विदेशबाट फर्किएर उद्यमको उडान

सीता घिमिरे आचार्य, हरिकला मल्ल, जानकी अर्याल, सुमित्रा परियार– चारै जनाको कथा दुःखबाट सुरु हुन्छ, उनीहरू सबै परिस्थितिले धकेलिएर रोजगारीको खोजीमा खाडी पुगे तर त्यहाँको कमाइबाट उनीहरूले आफ्नो आर्थिक हैसियत मात्रै सुधारेनन्, उद्यमी बन्ने सोचसहित स्वदेश फर्किएर आत्मनिर्भर पनि बने
अमृता अनमोल

बुटवल — बिहेको ११ महिना नपुग्दै अर्घाखाँची ढाडमैदानकी सीता घिमिरे आचार्यले श्रीमान् गुमाइन् । १९ वर्षमै आइपरेको पति वियोग, डेढ महिना मात्रै पुगेको काखे छोरा हुर्काउने दायित्व अनि घरको कमजोर आर्थिक अवस्था । यही परिस्थितिमा सीताले वैदेशिक रोजगारीमा जाने सपना देखेकी थिइन् । तर त्यति बेला एउटी विधवा कमाउन भन्दै सात समुद्र पारि जानु सहज थिएन ।

माइती पक्षको चिन्ता थियो, सीताले अझ दुःख पाउलिन् । घरपक्षको शंका थियो, नाबालक छोरो अलपत्र पारेर दोस्रो बिहे गर्लिन् वा उतै बस्लिन् । यही बीचमा दुवै पक्षलाई विश्वासमा पारेर सीता श्रम भिसामा ०६४ मा दुबई पगिन् ।

स्थानीय एजेन्टलाई ५० हजार रुपैयाँ बुझाएर उनी भारतको बाटो दुबई पुगेकी थिइन् । ब्युटीपार्लर सिकेर गएकाले काम गर्न सजिलो भयो । किनकि उनले काम नै ब्युटीपार्लरमा पाएकी थिइन् । मासिक १५ सय दिराम अर्थात् ५० हजार रुपैयाँ जति तलब थियो । परदेशको कमाइले ०६५ मा सीताले बुटवल १३ मा घडेरी किनिन् । त्यसपछिको कमाइले घर बनाइन् । तीन वर्षपछि ०६७ सालमा फर्केर आउँदा उनीसँग एक लाख ५० हजार रुपैयाँ बचत थियो । त्यही बचतले ०६८ मा उनले घरमै ब्युटीपार्लर खोलिन् । कामदारबाट उद्यमीतर्फको यो यात्रा उनले परदेशमा सिकेको काम र कमाएको आत्मविश्वासको भरमा सम्भव भएको थियो । ‘त्यहाँ छँदा पार्लर मालिकले कमाएको देखेर आफैंले व्यवसाय गरे मात्रै राम्रो हुने देखें । कसरी व्यवसाय गर्ने भन्ने पनि सिकें । अनि आफैं ब्युटीपार्लर खोल्न कस्सिएँ ।’

ब्युटीपार्लरको काम भ्याइनभ्याइ छ । दुलही शृंगार, अतिरिक्त सजावटलगायत काम आउँदा उनले तीन जनालाई ज्यालादारीमा खटाउँछिन् । ०७५ सालमा उनले १० लाख रुपैयाँ ऋण लिएर बेलवासस्थित घरमै आइसक्रिम उद्योग खोलिन् । चार जना कामदार रहेको यस उद्योगको व्यवस्थापन अहिले छोरा मुकेशले सम्हालेका छन् । अब भने उनले एकल र विपन्न महिलालाई काम दिने सोच बनाएकी छन् । ‘पढ्ने र रमाउने टिनएजमै बिहे, सुत्केरी र विधवा हुनुपर्ने बाध्यताकी मान्छे हुँ,’ सीताले विगत सम्झिइन्, ‘विधवा हाँसेर बोलेको समेत नजाती मान्ने समाज थियो । जसोतसो विदेश जान सकें र हैसियत बदल्न पाएकी छु । आफू स्वरोजगार बन्न र अरूलाई रोजगारी दिन सक्ने अवस्थामा पुगेकी छु ।’

सीता पछिल्लो समय बुटवल उपमहानगरपालिकाले गठन गरेको वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको समूह अर्थात् आप्रवासी हकहित सञ्जालकी संयोजकसमेत छिन् । विदेशबाट फर्केका महिलालाई संगठित गर्ने र उद्यममा लगाउन उनी संयोजकको हैसियतमा खटिन्छिन् । बुटवलमा मात्रै खाडीमा रोजगारी गरेर फर्केका एक सयभन्दा बढी महिला उद्यममा लागेको सीताले बताइन् ।

स्पष्ट योजना र रकम सुनिश्चितताको ग्यारेन्टी नहुँदा सरकारी रकम भए पनि बैंकहरू लगानी गर्न हिच्किचाउँछन्

