१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

साढे १२ प्रतिशत ब्याज दिँदा पनि बिकेन वैदेशिक रोजगार बचतपत्र

काठमाडौँ — नेपाल राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदर दिँदा पनि वैदेशिक रोजगार बचतपत्र बिक्री हुन सकेन । चैत १० देखि गणना हुनेगरी जारी भएको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा जम्मा २ करोड २४ लाख रुपैयाँ बराबरको मात्रै बिक्री भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माग गरिएभन्दा जम्मा ४.४९ प्रतिशत मात्रै वैदेशिक रोजगार बचतपत्र बिक्री भएको हो ।

साढे १२ प्रतिशत ब्याज दिँदा पनि बिकेन वैदेशिक रोजगार बचतपत्र

वैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै राष्ट्र बैंकले साढे १२ प्रतिशत ब्याजदरमा ५ वर्षे अवधिको बचतपत्र जारी गरेको थियो । वैदेशिक रोजगार बचतपत्रमा राष्ट्र बैंकले दिएको साढे १२ प्रतिशत ब्याजदर हालसम्मकै उच्च हो भने बैंकहरूले मुद्दतीमा दिनेभन्दा पनि बढी हो । हाल बैंकहरूले व्यक्तिगत मुद्दतिमा जम्मा ११ प्रतिशतसम्म मात्रै ब्याज दिँदै आएका छन् । अहिले मात्रै नभएर यसअघि निस्कासन भएका कुनै पनि वैदेशिक रोजगार बचतपत्रमा माग गरेजतिको लागि आवेदन परेको छैन । हालसम्म निस्कासन भएका वैदेशिक रोजगार बचतपत्रमा माग गरेको भन्दा औसत ५.२ प्रतिशत रकमका लागि मात्रै आवेदन परेको राष्ट्र बैंकको तथ्यांक छ ।

यस्तो बचतपत्रमा लगानी गर्नेले कम्तीमा १० हजार रुपैयाँ लगानी गर्नुपर्छ । लगानीवापतको ब्याज ६–६ महिनामा पाइन्छ । आफूले इच्छाएको व्यक्तिमार्फत पनि नेपालमा ब्याज लिन सकिन्छ । मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी)को नाममा पनि खरिद गर्न सकिन्छ । यस्तो बचतपत्र बैंकमा धितो राखेर आवश्यक परेका बेला ऋण समेत पाइन्छ । यसको जोखिम पनि न्यून हुन्छ ।


प्रकाशित : चैत्र १०, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?