बैंकमा पैसा जम्मा गर्ने खाताको संख्या ४ करोड ८३ लाख, ऋण लिने जम्मा १८ लाख

फाल्गुन २३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाताको तुलनामा ऋण लिनका लागि खुलेकाे खाता संख्या २६ गुणा कम रहेको पाइएको छ । यसको अर्थ धेरै व्यक्तिले बैंकमा बचत गरेपनि निकै कम मात्रले बैंकबाट ऋण लिन्छन् भन्ने हो ।

बैंक तथा वित्तीय संस्थाको मुख्य काम नै निक्षेपकर्ताबाट बचत संकलन गर्ने र आवश्यक परेका ऋणीलाई ऋण प्रदान गर्ने हो ।राष्ट्र बैंकको तथ्यांक अनुसार गत पुससम्म कुल ४ करोड ८३ लाख २४ हजार ९ सय ३९ वटा निक्षेप खाता खुलेका छन् । सोही अवधिमा १८ लाख ३३ हजार १ सय ६५ जना ऋणीले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका छन् । यसरी हेर्दा बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाताको तुलनामा ऋण लिने व्यक्तिको संख्या ३.७९ प्रतिशत मात्र हो ।

गत पुससम्म बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाताको संख्या नेपालको कुल जनसंख्या भन्दा बढी हो । नेपालमा एकै व्यक्तिले धेरै बैंकमा पनि निक्षेप खाता खोल्न पाउने सुविधा रहेकाले जनसंख्या भन्दा बचत खाताको संख्या बढी देखिएको हो ।राष्ट्र बैंककै ‘वित्तीय साक्षरता आधार सर्वेक्षण’ प्रतिवेदनले बहुसंख्यक वयस्क जनसंख्याको औपचारिक बैकिङ प्रणालीमा पहुँच नभएको देखाएको छ । मुलुकमा वित्तीय साक्षरता बढेको, ७ सय ५२ स्थानीय तहमा वाणिज्य बैंककै शाखा पुगेको, वित्तीय पहुँच विस्तार भएको दाबी सरकारले गरिरहेका बेला सर्वेक्षणमा ७१.८३ प्रतिशत वयस्क जनसंख्या आर्थिक आवश्यकता पूरा गर्न (बचत वा ऋणका लागि) साहु–महाजन, परिवार तथा साथीभाइमै निर्भर रहेको प्रतिवेदनले औंल्याएको छ ।

कान्तिपुर

Link copied successfully