स्वास्थ्य परीक्षण केन्द्रमा मलेसियाका गृहमन्त्रीको अनुगमन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

स्वास्थ्य परीक्षण केन्द्रमा मलेसियाका गृहमन्त्रीको अनुगमन

गुणस्तरीय स्वास्थ्य परीक्षण मलेसियाको प्राथमिकता : फुद्दिन नासुसन इजमाइल
कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसिया जाने कामदारको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य परीक्षण केन्द्र अनुगमन गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वसँग बैठक सकेपछि गृहमन्त्री टोलीले सिनामंगलस्थित अनमोल मेडिकल सेन्टरको अनुगमन गरेको हो । उक्त सेन्टरसहित ३६ वटा स्वास्थ्य परीक्षण केन्द्र मलेसिया सरकारको विदेशी कामदार केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)सँग जोडिएको प्रणाली हो ।

मलेसियामा पुगेपछि मेडिकल अनफिट हुनेको संख्या बढेको भन्दै मलेसियाले स्वास्थ्य मापदण्ड बनाई २०१४ देखि स्वास्थ्य परीक्षणमा कडाइ गर्दै आएको हो । स्वास्थ्य परीक्षण पास भएको रिपोर्टलाई सिधै मलेसियाको गृह मन्त्रालयले अपलोड गरेपछि मात्रै भिसा जारी हुने प्रावधान छ ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम सम्झौतापछि दुई देशका गृह, श्रम, परराष्ट्र र कानुन मन्त्रालयका उच्च अधिकारीहरू संलग्न दोश्रो संयुक्त प्राविधिक बैठकले नेपालमा कामदारले स्वास्थ्य परीक्षण गर्न लागेको खर्च मलेसिया पुगेपछि पहिलो महिनामा रोजगारदाताले सोधभर्ना दिने निर्णय गरेको थियो ।

जस अनुसार नेपालमा स्वास्थ्य परीक्षण हुँदै आएको छ । त्यसअघि स्वास्थ्य परीक्षणको खर्च कामदार आफैंले गर्नुपर्थ्यो । स्वास्थ्य परीक्षणको क्रममा सुरक्षा जाँच (फिङ्गरिङ) पनि हुँदै आएको छ । यसले मलेसिया गएर फर्केका कामदार गृह मन्त्रालयको कालोसूचीमा रहेको वा नरहेको पहिचान गर्नेछ । मलेसियाले डिपोर्ट गरी पठाएका कामदार पुन: मलेसिया जान पाउँदैनन् ।


शुक्रबार अनुगमनपछि मलेसियाका गृहमन्त्री इजमाइलले गुणस्तरीय स्वास्थ्य परीक्षणमा आफ्नो मन्त्रालयलले जोड दिएको बताए । गृह मन्त्रालयले आवश्यकका अनुसार स्वास्थ्य परीक्षण केन्द्रको अनुगमन गर्न टोली पठाउने पनि उनको भनाइ छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलास खड्काले गृहमन्त्री इजमाइललाई अनमोल सेन्टरमा स्वागत गर्दै कामदारको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न मलेसियाका स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेको बताएका थिए ।

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति दिएको संस्थामध्येबाट गन्तब्य देशहरुले कामदारको स्वास्थय परीक्षण गराउँदै आएका छन् । जसअनुसार मलेसियाले ३६, खाडी देशहरुका स्वास्थ्य संगठन गल्फ कोअपरेसन काउन्सिल (गाम्का)ले साउदी, बहराइन, युएई, ओमनका लागि १२ र कतारले एउटाबाट मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

प्रकाशित : माघ २०, २०७९ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्

३ बालिका बलात्कार गरेको मुद्दामा ७३ वर्षीय पुरुषलाई जन्मकैद फैसला

सम्झना रसाइली

तनहुँ — नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले ७३ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका-१० का एक वृद्धलाई बुधबार जन्मकैदको फैसला सुनाएको हो ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाइएको छैन ।

वि.सं. २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया गरी तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ गते पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने अदालतले सफाइ दिइएको छ ।

श्रेस्तेदार कुँवरले भने, 'आरोपितमाथि तीनवटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुईवटा मुद्दामा पनि कसुर ठहर भएको छ । तर सजाय निर्धारण भने बाँकी छ ।'

वि.सं. २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा १७ पटक पेसी चढेको थियो । आरोपित वृद्ध २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा थिए ।

प्रकाशित : माघ २०, २०७९ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×