काठमाडौँ — नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश लैजाने र भारतमा थप ५०० मेगावाट निर्यातको सम्झौता स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । ४० मेगावाट बिजुली भारतको बाटो हुँदै बंगलादेश लैजाने र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) सँग २०० मेगावाट र पीटीसी इन्डियासँग ३०० मेगावाट बिजुली निर्यातको सम्झौता अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
भारतको हरियाणा राज्यलाई विद्युत् आपूर्ति गर्ने गरी भारतीय विद्युत् व्यापार कम्पनी एनभीभीएनसँग ५ वर्षका लागि २०० मेगावाटको मध्यकालीन विद्युत् बिक्री सम्झौता र बिहार राज्यको प्रसारण पूर्वाधार प्रयोग गरी ३०० मेगावाटसम्म विद्युत् निर्यातका लागि पीटीसी, इन्डियासँग सम्झौतामा अन्तिम स्वीकृति मात्र बाँकी रहेको घिसिङले बताए ।
प्राधिकरणको ३८ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङले बंगलादेशसँगको विद्युत् व्यापार अन्तिम हस्ताक्षर बाँकी रहेको जनाए । ‘गत आर्थिक वर्षमा थप ५०० मेगावाट बिजुली निर्यातको सम्झौता भएको छ ।
प्राधिकरणको वार्षिक कार्यप्रगति प्रतिवेदन पेस गर्दै घिसिङले हालसम्म देशका ९८ प्रतिशत जनसंख्यामा बिजुली पुगेको जनाए । राष्ट्रिय ग्रिडबाट ९५.३ र वैकल्पिक माध्यमबाट ३ प्रतिशत जनसंख्यामा बिजुली पुगेको र २ वर्षभित्र देशभर विद्युतीकरणको लक्ष्य पूरा गरिने उनको भनाइ छ । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ग्राहक संख्या ५६ लाख ४० हजार पुगेको छ । सुक्खायाम बढेका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८० मा भारतबाट विद्युत् आयात १८.७९ प्रतिशतले बढेको प्राधिकरणको भनाइ छ । गत आर्थिक वर्षमा १ अर्ब ८३ करोड युनिट बिजुली भारतबाट आयात भएको छ । प्रसारण तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सीमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गरिएको घिसिङले बताए ।
बिजुली आयात बढ्दा गत वर्षको तुलनामा बिजुली आयात बढ्दा नाफामा कमी आएको घिसिङले जनाए । गत आर्थिक वर्षमा प्राधिकरणले १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी आफ्नो सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको बताएको छ । अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड खुद नाफा कमाएको थियो । आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेर नाफा गरेको प्राधिकरण त्यसपछिका आर्थिक वर्षहरूमा निरन्तर नाफामा छ ।
प्राधिकरणले यसै आर्थिक वर्षमा सेयर जारी गर्ने तयारी गरेको घिसिङको भनाइ छ । प्रतिकित्ता २३० देखि २५० रुपैयाँ पर्ने गरी प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्राधिकरणको तयारी छ । यसका लागि प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेस गरिएको घिसिङले जनाए ।
प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन गरी संकलित रकम मुख्य रूपमा ठूला जलविद्युत् आयोजना निर्माणमा लगानी गरिने बताइएको छ । प्राधिकरणको सम्पूर्ण सम्पत्तिको वास्तविक मूल्यांकन गराइएको छ भने क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ । ऊर्जा माग धान्न विद्युत् खरिद बिक्री सम्झौतामार्फत जलविद्युत्मा निजी लगानीलाई उच्च प्राथमिकतामा राखेको प्राधिकरणको भनाइ छ । पहिलोपल्ट आधार दर तय गरी करिब १०० मेगावाटको सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्न लागिएको पनि घिसिङ बताउँछन् ।
सुक्खायाममा भारतीय बिजुली आयात गरी स्वदेशी माग धान्नुपरेको र यसले विद्युत् प्राधिकरणको नाफामा कमी आएको उनको दाबी छ । त्यसैले ठूला र जलाशययुक्त आयोजना निर्माणमा प्राधिकरणले जोड दिएको उनको भनाइ छ । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउने, १०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजना विश्व बैंकको नेतृत्व र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एसियाली विकास बैंकको नेतृत्वमा ऋण लगानी गर्ने गरी अगाडि बढाइएको घिसिङले जनाए ।
२१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौं र ६० मेगावाटको मोदी जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतासाथ अघि बढाइएको घिसिङले बताए । ४९० मेगावाटको अरुण–४ जलविद्युत् आयोजना भारतको सतलज जलविद्युत् निगमसँग र ६३८ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउने तयारी भएको उनको भनाइ छ ।
