कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

सरकार आन्तरिक उत्पादन बढाउनतिर केन्द्रित छ: अर्थमन्त्री महत

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताएका हुन् । 

सरकार आन्तरिक उत्पादन बढाउनतिर केन्द्रित छ: अर्थमन्त्री महत

‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ, यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो ?' उनले भने, 'के सधैँ आयात मात्र गर्नुपर्छ भन्ने कुरा हो ? ’ चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।उनका अनुसार अहिले अर्थतन्त्र सकारात्मक गतिमा भएकाले निजी क्षेत्रले सबैथोक खराब छ भन्न मिल्दैन ।

उनले निजी क्षेत्रलाई नकारात्मक कुरा मात्र नगर्न, बरु सकारात्मक कुराहरूको चर्चा गर्न अनुरोध गरेका छन । अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्त मात्र भएको तर अब बैंकमा पर्याप्त तरलता रहेको, विस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गतिविधि बढ्ने उनको विश्वास छ। 'पैसा बजारमा जति पनि छ तर सबै मिलेर खत्तम भयो भन्ने भाष्यको प्रचार बढी भएपछि मान्छे खर्च गर्न र ऋण लिन डराइरहेको छ। त्यसैले निजी क्षेत्र यसमा सकारात्मक हुनुपर्छ,’ उनले भने ।

मन्त्री महतले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाव दिएका थिए । गत आर्थिक वर्षमा लक्षित राजस्व सङ्कलन नहुँदा बजेटको आकार नै खुम्च्याउनु परेपछि झस्किएका अर्थमन्त्रीले भने, ‘आगामी दिनमा राजस्वको लक्ष्य पूरा गर्ने, यसमा के कस्ता समस्या छ र त्यो समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सम्पूर्ण ध्यान दिनुपर्नेछ ।’

प्रकाशित : श्रावण ३०, २०८० १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?