‘उपभोक्ताको हकहितको विषय मन्त्रिपरिषद्ले सिधै स्वीकृत गर्न सक्छ तर विषयगत समितिको बहाना बनाएर तरकारीको गुणस्तर परीक्षण रोक्नु उपभोक्तामाथि अपराध हो’
काठमाडौँ — तरकारी र फलफूलको विषादी परीक्षणमा सरकारले ‘समिति देखाउँदै, लम्ब्याउँदै’ प्रवृत्ति देखाएको छ । यसअघि मन्त्रिपरिषद्बाट फिर्ता गरिएको तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रस्ताव बिहीबारको बैठकले थप छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय गरेको छ । खाद्य पदार्थमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय समितिमा छलफलपछि मात्र मन्त्रिपरिषद्मा प्रस्तुत गरिने सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
‘विषयगत समिति मन्त्रीज्यूको नेतृत्वमा हुन्छ । विगतमा छलफल भए पनि निष्कर्षमा पुगेन होला । प्राविधिक विषय भएकाले विज्ञसँग पनि छलफल गरिन्छ,’ मन्त्री शर्माले कान्तिपुरसित भनिन्, ‘विषादी परीक्षण अनिवार्य गर्नुपर्ने हो, मापदण्ड निर्धारण गर्नुपर्छ । समितिले छिट्टै मन्त्रिपरिषद्मा ल्याउँछ ।’ मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा पनि छलफलका लागि विषयगत समितिमा पेस गर्न लागिएको उनले बताइन् । ‘पहिला समितिबाट छलफल भएको भए हामी मन्त्रिपरिषद्बाट प्रस्ताव सिधै पारित गर्थ्यौं । छलफल गर्न बाँकी रहेकाले फेरि समितिमा पठाइएको हो,’ उनले भनिन्, ‘बाध्यात्मक नभए पनि बृहत् छलफलका लागि पठाएका छौं ।’
आम उपभोक्ताको हकहितको विषय मन्त्रिपरिषद्ले सिधै स्वीकृत गर्न सक्छ । कृषि मन्त्रालयले पेस गरेको खाद्यान्न, तेलहन र अन्नमा आधारित पूरक बाल आहारको मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । उक्त मापदण्ड गत फागुन १ मा राजपत्रमा समेत प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ । तर, विषयगत समितिको बहाना बनाएर गुणस्तर तोक्नु भनेको समय लम्ब्याउने मात्र बहाना भएको कृषिविज्ञ कृष्ण पौडेल बताउँछन् ।
‘ठूला राजनीतिक प्रस्ताव पारित गर्दा अध्ययन अथवा छलफल गराइँदैन । तर उपभोक्तालाई सिधै असर गर्ने विषादीको विषयमा थप छलफल गर्ने बहाना बनाइएको छ,’ पौडेलले भने, ‘यो विषयलाई टार्ने बहाना गरिएको छ ।’ भारतबाट आयात हुने अधिकांश तरकारीमा विषादी हुन्छ । सरकारी तथ्यांक अनुसार आयात हुने तरकारीमध्ये करिब ९५ प्रतिशत भारतबाट आउँछ । गत आर्थिक वर्षमा मात्र १६ अर्ब ९६ करोड १३ लाख रुपैयाँको तरकारी भारतबाट भित्र्याइएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
तर यहाँ पर्याप्त मात्रामा परीक्षण हुँदैन । दुई ग्रुपको मात्रै विषादी मात्रै जाँचिन्छ । त्यो पनि परीक्षणका नाममा सर्वसाधारणलाई झुक्याउने काम मात्र भइरहेको उनको दाबी छ । ‘सरकारले इच्छाशक्ति देखाए सजिलै विषादी परीक्षण गर्न सक्छ । ०७६ सालमा विषादी परीक्षण गरेर मात्रै तरकारी भित्र्याउन खोजिएकै हो,’ कृषिविज्ञ पौडेलले भने, ‘तर सरकारले भारतको दबाब थेग्न सकेन । अहिलेको अवस्था पनि त्यही हो ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाका अनुसार तरकारी परीक्षण गर्दा केही अत्यधिक मात्रामा विषादी देखिने गरेको छ ।
मुख्यतः गोलभेंडा, काउली, सिमीलगायत तरकारीमा विषादी भेटिने गरेको छ । सरकारले पञ्जीकृत गरेका सबै विषादी परीक्षण भए आयात हुने धेरैजसो तरकारीमा कैफियत भेटिन्छ । तर विडम्बना दुई ग्रुपका मात्रै विषादी परीक्षण गरिँदै आएको छ । आरबीपीआर माध्यमबाट काब्रामाइट र अर्गानोफोस्पेटको परीक्षण भए पनि त्यो प्रभावकारी छैन । ‘विषादीको हकमा सरकार जिम्मेवार नै भएन । क्यान्सर जस्तो घातक रोग निम्त्याउने जीएमओ फुडको परीक्षण नहुनु दुःखद हो,’ उपभोक्ताकर्मी ज्योति बानियाँले भने, ‘तरकारी तथा फलफूलको विषादी परीक्षणमा ढिलाइ गर्नु कदाचित् मनासिव होइन । छिमेकी मुलुक रिसाउला भनेर आफ्ना नागरिकलाई झुक्याउने काम भइरहेको छ ।’
भारतले अन्य खाद्यान्नको निर्यात रोक्ने डरले सरकारले विषादी परीक्षणको निर्णय गर्न नसकेको कृषिविज्ञ पौडेलको दाबी छ । चार वर्षअघि पनि यही कारणले राजपत्रमा सूचना प्रकाशन भए पनि निर्णय फिर्ता गरिएको उनले बताए । ‘०७६ जेठ १० मा भारतसहित तेस्रो मुलुकबाट आयात गरिने तरकारी र फलफूल नाकामै परीक्षण गर्ने गरी मन्त्रिपरिषद्ले ०७६ जेठ १० मै निर्णय गरिएको थियो । सोही क्रममा ०७६ असार २ मा राजपत्रमा प्रकाशन पनि भयो । भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गरेपछि भारतीय दूतावासको दबाबमा फिर्ता गरियो,’ पौडेलले भने, ‘अहिले पनि दबाबकै कारण गुणस्तर तोक्न ढिलाइ भएको हो ।’
सरकारी निर्णयविरुद्ध ०७६ असार २५ मा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो ।