तिलोत्तमा नगरपालिका ३, स्मृतिपथकी हरिकला मल्लको कथा पनि सीताको भन्दा फरक छैन । १४ वर्षकै उमेरमा मगरकी छोरीले ठकुरी केटासँग अन्तरजातीय बिहे गरेकी उनले घरभित्र हुने अनेक जातीय विभेद भोगिन् । दुई छोरा जन्मिएपछि पतिले जब दोस्रो बिहे गरे, उनका अरू दुःख पनि सुरु भए । समस्याले चारैतिरबाट घेरिएका बेला उनी नाबालक सन्तान छाडेर ०५८ सालमा साउदी अरब पुगिन् । ३० हजार रुपैयाँ खर्चेर एजेन्टमार्फत भारतको बाटो हुँदै साउदी पुगेकी उनले घरेलु कामदारको हैसियतमा काम सुरु गरिन् । मासिक करिब २५ हजार रुपैयाँ कमाइ हुने काममा उनी ३ वर्ष अडिइन् । त्यहीं बचाएको पैसाले उनले घडेरी जोडिन् अनि घर बनाइन् । आर्थिक रूपमा बलियो बनेपछि मात्रै उनले ०६३ सालमा श्रीमान्सँग सम्बन्धविच्छेद गरिन् ।

साउदीको कमाइले सधैं घर चल्दैन भन्नेमा हरिकला स्पष्ट थिइन् । त्यहाँ काम गर्दा उनका घर मालिक उद्योगी थिए । त्यसले उनको मनमा उद्योग गरे पो पैसा कमाइन्छ भन्ने सोच पलाएको थियो । के काम गर्ने उनमा कुनै स्पष्ट विचार थिएन । यही अलमलका बेला उनले एकमहिने ब्युटीपार्लरको तालिम लिइन् । अनि एक लाख कमाइ खर्चेर ०६३ मा ब्युटीपार्लर खोलिन् ।

ब्युटीपार्लर चलाइरहेका बेला हरिकलाले ०७३ मा झोला बनाउने र सिलाउने दसदिने तालिम पाइन् । सशस्त्र द्वन्द्वपीडित र एकल महिलालाई लक्ष्य गरी घरेलु तथा साना उद्योग कार्यालयले तालिम चलाएको थियो । यही तालिमपछि उनलाई झोला उद्योग खोले आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो । ०७४ मा ४ लाख खर्चेर उनले खोलिन्, हरि हस्तकला उद्योग । ढाका तथा सिलिकनका झोला बनाउन र अर्डरअनुसार सजावटका सामग्री तयार गर्न उनले ४ महिला कामदार राखिन् । खर्च कटाएर हुने मासिक ५० हजार रुपैयाँसम्म बचतले उनलाई सन्तुष्टि मात्रै दिएको छैन, केही गरेर देखाउन पाएँ भन्ने आत्मसम्मान पनि मिलेको छ ।

रूपन्देहीमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूले समूह नै बनाएका छन् । आप्रवासी सञ्जाल नामक यस समूहमार्फत उनीहरू भेटघाट गर्छन् र सुखदुःख साट्छन् । हरिकला विदेशबाट फर्किएदेखि नै यही आप्रवासी सञ्जालमा जोडिएकी थिइन् । अहिले उनका धेरै ग्राहक पनि वैदेशिक रोजगारीमा गएका र फर्केका परिवार छन् । वैदेशिक रोजगारीबाट फर्केका दिदीबहिनीले झोला बनाउने सीप सिकाउन कर गर्न थालेपछि उनले केही समययता झोला बनाउने तालिम पनि दिन थालेकी छन् । स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास केन्द्रलगायतले दिने तालिममा प्रशिक्षक बनेर लुम्बिनीका जिल्ला जिल्ला पुग्छिन् र हस्तकला एवं झोला सिलाउने तालिम दिन्छिन् ।

परदेशको यात्राबाट पलाएको आत्मविश्वासका भरमा स्वदेशमा गरेको उद्यम यात्राबाट उनले देवदहको चरंगेमा घर बनाएकी छन् । तिलोत्तमाको घर दुई छोराबुहारीलाई दिएर उनी अहिले चरंगेमै बस्न थालेकी छन् । ‘उति बेला पतिले दिएको हिंसा सहन र छोराहरूलाई पढाउन नसकेर कामदारका रूपमा वैदेशिक रोजगारीमा गएकी थिएँ । उता कामदार बनेर केही कमाएँ । त्यसकै जगमा अहिले उद्यमी बनेकी छु,’ हरिकलाले भनिन्, ‘विदेशमा धेरै कमाउन त सकिएन । केही सीप सिक्नुपर्छ र उद्यम गर्नुपर्छ भन्ने सिकायो ।’ हरिकला आप्रवासी महिला सरोकार केन्द्रमा पनि आबद्ध छन् । केन्द्रबाट उनी साताको एक दिन वैदेशिक रोजगारीमा जान चाहने महिलालाई परामर्श गर्छिन् । विदेश जानुपूर्व र गएपछि अपनाउनुपर्ने उपायबारे सिकाउँछिन् ।

