नश्ल सुधार गर्न डेढ वर्षमा विदेशबाट १०७ गाई–साँढे

उन्नत नश्ल सुधारका लागि पछिल्लो समय दक्षिण कोरियाबाट १ सय १ बाच्छी र साँढे अनि अमेरिकाबाट ६ वटा साँढे ल्याइएका हुन्, थप १५ मुर्रा जातका राँगो ल्याइँदै

जेष्ठ २६, २०८०

राजु चौधरी

काठमाडौँ — नश्ल सुधार गर्न उद्देश्यले डेढ वर्षमा १ सयभन्दा बढी बाच्छी र साँढे आयात गरिएको छ । सरकारसँग पुरानो अभिलेख नभए पनि पछिल्लो डेढ वर्षमा १ सय ७ बाच्छी र साँढे आयात गरिएको हो । भारतले निःशुल्क दिने भनिएका १५ मुर्रा राँगो आएपछि सरकारी तथ्यांकमा आयातको संख्या १ सय २२ पुग्नेछ ।

 ‘उन्नत नश्ल सुधारका लागि पछिल्लो समय दक्षिण कोरियाबाट १ सय १ बाच्छी र साँढे र अमेरिकाबाट ६ वटा साँढे आयात भएका छन्,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने, ‘भारतबाट पनि मुर्रा जातका १५ वटा राँगो आउनेछन् ।’

गत पुसमा दक्षिण कोरियाले नेपाल सरकारलाई साढे ५६ करोड बराबरका एक सय बाच्छी र २० वटा साँढे उपहार दिएको थियो । यसमा हेफर इन्टरनेसनल नेपाल र हेफर इन्टरनेसनल कोरियाले सहयोग गरेका थिए । तीमध्ये १ सय १ वटा आइसकेका छन् । डेढ वर्षअघि (०७८ फागुन) मा अमेरिकाबाट बाच्छी र साँढे आयात गरिएको थियो । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्न भन्दै विश्व बैंकको सहयोगमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अमेरिकाबाट ती बाच्छी र साँढे ल्याइएको थियो । एउटा साँढेको मूल्य १८ लाखभन्दा बढी परेको थियो । 

अमेरिकाबाट ल्याइएका साँढेबाट होलस्टिन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराई उत्पादित सिमेन किसानलाई वितरण गर्ने जनाइएको थियो । अमेरिकाबाट आयात भएकामध्ये ६ वटा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा राखिएको छ । ४ मध्ये ३ वटाले सिमेन उत्पादन सुरु गरेको प्रजनन कार्यालय पोखरा प्रमुख जगदीश पाण्डेयले बताए । ‘गत बैशाख (२ महिना) यता सिमेन संकलन थालेका छौं । १० हजार डोज भण्डार भएपछि किसानलाई वितरण सुरु गर्छौं,’ पाण्डेयले भने, ‘सिमेनको डोज काठमाडौं, धनुषा र पाल्पाको रुटमा पठाउनेछौं ।’ 

कोरियाबाट उपहारस्वरूप आएका ६ वटा बहर (साँढे) र ९ वटा बाच्छी पोखरामा राखिएको छ । ती बाच्छी र साँढे प्रजननका लागि योग्य हुने क्रममा रहेको कार्यालयले जनाएको छ । ‘बहर पनि योग्य हुँदै छ, अहिले १०/११ महिनाका भए । १८ महिनापछि सिमेनका लागि तालिम सुरु हुन्छ,’ उनले भने । अमेरिकाबाट आयात भएका दुइटा साँढे राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा राखिएका छन् । तीबाट सिमेन संकलन सुरु भइसकेको छ ।

‘अमेरिकाबाट आयात भएका साँढेबाट डेढ महिनामा करिब ५ हजार डोज सिमेन संकलन भएको छ । कोरियाबाट आएका साँढेबाट भने भर्खर सिमेन संकलन सुरु भएको छ, यसमा करिब १५ सय डोज संकलन भएको छ,’ राष्ट्रिय पशु प्रजनन कार्यालय लहान प्रमुख शिवनाथ महतोले भने, ‘ती सिमेन सिराहादेखिका पूर्व १६ जिल्लामा बाँड्छौं ।’

