भारतबाट दैनिक ३५० मेगावाट विद्युत् आयात - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

भारतबाट दैनिक ३५० मेगावाट विद्युत् आयात 

कान्तिपुर संवाददाता

काठमाडौँ — सुक्खा मौसम सुरु भएसँगै नेपालले भारतबाट दैनिक ३५० मेगावाटसम्म विद्युत आयात गर्न थालेको छ । सुक्खा मौसमका कारण नदी प्रवाहमा आधारित आयोजनाको क्षमतामा ह्रास आएपछि प्राधिकरणले दैनिक ३५० मेगावाटसम्म विद्युत् खरिद गर्दै आएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालको औसत उत्पादन ९ सयदेखि १ हजार मेगावाटसम्म रहेको जानकारी दिए । कान्तिपुरसँगको कुराकानीमा घिसिङले हाल विद्युत् जडित क्षमता करिब २३५५ मेगावाट रहेको बताए । ‘सुक्खा मौसममा हाम्रो उत्पादन क्षमताको ४० प्रतिशतसम्म तल झर्ने भएकाले बिजुली पुग्दैन’ उनले भने ‘यसपालि हिउँ कम परेको छ, सुक्खा अझै बढ्ला जस्तो छ ।’

बिहान–बेलुकाको समयमा बिजुलीको पिक डिमान्ड (उच्चतम माग) १८ सयदेखि १९ सय मेगावाट पुग्ने गरेको र औसत माग १२ देखि १३ सय मेगावाट रहेको उनले बताए  । ‘उच्चतम माग ९५० देखि १ हजार मेगावाट भए पनि पिकमा हामीले १४ सय र १५ सयसम्म पुर्‍याउन सक्छौं । त्यसो हुँदा औसतमा ३ सयदेखि साढे ३ सय, ४ सय मेगावाट आयात गर्नुपर्छ’ घिसिङले भने । चालु आर्थिक वर्षमा ७ सयदेखि ८ सय मेगावाट बिजुली थपिने उनले बताए । ‘अबको एक महिनाभित्रै २ सय मेगावाट थपिँदै छ’ घिसिङले भने ‘तर २ सय भनिए पनि सुक्खायाममा उत्पादन हुने भनेको ८० मेगावाट जति मात्रै हो । समग्रमा प्रत्येक वर्ष ७/८ सय मेगावाट विद्युत् थपिन्छ । त्यसपछि हामीलाई पुग्छ ।’


प्रकाशित : माघ ३, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णयविरुद्ध कांग्रेसका ६ सांसदको फरक मत

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णयविरुद्ध आधा दर्जन सांसदले फरक मत राखेका छन् ।मंगलबार प्रदेशसभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सांसदहरुको फरक मत रहँदारहँदै पनि विश्वासको मत दिने निर्णय गरेको हो ।

सांसदहरु छिरिङदार्जे लामा, सुरजचन्द्र लामिछाने, श्रीराम लामिछाने, सुरेश श्रेष्ठ, शान्ता ढकाल र गोविन्द लम्सालले लिखित रुपमै फरक मत राखेका हुन् । उनीहरुले कांग्रेसले प्रतिपक्षमा बस्ने भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन नहुने बैठकमा बारम्बार दोहोर्‍याएका थिए ।

दल नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेका थिए । संसदीय दलको बैठक भर्खरै मात्र सकिएको छ ।

मुख्यमन्त्री जम्मकट्टेलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रमछ । कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । कांग्रेसका ३७ सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्छन् । ११० सदस्यीय प्रदेशसभामा सत्तारुढ दलको बहुमत रहेको छ । विश्वासको मत प्राप्त गर्न जम्मकट्टेललाई ५६ मत भए पुग्छ । बैठक १२:३० बजेका लागि आह्वान भए पनि कांग्रेस संसदीय दलको बैठकको कारण अझै बस्न सकेको छैन ।

कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिएको थियो ।

प्रकाशित : माघ ३, २०७९ १३:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×