सीता र हरिकलाको जस्तै दुःखले भरिएको विगत छ, बुटवलको सेमलारकी जानकी अर्यालको पनि । सशस्त्र द्वन्द्वका बेला सुराकीको आरोपमा ०६० माघ १२ मा पति गिरिप्रसादको गोली हानेर घरमै हत्या भयो । २५ वर्षकै उमेरमा जानकीको सिन्दुर पुछियो । ६ महिने छोरी र डेढवर्षे छोरा टुहुरा बने । उनी धेरै समय होसमा फर्कन पनि सकिनन् । जब सामान्य बन्न थालिन्, नाबालक छोराछोरी कसरी हुर्काउने बिलखबन्दमा परिन् । जानकीले ऋण तिर्न र छोराछोरी पाल्ने उपाय खोज्न थालिन् । कुनै उपाय फेला नपरेपछि उनी भारतीय बाटो हुँदै ०६३ मंसिरमा स्थानीय एजेन्टलाई ४० हजार रुपैयाँ बुझाएर वैदेशिक रोजगारीका लागि बहराइन पुगिन् ।

घरेलु कामदारमा रूपमा १७ महिना काम गर्दा उनले करिब ६ लाख रुपैयाँ कमाइन् । घरको ऋण तिरिन् । झन्डै ३ लाख बचत भयो । केही रकम छोराछोरीको पढाइका लागि जम्मा गर्ने सपना देख्दै थिइन् । उनको सपनामा अवरोध आयो । काम थालेको १८ महिना सुरु हुँदै गर्दा उनी जेल परिन् । ‘बेखर्ची भएर अलपत्र परेकी पोखराकी एक महिलालाई रकम दिएर घर पठाएका थियौं । अरूलाई रकम दिएर उद्धार गर्नु त्यहाँको कानुनमा अपराध रहेछ । रकम दिने रेखा न्यौपाने, जुना राई र मलाई प्रहरीले समात्यो । एक महिना जेलमा बसायो,’ जानकीले भनिन् । जेलबाट छुटेपछि घर मालिकले उनलाई पाकिस्तान हुँदै नेपाल पठाइदियो । फर्किंदा जानकीको आर्थिक अवस्था मात्रै बदलिएको थिएन, आत्मविश्वास पनि बदलिएको थियो । जानकीले विदेशको कमाइबाट करिब २ लाख लगानी गरेर फेन्सी पसल खोलिन् । करिब ५ वर्ष पसल चलाइन् । तर, जानकीलाई होटल व्यवसायमा लाग्ने मन लाग्यो । ‘सीटीईभीटीले दिने होटल म्यानेजमेन्ट र फास्टफुड बनाउने तालिम सिकें । २ वर्ष होटल व्यवस्थापकको काम गरें,’ जानकी भन्छिन्, ‘विदेशबाट फर्केका महिला मिलेर होटल चलाउने योजना थियो । कोभिड सुरु भएपछि योजना बदलेर कृषि फार्म खोल्यौं ।’ जानकी डोमेस्टिक एग्रिकल्चर डेभलपमेन्ट प्रालि खोलेर कृषि उद्यममा लागेकी छन् । त्यसमा जग्गाबाहेक ५ जनाको २५ लाख लगानी छ, जहाँ फूल र शीतलचिनीको व्यावसायिक खेती हुन्छ । अन्य मौसमी कृषि उपज उत्पादन, बजारीकरण र बेचबिखन गरिन्छ । अब थप ५ लाख रुपैयाँ लगानी लगाएर १० बिघा जग्गामा व्यावसायिक कुरिलो र तरकारी लगाउने उनको तयारी छ । बुटवल उपमहानगरपालिकाको वैदेशिक रोजगार पुनःस्थापनासम्बन्धी आप्रवासी स्वयंसेवक समेत रहेकी जानकी वैदेशिक रोजगारीमा जान लागेका र फर्केकालाई स्थापित हुने तरिका सिकाउँछिन्, जसबाट उनी मासिक १५ हजार रुपैयाँ कमाउँछिन् ।

उद्यम यात्राका अतिरिक्त उनी राजनीतिक, सामाजिक गतिविधिमा पनि सक्रिय छिन् । उनी मानव अधिकारका लागि एकल महिला समूहको लुम्बिनी प्रदेश अध्यक्ष मात्रै छैनन्, आप्रवासी महिला सरोकार केन्द्रकी जिल्ला अध्यक्ष पनि छिन् । ‘अहिले जेजे उपलब्धि भएको छ, वैदेशिक रोजगारीबाट सुरु भएको हो । उता नगएको भए आर्थिक हैसियत बदलिने थिएन,’ जानकीले सुनाइन्, ‘वैदेशिक रोजगारीका कारण घरबाहिर निस्कन, उद्यममा लाग्न र सामाजिक गतिविधिमा संलग्न हुन सक्ने भएँ ।’