बारा र पर्सासम्म पनि वितरण गरिने उनले जनाए । लहानमा मुर्रा जातका राँगा पनि छन् । ती भारतकै हुन् । खुला सीमाका कारण तराईका केही किसानले मुर्रा पालेका छन् । ‘भारतबाट सर्टिफाइड भएका मुर्रा राँगो लागेका भैंसीले एक बेतमा ४ हजार लिटरभन्दा बढी दिन्छन् । त्यही भएर भारत सरकारबाट माग गरेका थियौं,’ महतोले भने । एक दशकअगाडि पनि साँढे, बेयर बोकालगायत पशु आयात गर्ने गरिएको थियो । तर यस विषयमा सरकारी आँकडामा रेकर्ड छैन । ‘०३३/३४ सालमा कृषि वर्ष मनाइयो, त्यस बेला पनि भारतबाट ठूलो संख्यामा जर्सी गाई, साँढे, भैंसी, राँगो, बोकालगायत पशु आयात गरिएको थियो,’ पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, ‘तर त्यो इतिहास भइसक्यो । रेकर्डमा छैन ।’ 

सन् २००० मा पाकिस्तानबाट रेड सिन्धी गाई आयात गरिएको थियो । तर, संख्या यकिन नभएको ढकालले बताए । नेपालमा मुर्रा राँगो नभएका होइनन् । केही किसानले पालेका छन् । ‘खुला सीमाका कारण भारतबाट भैंसी ल्याएर पालेको पनि देखिन्छ । ०६९/७० बाट भने नश्ल सुधार प्रयोजनकै लागि आयातको प्रयास भएको छ,’ उनले भने ।

नश्ल सुधारकै लागि अस्ट्रेलियाबाट एक बोयर बोका र अमेरिकाबाट १० वटा सानान जातका बाख्रा पनि आयात गरिएको थियो । ती बाख्रा र बोकालाई नार्क, कैलाली, बन्दीपुर, नेपालगन्ज आदि स्थानमा पठाइएको बताइएको छ । ‘राम्रो परीक्षण गरिएका पशु आयात हुँदा उत्पादन र उत्पादकत्व बढ्छ,’ सूचना अधिकारी ढकालले भने । भारतबाट उपहारस्वरूप आउन लागेका मुर्रा राँगो भने पहिलो पटक हो । यसको सिमेन प्रयोग भएको भैंसीको दूध उत्पादन र उत्पादकत्व बढ्नेमा आशावादी हुन सकिने विभागले जनाएको छ ।

वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगोबाट ३ वर्षपछि वार्षिक कम्तीमा १.५ लाख डोज वीर्य उत्पादन हुने जनाएको छ । यसले कम्तीमा १ लाख भैंसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार हुने दाबी छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय दूध दिने गाई, भैंसीको संख्या र दूध उत्पादन बढेको छ । आर्थिक वर्ष ०७७/७८ मा गाईको संख्या १२ लाख ९ हजार ४१ थियो । ०७८/७९ मा यस्तो संख्या बढेर १२ लाख २३ हजार ६१ पुगेको छ ।

आर्थिक वर्ष ०७७/७८ मा १६ लाख ३० हजार ६ सय ४२ भैंसी रहेकामा ०७८/७९ मा १६ लाख ६६ हजार ८ सय २७ पुगेको जनाइएको छ ।

संख्या बढेसँगै दूध उत्पादनमा पनि केही सुधार भएको मन्त्रालयको तथ्यांक छ । ०७७/७८ मा १० लाख ६० हजार ४ सय ८७ टन गाईको दूध उत्पादन भएकामा ०७८/७९ मा ११ लाख १ हजार ८ सय १२ टन पुगेको मन्त्रालयले जनाएको छ । भैंसीको दूध पनि १४ लाख १९ हजार ४ सय १२ टनबाट बढेर १४ लाख ६४ हजार ८ सय २ टन उत्पादन भएको छ । तर खपत बढेकै कारण हरेक वर्ष दूध अभाव भइरहेको छ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully