कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
विद्युत् निर्यात सुरु

यस वर्ष २० अर्बको बिजुली निर्यात गर्ने लक्ष्य

कमल धिताल

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले शुक्रबारबाट भारतमा बिजुली निर्यात पुनः सुरु गरेको छ । गत पुस पहिलो साताबाट स्थगित निर्यात शुक्रबार रातिबाट सुरु भएको हो । नदीमा पानीको बहाव बढेसँगै उत्पादनमा वृद्धि हुन थालेपछि बिजुली निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ । शुक्रबार राति ६ घण्टामा प्राधिकरणले ६ सय मेगावाट आवर विद्युत् भारत निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

यस वर्ष २० अर्बको बिजुली निर्यात गर्ने लक्ष्य

प्रि–मनसुन सुरु भएसँगै नदीको बहाव बढेपछि बिजुली उत्पादन बढेपछि बढी भएको बिजुली निर्यात सुरु गरिएको प्राधिकरणको भनाइ छ । नदीमा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन १३ सय मेगावाट हाराहारी पुगेको भट्टराईले जानकारी दिए । ‘शुक्रबार राति हामीले ६ सय मेगावाट आवर बिजुली भारत पठाएका हौं,’ उनले भने, ‘अब केही दिन प्रसारण लाइनको अवस्था जाँच गरेपछि र बिजुली बढी भए निर्यात क्रमशः बढाउँदै जान्छौं ।’

‘डे अहेड’ मा बोलकबोल (बिड) मार्फत बिजुली निर्यात गर्नुपर्ने प्रावधान रहेको र आइतबारका लागि बिड नगरिएको भट्टराईले बताए । अबको केही दिन संरचनाको अवस्था हेरेर बढी भएको अवस्थामा बिक्रीलाई क्रमशः बढाउँदै लैजाने उनको भनाइ छ । हिउँद लागेसँगै नदीमा पानी घटेपछि गत पुस पहिलो साताबाट प्राधिकरणले बिजुली निर्यात बन्द गरेको थियो । प्राधिकरणले ०७९ साउनदेखि पुससम्म भारत निर्यात गरी ८ अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेको थियो । चालु आर्थिक वर्षमा करिब २० अर्बको बिजुली निर्यात गर्ने लक्ष्य लिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले गत ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ । प्राधिकरणले पहिलो पटक दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो । ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो । ०७९ कात्तिकमा थप दुई जलविद्युत् आयोजना निर्यातको स्वीकृति पाएको छ । यससँगै प्राधिकरणले हाल १० आयोजनाको गरी कुल ४५२ मेगावाट बिजुली भारतमा बिक्रीका लागि अनुमति पाएको छ । थप आयोजनाका बिजुली बेच्न प्राधिकरणले अनुमति मागे पनि भारतले दिएको छैन ।

हाल भारतीय ऊर्जा बजार आईएक्समा ‘डे अहेड’ का आधारमा बिजुली बिक्री हुने गरेको छ । विद्युत् बेच्न र किन्न हरेक दिन बिहान १० देखि १२ बजेसम्म बोलकबोल हुने गरेको छ । डे अहेड मार्केटमा विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा प्रतियुनिट बिक्री दर तय हुन्छ । एक दिनको बोलकबोलबाट प्रतिस्पर्धी दर तय भएपछि अघिल्लो दिन रातको १२ बजेदेखि अर्को दिनको राति १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् किन्न र बेच्न सकिन्छ ।

प्राधिकरणले यस वर्ष करिब १७ अर्ब रुपैयाँ बराबरको बिजुली आयात गरेको छ । सुक्खायाम सुरु भएसँगै आन्तरिक उत्पादनले नपुगेपछि भारतबाट उक्त रकमको बिजुली आयात भएको प्राधिकरण प्रवक्ता भट्टराईले जनाए । शुक्रबारदेखि भने आयात करिब शून्य रहेको उनको भनाइ छ । हाल राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता २७ सय मेगावाट पुगेको छ । तर हिउँदे उत्पादन करिब ३० प्रतिशतमा खुम्चिएका कारण पनि आयात उच्च रहेको प्राधिकरणले बताएको छ ।

हिउँदमा नेपाली उत्पादन करिब ८ सय ५० मेगावाट हारहारीमा पुगेपछि भारतीय बिजुलीको भर पर्नुपरेको थियो । जलाशययुक्त आयोजना निर्माण नहुँदा र नदी प्रवाही आयोजना (रन अफ रिभर) को भरमा रहेको नेपाली जलविद्युत् क्षेत्र सुक्खायामसँगै क्रमशः भारतीय बिजुलीको भरमा चलेको छ । गर्मीयामसँगै भारतमा पनि बिजुलीको माग उच्च हुँदा नेपालले मागे जति बिजुली ल्याउन पाएको थिएन । पुसदेखिको करिब साढे पाँच महिनामा दैनिक करिब ५ सय मेगावाट बिजुली आयात भएको प्राधिकरणको भनाइ छ ।

नेपालमा निर्यात गर्ने बिजुली कोइलाबाट उत्पादन भएको र विश्वबजारमा कोइलामा भाउ उच्च भएका कारण पनि यस वर्ष भारतीय बिजुली महँगो परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस वर्ष भारतमा २० अर्ब बराबरको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ । हाल भारतमा स्वीकृतिका लागि पठाएका आयोजनासमेत गरी दैनिक १ हजार मेगावाट हाराहारीमा बिजुली निर्यातको लक्ष्य राखिएको प्राधिकरणको भनाइ छ ।

प्रकाशित : जेष्ठ १४, २०८० ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?