रूपन्देहीमा वैदेशिक रोजगारीमा गएका महिला संगठित भएर आप्रवासी महिला सरोकार केन्द्र नामक सामाजिक संस्था खोलेका छन् । ०६८ सालमा खुलेको सामाजिक संस्थाको जिल्लासँगै हरेक स्थानीय तहमा समूह छ । समूहको तथ्यांकअनुसार रूपन्देहीमा वैदेशिक रोजगारीबाट फर्केका ४ सय ६० महिला उद्यममा छन् । ठूलो व्यवसाय गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका महिलाले घरमै स्वरोजगार उद्यम थालेका छन् । व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, ठेलामा व्यापार, खुद्रा पसल, होटल तथा नास्ता पसललगायतबाट आर्थिक हैसियत बदल्ने ध्याउन्नमा छन् । घरमा पाएको दुःखले विदेशमा जान र उता पाएको दुःखले स्वदेशमा मिहिनेत गर्न र पैसा कमाउन सिकाएको उनीहरू बताउँछन् ।

यही केन्द्रमा जोडिएकी तिलोत्तमा नगरपालिका पत्थरडाँडाकी सुमित्रा परियार पनि वैदेशिक रोजगारीबाट बटुलेको आत्मविश्वास र धेरथोर बचतका घरमा आर्थिक हैसियत उकास्ने बाटोमा छिन् । पर्वतको पैयुँटारीमा जन्मेकी सुमित्राको बिहे कक्षा ५ मा पढ्दै गर्दा १४ वर्षमै भयो । बिहेपछि मजदुरी गरेर ज्यान पाल्न भन्दै दम्पती रूपन्देहीको तिलोत्तमामा आए । लगलगी ५ छोराछोरी जन्मे । विडम्बना २८ वर्षकी हुँदा पतिले छोडेर अर्को बिहे गरे । न सीप न सम्पत्ति । छोराछोरी कसरी पाल्ने ? उनी सन्तापमा परिन् । छोराछोरीको बढ्दो पेट ज्याला मजदुरीको भरमा टार्न नसकिने भयो । कसैले ऋण पत्याएनन् । अनि छोराछोरी आफन्तलाई रेखदेख गर्न लगाएर उनी वैदेशिक रोजगारीमा जाने निधो गरिन् । ०६४ मा उनी एजेन्टलाई १० हजार बुझाएर भारतीय बाटो हुँदै साउदी उडिन् ।

साउदीमा हाउसमेडको काम सजिलो थिएन । हिन्दी र अरबी दुवै भाषा नजान्दा उनले ससाना काममा पनि दुःख पाइन् । मासिक ५ सय रियाल तलब दिने भनिए पनि गएको ४ महिनामा उनले मासिक ४ सय मात्रै पाइन् । भाग्यमा यस्तै रहेछ भनेर चित्त बुझाएकी उनले त्यहींको कमाइले तिलोत्तमाको माधवलियामा घडेरी किनिन् । ०६८ वैशाखमा फर्कंदा उनीसँग २ लाख ५० हजार बचत थियो । त्यही पैसाले सानो घर बनाइन् अनि ५० हजार रुपैयाँबाट सामान होम डेलिभरीको काम थालिन् ।

सुमित्रा अहिले घरघरमा फलफूल, तरकारी र किराना सामान पुर्‍याउने होम डेलिभरीको काम गर्छिन् । पत्थरडाँडा चोकमा त्यसकै पसल पनि खोलेकी छन् । सशस्त्र द्वन्द्व र आसपासको समयमा रूपन्देहीबाट धेरै महिला खाडी मुलुकमा वैदेशिक रोजगारीमा गएको पाइन्छ । अनपढ, सामान्य लेखपढ गरेका महिला घरेलु कामदार र बगैंचा मालीको काम गर्न उता गएको देखिन्छ । यस्तो क्रम अहिले पनि जारी छ । तर, वैदेशिक रोजगारीमा रूपन्देहीका कति महिला गएका छन् र फर्केर कति जना उद्यमशीलतामा लागेका छन् ? यसको सरकारी यकिन तथ्यांक छैन । महिलाहरूको आर्थिक, सामाजिक हैसियत बदल्न र हिंसाविरुद्ध लड्न सिकाउने सशक्त माध्यम वैदेशिक रोजगार भएकाले विदेश जाने र फर्केका दुवैलाई राज्यले विशेष रूपमा हेर्नुपर्ने महिला उद्यमी संघ लुम्बिनीकी अध्यक्ष रचना पन्त बताउँछिन् । तीन तहकै सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप परीक्षण गरी त्यसअनुसारको काम दिने नीति बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको देखिन्न । वैदेशिक रोजगारीबाट फर्केकालाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ मा शून्य ब्याजदरमा अनुदानको १० करोड रुपैयाँको उद्यम विकास कोष खोलेको थियो । तर यस कार्यक्रमबारे धेरै महिलाले पत्तो पाएनन् ।

वैदेशिक रोजगारीबाट फर्केकाको स्पष्ट योजना र रकम सुनिश्चितताको ग्यारेन्टी नहुँदा सरकारी रकम भए पनि बैंकहरू लगानी गर्न हिच्किएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको भनाइ छ ।

प्रकाशित : चैत्र १९, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्

भुटानी शरणार्थी सूचीका ४२९ जना पनि सन्देहमा

पन्थी नेतृत्वको कार्यालय २०७६ साउनमा शरणार्थी शिविर पुगेका बेला अरू केही अनधिकृत व्यक्तिले नक्कली फाराम वितरण गरे, कतिपय शरणार्थीले कुन सक्कली, कुन नक्कली छुट्याउनै सकेनन्
देवेन्द्र भट्टराई

