचिव शर्मालगायत सहभागी थिए ।
यसैगरी अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि बाह्रबिसे हुँदै तातोपानी नाकासम्मको ८४ किमि सडक स्तरोन्नतिको काम पनि चीनले गर्ने भएको छ । सूर्यविनायक–धुलिखेलसम्म चार लेनमा सडक विस्तार गर्ने गरी ठेक्का भइसकेको छ । अब धुलिखेलदेखि तातोपानी नाकासम्म डेढ लेनमा रहेको सडकलाई दुई लेनमा स्तरोन्नति गर्न लागिएको हो ।
यी सबै आयोजनाको अध्ययनदेखि निर्माणसम्म चीनसँग अनुदानमा गर्न माग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव अर्जुनजंग थापाले जनाए ।
‘धेरै आयोजना निर्माणमा चीनले पहिलेदेखि नै सहयोग गर्ने भन्दै आएको हो,’ उनले भने, ‘तर ती आयोजनाको काम अघि बढेको छैन । प्रधानमन्त्रीको भ्रमणपछि भने अघि बढ्ने आशा जगाएको छ ।’ रसुवागढी–स्याफ्रुबेसी सडकको काम अगाडि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ । सन् २०१९ नोभेम्बरमै यो सडकको काम गर्न चीनले परामर्शदाता र ठेकेदार पठाए पनि अहिलेसम्म केही प्रगति छैन ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सिमकोट हुँदै हिल्सासम्म २६९ किमि सडकलाई कालोपत्रस्तरमा स्तरोन्नति गर्न चीनसँग प्रस्ताव गरिएको थियो । यसमा पहिलो चरणमा चीन र नेपाल सीमा हिल्साबाट सिमकोटसम्मको ९५ किमि खण्डको स्तरोन्नति गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको हो । दोस्रो चरणमा कालीकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोटसम्म कालोपत्रस्तरमा स्तरोन्नति गर्न प्रस्ताव गरिएको छ । कैलालीको खुटिया डोटीको दिपायल बझाङको चैनपुर हुँदै ताक्लाकोट जोड्ने सडक निर्माणमा पनी चीन सकारात्मक देखिएको सचिव शर्माले बताए ।
यो सडकको रेखांकन भइनसकेकाले निर्माणको काम तत्कालै कार्यान्वयनमा जान भने समस्या रहेको भौतिक मन्त्रालय स्रोतले जनायो । कर्णाली राजमार्गमा अहिले नेपाली सेनाको सहयोगमा हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी ट्र्याक खोल्ने काम जारी छ । कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडक निर्माणमा पनि चीन सहयोग गर्न तयार देखिएको सचिव शर्माको भनाइ छ । उक्त राजमार्गको १४ किमि खण्डको काम सेनालाई दिएर ट्र्याक खोल्ने काम जारी छ ।
चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको चक्रपथ दोस्रो खण्ड (कलंकी–बसुन्धरा) खण्ड विस्तारको काम अझै सुरु हुन सकेको छैन । ‘चक्रपथ विस्तारमा ढिला भएकाबारे हामीले छलफलमा कुरा उठायौं,’ सचिव शर्माले भने, ‘यसलाई छिटो अघि बढाउन चीन तयार छ ।’ यसको डिजाइनको काम सकेर छिट्टै ठेक्का आह्वान गरिने उनले सुनाए । अहिलेसम्म यसको डीपीआर नै तयार भएको छैन ।
भौतिक मन्त्रालयले गत फागुनमै डीपीआरको काम थालिएको जनाएको थियो । अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब यस सडकलाई ८ लेनमा विस्तार गर्न लागिएको हो । चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको ८.२ किमि खण्डको मात्रै काम गर्ने भएको हो ।
यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड कोटेश्वर–कलंकी सडकको चीनले नै ८ लेनमा विस्तार गरिदिएको थियो । चीनले ८ लेनमा विस्तार गरेर ०७५ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो, जसको दूरी १०.३९ किमि छ ।
