कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट

काठमाडौँ — नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको संयूक्त प्रयासमा सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा फाइबर बिच्छ्याइएको छ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० औं वार्षिकोत्सवको अवसरमा २ गाउँमा फाइबर इन्टरनेट पुर्‍याइएको हो । 

सोलुखम्बुको खुन्दे र खमजुङ गाउँमा पुग्यो फाइबर इन्टरनेट

आइतबार सोलुखम्बुमा एक कार्यक्रम गर्दै उक्त परियोजनाको औपचारिक सुरूवात गरिएको छ । उक्त कार्यक्रममा सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी, न्यूजल्याण्ड पूर्व प्रधानमन्त्री हेलेन कर्लक, इन्टरनरेट सोसाइटीका क्षेत्रीय निर्देशक नाबेद ऊलहक, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठ, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारी लगायको उपस्थिति थियो ।

खुन्दे र खमजुङ गाउँमा भएको यसअघिको वायरलेस प्रविधिलाई फाइबरमा अपग्रेड गरिएको छ । फाइबर विस्तार भएसँगै खुन्दे र खमजुङका बासिन्दा तथा सगरमाथा आरोहण गर्न आउने आरोहीले अब उच्च गतिको इन्टरनेट चलाउन सक्ने नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।

उनका अनुसार फाइबर पुगेपछि अब खमजुङ माध्यमिक विद्यालय, खुन्दे अस्पताल र खुन्दे कम्युनिटी क्लबमा निःशुल्क जडान हुनेछ । पहिलो चरणमा सार्वजनिक स्थानमा फाइबर इन्टरनेट जडान गर्ने र त्यसपछिको चरणमा घरहरूमा फाइबर इन्टरनेट जडान गरिने छ । घरहरूमा जोडिन इन्टरनेट सस्तो शुल्कमा उपलब्ध गराइने छ ।

उच्च गतिको फाइबर इन्टरनेटले स्थानीयलाई डिजिटल शिक्षा र टेलिहेल्थको पहुँचसँगै नयाँ आम्दानीको अवसरसँग पनि जोड्ने अध्यक्ष श्रेष्ठले बताए । फाइबर पछि खुन्दे र खम्जुङ गाउँमा सुरक्षा प्रणाली समेत जडान गर्ने योजना छ । उक्त प्रणालीले स्थानीय गाउँबाट टाढा गएका भएका बेला आफ्नो घर र जनावरको सुरक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।


प्रकाशित : जेष्ठ १५, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?