बेलडाँगी, दमक — दमकस्थित बेलडाँगी शिविरमा रहेका घनश्याम ढकाल राष्ट्रसंघीय शरणार्थी आयोग (यूएनएचसीआर) र नेपाल सरकारको शरणार्थी समन्वय समिति (आरसीयू) बाट २०१९ मार्चमा संयुक्त प्रमाणीकरणमा परेका शरणार्थी हुन् । उनको मूलघर भुटानको गेलेफु, दानाबारीमा छ ।

दर्तावाल ४ सय २९ शरणार्थीको सूचीमा १ सय १० नम्बरमा उनको नाम छ । ‘तर अरूको नक्कली गतिविधिका कारण आज हामी अप्रमाणितझैं बनेका छौं । न परिचयपत्र पाएका छौं न अन्य सुविधा,’ ए–टु १११ झुप्रोमा भेटिएका ६० वर्षीय ढकालले भने ।

भुटानी शरणार्थीहरूका अनुसार पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको ‘दीर्घकालीन समाधानका उपाय पहिल्याउन’ गठित कार्यदल २०७६ साउनमा बेलडाँगी (झापा) र पथरी–शनिश्चरे (मोरङ) शिविर पुगेका बेला अरू केही अनधिकृत व्यक्ति पनि वरपर घुमिरहेका थिए । कतिले कुन सक्कली कार्यदल, कुन नक्कली छुट्याउनै सकेनन् । दुवैले ‘भुटानी शरणार्थीमा नाम दर्ता गरिपाऊँ’ भन्ने फाराम भुटानी शरणार्थी वा बाहिरिया जोकोहीलाई बाँड्दै हिँडेका थिए । ‘कार्यदल शिविरमा आएका बेला गिरोहले अवरोध गर्न खोजेको पनि रहेछ,’ पथरी शिविरका सचिव चम्पासिंह राईले भने ।

पथरी शिविरभित्रैका शरणार्थीबाट कुनै गिरोहले पैसा उठाएको भन्नेबारे आफूलाई थाहा नभएको राईले बताए । बेलडाँगी शिविरमा भने शिविरभित्रैबाट पनि फाराम भराउँदै, फाराममा ल्याप्चे लगाउँदै र फोटो खिचाएजस्तो गरेर शरणार्थीबाट मोटो रकम असुलिएको जानकारहरू बताउँछन् । सूचीमा परेका नाम नै शंकाको घेरामा परेका कारण पीडितहरूले भने गिरोहलाई पैसा बुझाएको विषयमा मुख खोलेका छैनन् । ‘पोखरातिरबाट आएका एक व्यक्तिले पैसा दिए प्रमाणीकरण चाँडै सकिएर अमेरिका उड्न पाइन्छ भन्दै प्रचार गरेर हिँडेको थाहा पाएँ,’ ढकालले सुनाए, ‘मैले पैसा दिने व्यक्ति शरणार्थी हुँदैन, जालसाजीमा नपर्नु है भन्दै मैले अभियान चलाएको थिएँ ।’

कार्यदलमा विज्ञ सदस्य रहेका गणेशबहादुर केसीको भनाइले पनि त्यति बेला गिरोह सक्रिय रहेको पुष्टि गर्छ । ‘अध्ययनका लागि शिविरमा गएका बेला एउटा समूहले हामीलाई प्रलोभनमा पार्न खोजेको थियो,’ उनले भने, ‘हाम्रो नाम पनि शरणार्थीको छुट दर्तामा हालिदिनुपर्‍यो भनेर आउनेहरू निकै थिए । शिविरमा त्यति राम्रो वातावरण देखिएको थिएन ।’

गिरोहले आफूमार्फत फाराम भरेका शिविर भित्र र बाहिरका सर्वसाधारणलाई फोटो खिचाउने भनेर काठमाडौंका होटलसम्म पुर्‍याउने गरेको थियो । मेडिकल गराउने भनेर धेरैलाई विराटनगरको विराट मेडिकल कलेजमा लगिएको थियो । तीमध्ये धेरैजसोले नक्कली शरणार्थी परिचयपत्र पाइसकेका छन् । यस कामका लागि गिरोहले १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलेको प्रमाण बाहिर आइसकेको छ । पन्थी कार्यदलको सार्वजनिक नै नभएको प्रतिवेदनको प्रतिलिपि गिरोहले हात पारेर त्यसमा दुई नक्कली अनुसूची थपेर ८ सय ७५ जनालाई ठगी गरेको खुलिसकेको छ । ‘अमेरिकी सरकारको एमसीसी प्रोजेक्टअन्तर्गत २ हजार नेपालीलाई शरणार्थी बनाएर अमेरिका लगिँदै छ, ढुक्क भएर फाराम भरिहाल्नु भनेर म र मेरा १६ जना साथीबाट झन्डै डेढ करोड रुपैयाँ असुलिएको थियो,’ इटहरीका एक पीडितले सुनाए, ‘त्यस बेलाको सरकार (केपी शर्मा ओली नेतृत्व) का एक मन्त्रीको घरैमा लगेर मलाई विश्वास दिलाइयो । त्यसपछि हामीले पैसा बुझाएका थियौं ।’

