२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६

कोशी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो, साढे १७ हजारलाई रोजगारी

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोशी प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ४०.६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलानमा यो ८.३ प्रतिशत विन्दुले घटेको राष्ट्र बैंकको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।

कोशी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो, साढे १७ हजारलाई रोजगारी

गत आर्थिक वर्षको पहिलो ६ महिनामा उक्त प्रदेशमा सञ्चालन भएका उद्योगहरुको औसत क्षमता उपयोग ४८.९ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खासगरी इट्टा, वनस्पति घिउ, भटमासको तेल, कच्चा छालाजस्ता वस्तु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएको छ । कोइलाको आपूर्तिमा भएको ढिलाई तथा मागमा आएको कमीको कारण इट्टाको उत्पादनमा कमी आएको र भारतीय बजारमा निर्यात हुने गरेको भटमासको तेलले भारतीय बजारको उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको कारण त्यसको उत्पादनमा समेत कमी आएको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

प्रतिवेदन अनुसार गत वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा कोशी प्रदेशका उद्योगमध्ये प्रशोधित चिया उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ८५.४ प्रतिशत रहेको छ भने इट्टा र वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग सबैभन्दा कम क्रमशः शून्य प्रतिशत र ५.१ प्रतिशत छ ।

गत वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा चिनी उद्योगको उत्पादन सबैभन्दा उच्च दरले बढेको छ भने इट्टा उद्योगको उत्पादन शतप्रतिशत तथा भटमासको तेलको उत्पादन ८९.० प्रतिशतले घटेको छ । २०७९ असार मसान्तको तुलनामा गत पुससम्म कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ५.५ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ । उक्त अवधिमा प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २३ प्रतिशत छ ।

कोशी प्रदेशका ४२ ठूला उद्योगमा १७ हजार ५ सय ५८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षको पहिलो ६ महिनामा यी उद्योगहरुमा १६ हजार ४ सय १४ जना श्रमिक कार्यरत रहेका थिए । गत वर्षको सोही अवधिको तुलनामा ३.४ प्रतिशतले बढी रहेको छ । उक्त अवधिमा सुनसरी जिल्लाका उद्योगहरुमा ४.३ र मोरङ जिल्लाका उद्योगहरुमा १२.८ प्रतिशतले रोजगारीमा वृद्धि भएको छ । तर, उदयपुर, झापा र इलाम जिल्लामा रहेका उद्योगहरुमा क्रमशः ७.२ प्रतिशत, २.४ प्रतिशत र २.१ प्रतिशतले रोजगारी घटेको प्रतिवेदनले औंल्याएको छ । उदयपुर सिमेन्ट उद्योगमा पुराना मेसिन प्रतिस्थापन हुन नसकेको कारण उद्योगमा कार्यरत २३ जना ज्यालादारीका श्रमिकहरुले रोजगारी गुमाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : असार ११, २०८० १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×