बाढीले पूर्वमा ४६३ मेगावाट क्षमताका ३० जलविद्युत् आयोजना क्षति 

काठमाडौँ — पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० ओटा जलविद्युत् आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को प्रारम्भिक अध्ययनले देखाएको हो ।

बाढीले पूर्वमा ४६३ मेगावाट क्षमताका ३० जलविद्युत् आयोजना क्षति 

विद्युत् उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी–१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको इप्पानको दाबी छ । उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत् आयोजनामा देखिएको छ । सो आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी दिए । भौतिक हिसाबले ४.७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोड बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष दीपक खड्काले बताए ।

उनका अनुसार उक्त आयोजनामा हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउस लगायतका भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले आयोजनाको पुनर्निर्माणको लागि २ वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । त्यस्तै १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत् आयोजनामा ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए । निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति भएको छ ।

पूर्वी नेपालका ४ जिल्लामा निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत् आयोजनामा परेको छ । सो आयोजनामा ८० करोड रुपैयाँ बराबरको क्षति भएको छ । उक्त आयोजना निर्माणमा खटिएका १८ जना मजदूरलाई पनि बाढीले बगाएर बेपत्ता बनाएको थियो । तीमध्ये अहिलेसम्म ४ जनाको मात्र शव भेटिएको छ । ९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए ।

त्यस्तै ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत् आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष विरेन्द्रबहादुर न्यौपानेले जानकारी दिए । ९.७ मेगावाटको इङ्गवा खोलामा पनि ५० करोड बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक सतिष न्यौपानेले जानकारी दिए । इप्पानले बाढीले प्रभावित आयोजनाका बारेमा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी गरेको छ । इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाका बारेमा प्रस्तुतीकरणको लागि समय माग गरेका छन् ।



प्रकाशित : असार ८, २०८० १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?