बेलडाँगी शरणार्थी शिविरमा सौर्यबत्तीमुनि पत्रिका पढ्दै एक शरणार्थी

गृह सचिव विनोदप्रकाश सिंहले दोहोरो प्रमाणित ४ सय २९ शरणार्थीका विषयमा संशय रहेको उल्लेख गर्दै त्यसमा पुनः प्रमाणीकरण हुने बताएका छन् । ‘शरणार्थीका नाममा एक जना पनि बाहिरको मान्छे पर्नु हुँदैन भन्ने हो,’ उनले भने, ‘हामी थप अध्यन र प्रमाणीकरणका क्रममा छौं । सक्कली शरणार्थीले केही समय धैर्य बस्नैपर्ने हुन्छ ।’

ओली नेतृत्व सरकारमा रामबहादुर थापा गृहमन्त्री भएका बेला २०७६ जेठमा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको दीर्घकालीन उपाय पहिल्याउनेबारे कार्यदल बनेको थियो । कार्यदलमा माओवादी कार्यकर्ता गणेशबहादुर केसीलाई विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको थियो । गृह मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव तोकिएका थिए । ‘म कार्यदलमा एक महिनाजति मात्रै रहें,’ हाल हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा उपसचिव तहमा सेवारत न्यौपानेले भने, ‘सामान्य तहको काम सुरु हुनासाथ मेरो ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा भएकाले कार्यदलको काम र अन्तिम प्रतिवेदनबारे केही थाहा हुन सकेन ।’

अर्का विज्ञ सदस्य केसी अहिले कांग्रेसबाट निर्वाचित भएर ललितपुरको महांकाल गाउँपालिकामा अध्यक्ष बनेका छन् । केसीले गिरोहमध्येका नाइके भनेर अहिले थुनामा राखिएका सानु भण्डारी ललितपुरको हात्तीवनमा आफ्नो छिमेकी रहेको र पुरानै चिनजान रहेका आधारमा कुराकानी तथा भेटघाट हुने गरेको भए पनि शरणार्थी बनाएर अमेरिका उडाउने गिरोहबारे आफू जानकार नरहेका बताए । ‘प्रतिवेदनमा हामीले छुट दर्ताको नामावली (४२९) र शरणार्थी आयोगबाट प्राप्त भएअनुसार शरण लिन चाहने शरणार्थीको नामावली समेटेका हौं, यसमा नयाँ नाम वा अनुसूची थपेका थिएनौं,’ उनले भने । कार्यदल संयोजक पन्थी अहिले आएको नाम थपको होहल्लाबारे आफू बेखबर रहेको बताउँछन् ।

‘कार्यदलका अरू सदस्यबारे म केही भन्न सक्दिनँ,’ उनले भने, ‘तर म कुनै प्रलोभनमा फसेको छैन, म जहाँ उभिन पनि तयार छु ।’

गृह मन्त्रालयसँग पहुँच बढाएर गिरोहले ‘अब शरणार्थी छानबिन प्रतिवेदन बन्दै छ’, ‘अब एउटा कार्यदल शरणार्थी शिविर जाँदै छ’, ‘अब अन्तिम नामावली संकलन हुँदै छ’, ‘अब बस्ने मन्त्रिपरिषद्ले शरणार्थी मामिलामा विशेष निर्णय गर्दै छ’ जस्ता सूचना प्रवाह गर्दै सर्वसाधारणलाई ठगी गरेको थियो ।

२०७६ साल जेठमा पन्थी कार्यदल बनेका बखत अनाधिकृत ढंगमा शरणार्थी शिविरहरुमा बााढिएको शरणार्थी दर्ता गरिपाउँ भनेर वितरण गरिएको फर्म ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपालीलाई भुटानी बनाएर अमेरिका उडाउने भन्दै रकम असुल्ने गिरोहका केशव दुलाल, सानु भण्डारी, टेक गुरुङ र सागर राईलाई यही साता पक्राउ गरेपछि यस धन्दामा संलग्न अरू व्यक्तिबारे खुलासा हुन थालेको छ । पक्राउ परेकाहरूले दिएको बयानअनुसार बेलडाँगीस्थित शरणार्थी समन्वय समिति (आरसीयू) का टंक दुलालले नै ‘शरणार्थी बनाइपाऊँ’ भन्ने देखावटी फाराम वितरण गरेका थिए ।

कार्यालय स्रोतका अनुसार यही गिरोहविरुद्ध शुक्रबार पथरी (मोरङ), दाङलगायतका एक दर्जनभन्दा बढी पीडितको उजुरी आएको छ । म्याग्दी र कास्कीबाट पीडितको टोली काठमाडौं आउँदै छ । गिरोहले तत्कालीन गृहमन्त्री, सचिव, मन्त्रीका सल्लाहकार, मन्त्रीका आफन्तसहितलाई किस्तामा रकम पठाएको बैंकिङ कारोबारको रेकर्डसमेत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको एक जाहेरीवालले जानकारी दिए ।

