वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई राहत रकम बढाइने

रकम निर्धारण गर्न श्रम सचिवको नेतृत्वमा समिति गठन
कान्तिपुर संवाददाता

काठमाडौँ — वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य देशमा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई दिइँदै आएको राहत रकम बढाउने निर्णय गरेको छ । राहत रकम निर्धारण गर्न श्रमसचिव केवलप्रसाद भण्डारीको नेतृत्वमा अध्ययन समिति गठन गरिएको छ ।

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई राहत रकम बढाइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको बोर्डको बैठकले मृतकका परिवारलाई दिइँदै आएको आर्थिक सहायता रकम बढाउने निर्णय गरेको हो ।

‘अहिले दिइँदै आएको ७ लाख रुपैयाँ अपुग भयो । कम्तीमा १० लाख रुपैयाँ निर्धारण हुनेछ । त्योभन्दा बढी निर्धारण गर्नको लागि अध्ययन समिति बनाइएको छ । कोषको क्षमता हेरी हामी अब राहत रकम तोक्नेछौं’, सचिव भण्डारीले भने । यसको लागि चालु आर्थिक वर्षको बोर्डको राहत रकमको बजेट बढाइएको छ ।

बोर्डले २०७४/७५ देखि मृतक परिवारलाई ७ लाख रुपैयाँ उपलब्ध गराइँदै आएको थियो । श्रमिकले श्रम स्वीकृति गर्ने बेला जम्मा गरेको कल्याणकारी कोषबाट बोर्डले राहत रकम उपलब्ध गराउँदै आएको हो । यो कोषमा सरकारी रकम जम्मा हुँदैन । कोषमा श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र त्यसभन्दा बढीको लागि दुई हजार ५ सय रुपैयाँ अनिवार्य रुपमा जम्मा गर्नुपर्छ ।

बोर्डले ०६५ देखि ७८/७९ सम्म १० हजार ६ सय ६६ जनालाई आर्थिक सहायता रकम उपलब्ध गराइसकेको छ । बोर्डले मृतकका परिवारको लागि उपलब्ध गराउँदै आएको वार्षिक शैक्षिक छात्रबृत्ति पनि बढाउने निर्णय गरेको छ । अब कक्षा ८ सम्मको लागि १२ हजार र कक्षा १२ सम्मको लागि १६ हजार ५ सय रुपैयाँ शैक्षिक छात्रबृत्ति दिइने भएको हो । यसअघि कक्षा ८ सम्म ८ हजार र १२ कक्षासम्मको लागि १२ हजार चार सय रुपैयाँ दिइँदै आएको थियो ।

प्रकाशित : श्रावण २४, २०८० १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×