१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

हिल्सा नाका खुल्यो, १८ हुम्ली ताक्लाकोट पुगे

जनकबहादुर शाही

हुम्ला —  कोरोना महामारीका कारण बन्द भएको नाम्खा गाउँपालिका–५ यारीबाट चीन जोड्ने उत्तरी हिल्सा नाका सोमबारदेखि खोलिएको छ । २०७६ मंसिरयता करिब साढे ३ वर्ष बन्द रहेको हिल्सा नाका सोमबारदेखि सञ्चालनमा आउँदा हुम्लाका स्थानीय खुसी भएका छन् । हिल्सा नाका खुलेसँगै सोमबार नै १८ जना हुम्ली चीनको श्वसाशित क्षेत्र तिब्बतको ताक्लाकोट पुगेका छन् ।

हिल्सा नाका खुल्यो, १८ हुम्ली ताक्लाकोट पुगे

तत्काललाई नेपाल तर्फबाट चीनतिर जाने दिइएको भए पनि चीनबाट नेपालतिर भने दिइएको छैन । चीनबाट नेपालतिर २०२३ मे ७ (वैशाख २४ गतेबाट) मात्र आउन दिने चिनियाँ अधिकारीहरूले बताएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । सोमबार ताक्लाकोट जान हिल्सा पुगेका १८ जना चीन प्रवेश गरिसकेको प्रजिअ पोडेलले बताए ।

नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्र जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले आ- आफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत मार्च २९ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको बैठकमा नाका खोल्ने सहमति भएको थियो ।

'कोरोना कहरका कारण हिल्सा नाका बन्द हुँदा यहाँका स्थानीय तथा व्यवसायीको गाँस काटिएझैं भएको थियो', सिमकोट गाउँपालिका–७ चौगानफयाका पदम सिंहले भने 'हिल्सा नाका पूर्णरुपमा संचालनमा आउदा हर्षित छाैं ।' नाका संचालनमा आउँदा विशेषगरी नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगाडसहित जिल्लाभरका स्थानीयलाई सहज हुने उनले बताए ।


यसअघि मार्च २९ मा भएको सहमति अनुरुप सोमबार हिल्सा नाकामा चीन- नेपाल सीमा क्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा चीनतिरको गेट खुलाइएको हो । नाका बन्द हुनुअघि यहींबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउसहित ५० प्रकारका सामग्री चीनतिर निर्यात हुने गर्दथ्यो । सोमबार चीन र नेपालतर्फका सीमाक्षेत्रका सुरक्षाकर्मी र भन्सार अधिकारी संयूक्त रुपमा उपस्थित भई हिल्सा नाकामा रहेको चीनतिरको गेट खोली १८ जनालाई पठाइएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

कोभिड संक्रमण फैलिएसँगै चीनसँग सीमा जोडिएको हिल्सा नाका बन्द गरिएको थियो । बीचबीचमा सामान पठाउन आंशिक रुपमा खोल्ने र बन्द गर्ने हुँदै आएकोमा सोमबारदेखि भने हिल्सा सीमा नाका पूर्णरुपमा सञ्चालनमा आएको हो । हुम्लीबासीको ध्यान अहिले चीनको तक्लाकोटतर्फ मोडिएको छ । अब हुम्लाबाट तिब्बतका विभिन्न स्थानमा गएर ब्यापार व्यवसाय गर्ने हुम्ली व्यवसायी र कामदारलाई आर्थिक रुपमा सहज हुने छ ।


प्रकाशित : वैशाख १८, २०८० १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?