शरणार्थी प्रमाणित सूची

पासाङ तामाङ (परिवार संख्या ३), बुद्धिमान कामी (२), डम्बर सिंह विश्वा (२), विनोद गुरागाईं (२), भद्रमाया गुरुङ (१), जे.टी. बहादुर मगर (२), सोमबहादुर राई (४), पवित्रामाया भुजेल (३), पुष्प सापकोटा (४), टीकामाया राई (४), बलराम राई (४), लक्ष्मीनारायण कटवाल (२), देवकी विश्वा (१), राधिका क्षत्री (१), गंगा भट्टराई (१), जमुना भट्टराई (१), पदमलाल राई (१), विष्णुमाया तामाङ (१), मोहन राई (१), आसमाया राई (२), कल्पना क्षत्री (२), बोमराज गुरुङ (१), तारका मा गुरुङ (३), गंगामाया राई (५), सुकराज गुरुङ (२), साजीव राई (१), लक्ष्मी सुब्बा (१), कनमाया राणा (१), धनबहादुर राई (२), धनबहादुर सुब्बा (१), टंकमान गुरुङ (१), डम्बर सिंह गुरुङ (२), चन्द्रप्रसाद ढुंगाना (२), गंगामाया तामाङ (४), घमैली माया मुखिया (१), आशा राई (१), गोपीचन मगर (१), आइतवीर मगर (१), नरमाया राई (२), रीता दर्जी (१), हेममाया भेटवाल (२), छेदानन्द नेपाल (३), फुर्वा छिरिङ थिङ (२), रत्न गुरुङ (४), हर्कबहादुर रसाइली (५), चन्द्रकला राई (४), विकास राई (१), अम्बिका बस्नेत (५), हर्क सिंह दर्जी (१), सुकबहादुर राई (३), हस्तबहादुर मगर (३), गोपी रेज क्षत्री (१), राममाया कडरिया (१), बिर्खमाया लिम्बू (२), पदमबहादुर विश्वा (२), रुक्मिना न्यौपाने (१), देउमाया मगर (१), दिलबहादुर विश्वा (२), रोहित शर्मा कोइराला (२), दीपमाया गौतम (२), मोनबहादुर राई (१), हर्क सिंह सुब्बा (४), चोलीमाया मगर (३), परमानन्द भट्टराई (१), मीरामाया राई (१), देवकुमार राई (३), मोनिकला सार्की (२), आइतसिंह मगर (३), टेकबहादुर क्षत्री (१), दिलमाया खनाल (३), धनबहादुर गुरुङ (३), पूर्णबहादुर क्षत्री (१), मणिकुमार विश्वा (३), सुकमाया तिरवा (३), किशोर दर्जी (३), मंगलमाया राई (१), सरस्वती अधिकारी (४), मेगराज शिवाकोटी (१), प्रेमबहादुर राई (३), तेजबहादुर भट्टराई (२), नरबहादुर दर्जी (२), डम्बर सिंह गुरुङ (१), मदारिधि दंगल (२), लालबहादुर विश्वा (४), कुमार गुरुङ (१), जंगवीर तामाङ (१), भरत सिंह गुरुङ (४), छविलाल मिश्र (३), इन्द्रमाया राई (१), गंगामाया काफ्ले (१), विक्रम तामाङ (२), शरणकुमार गुरुङ (२), चन्द्रमाया दियाली (२), तारादेवी पुरी (१), नरबहादुर भण्डारी (१), टंकबहादुर पाण्डे (१), शिलामाया क्षत्री (१), सञ्चमाया राई (२), अर्जुनकुमार विश्वा (१), तुलसादेवी बिष्ट (२), पदमलाल भण्डारी (१), नीरपराज खड्का क्षत्री (१), दिलकुमार दर्जी (१), ज्ञानबहादुर क्षत्री (४), लीलाकुमार विश्वा (१), सुकबहादुर राई (३), हस्तबहादुर मगर (३), गोपी रे क्षत्री (१), राममाया कडारिया (१), वीरखामाया लिम्बू (२), पदमबहादुर विश्वा (२), रुक्मिना न्यौपाने (१), देउमाया मगर (१), दिलबहादुर विश्वा (२), रोहित शर्मा कोइराला (२), दीपमाया गौतम (२), मोनबहादुर राई (१), हर्क सिंह सुब्बा (४), चोलीमाया मगर (३), परमानन्द भट्टराई (१), मीरामाया राई (१), देवकुमार राई (३), मोनिकला सार्की (२), ऐता सिंह मगर (३), टेकबहादुर क्षत्री (१), दिलमाया खनाल (३), धनबहादुर गुरुङ (३), पूर्णबहादुर क्षत्री (१), मणिकुमार विश्वा (३), सुकमाया तिरवा (३), किशोर दर्जी (३), मंगलमाया राई (१), सरस्वती अधिकारी (४), मेगराज शिवाकोटी (१), प्रेमबहादुर राई (३), तेजबहादुर भट्टराई (२), नरबहादुर दर्जी (२), डम्बर सिंह गुरुङ (१), मदारिधि दंगल (२), लालबहादुर विश्वा (४), कुमार गुरुङ (१), जंगवीर तामाङ (१), रत सिंह गुरुङ (४), छविलाल मिश्र (३), इन्द्रमाया राई (१), गंगामाया काफ्ले (१), विक्रम तामाङ (२), शरणकुमार गुरुङ (२), चन्द्रमाया दियाली (२), तारादेवी पुरी (१), नरबहादुर भण्डारी (१), टंकबहादुर पाण्डे (१), शिलामाया क्षत्री (१), सञ्चमाया राई (२), अर्जुनकुमार विश्वा (१), तुलसादेवी बिष्ट (२), पदमलाल भण्डारी (१), नीरपराज खड्का क्षत्री (१), दिलकुमार दर्जी (१), ज्ञानबहादुर क्षत्री (४), लीलाकुमार विश्वा (१), आलोपकुमार प्रधान (६), दलबहादुर गुरुङ (५), टीकाराम मगर (२), टेकबहादुर राई (३), घनश्याम ढकाल (१), ओमप्रकाश सापकोटा (१), सवीर लिम्बू (२), रिकुधन तिवारी (१), फिस्टीमाया राई (३), जैबहादुर राई (१), तारावीर राई (२), सानुमाया तामाङ (२), अभिरमान राई (३), वीरबहादुर राई (५), देवबहादुर राई (२), मानबहादुर क्षत्री (६), लछुमन सुनुवार (५), मानबहादुर गुरुङ (१), तिलबहादुर खड्का (१), दावाछिरिङ तामाङ (२), धनबहादुर राई (१), विष्णुमाया तामाङ (१), तुलसीराम अधिकारी (४), कमला दाहाल (३), दलबहादुर पोखरेल (१), पूर्णबहादुर थापा (४), कुमार मोक्तान (१), डम्बरसिंह ढकाल (१), परशुराम न्यौपाने (३), नीरमाया राई (२), गम्भीर सिंह राई (४), कमल शर्मा (५), नरमाया शर्मा (३), सुमिता आले घले (१), तारादेवी अधिकारी (१), धनमाया मोक्तान (२), सिंहवीर तामाङ (३), भीममाया कार्की (१), कमलादेवी घिमिरे (२), दिलबहादुर राई (४), परशुराम फुयाल (१), टेकनाथ सुवेदी (१), रेणुका दर्जी (२), रेखाकुमार दर्जी (४), नारदमणि राई (३), पम्फा राई (२), सन्चमाया तामाङ (५), मानबहादुर सिंगार (२), सुखवीर राई (१), मनमाया रानपहेंली (२), मनकुमारी विश्वा (१), सीतादेवी भुजेल (४), सुकमाया लेप्चा (६), फूलमाया तामाङ (४), मनसरी थापा (२), दिलकुमार राई (२), तिला चन्द गुरुङ (१), छिरिङमाया डोल्मा (३), नरमाया राई (२), गंगाराम आचार्य (३), विनोद क्षत्री (२), सारमाया राई (६), चन्द्रमाया राई (२), टीकामाया गुरुङ (३), नारायण शर्मा (५), प्रेमबहादुर चौहान (१), पुनम गौतम (१), तुलसीमाया दुलाल (४), मोंगलीमाया राई (३), धनमाया तामाङ (२), दिलमाया मगर (३), धनमाया बस्नेत (१), चन्द्रमाया शर्मा (१), बलबहादुर भट्टराई (४), मोतीलाल थापा (४), देवीमाया प्रधान (२), रिमा प्रधान (३), इन्द्र राई (१), धनवीर तामाङ (३), रेणुका दर्जी (१), खड्काप्रसाद सन्यासी (३), अमिता सुब्बा (२), भीमबहादुर गुरुङ (१), डम्बर सिंह राई (३), सरिता तामाङ (२), रुद्रबहादुर कटवाल (१), मानसिंह राई, दुर्गामाया मगर, मञ्जुमाया सार्की, पासाङ तामाङ, कुमार भण्डारी, पवित्र सुवेदी, विनोद विश्वा, अमृता भुजेल, बलबहादुर तामाङ, सुकमाया सुब्बा, डम्बर सिंह कामी, भीमबहादुर न्यौपाने, देवबहादुर राई, हेमा सुब्बा, अजय प्रधान, ज्योति क्षत्री, पूर्णमाया फुयाल, लक्ष्मीमाया न्यौपाने, शक्ति राई, गंगादेवी भट्टराई,सन्चमाया लिम्बू ।

कुल शरणार्थी संख्या : ४२९, परिवार : २१२

(शरणार्थी समन्वय समिति (नेपाल सरकार, गृह मन्त्रालय) र राष्ट्रसंघीय शरणार्थी आयोगको शरणार्थी छुट दर्ता नामावली, २०१९ मार्चअनुसारको अनुसूची)

सम्बन्धित समाचारहरू :

प्रकाशित : चैत्र १९, २०७९ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×