फ्रान्सले टिकटकलाई तिरायो ५४ लाख युरो जरिवाना

पुस २९, २०७९

एजेन्सी

काठमाडौँ — अनलाइन ट्रयाकिङका लागि प्रयोग गरिने कुकिजसम्बन्धी नियमलाई लिएर फ्रान्सको डेटा प्रोटेक्सन नियामक सीएनआईएलले टिकटकलाई ५४ लाख युरो जरिवाना तिराएको छ । टिकटक डटकमका प्रयोगकर्तालाई अनलाइन ट्रयाकर (कुकिज) अस्विकार गर्ने विकल्प नदिइएको भन्दै सीएनआईएलले कारबाही गरिएको जनाएको छ । यस विषयमा आफूहरूले समस्या समाधान गरिसकेको चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको दाबी छ ।

टिकटक डटकम चलाउने प्रयोगकर्तालाई कुकिजबारे पर्याप्त सूचना नदिइएको र कुकिज स्वीकार गर्ने/नगर्ने विषयमा विकल्प नै नदिई स्वीकार गर्नैपर्ने बाध्यात्मक नियम राखिएको फ्रान्सेली नियामकले पत्ता लगाएको थियो । युरोपेली संघको नीतिअनुसार वेबसाइटहरूले कुकिजको विषयमा अनिवार्य पूर्वजानकारी दिनुका साथै यस विषयमा प्रयोगकर्ताको मन्जुरी लिनुपर्छ ।

कुकिज भनेका वेबसाइटहरूले प्रयोगकर्ताको वेब ब्राउजरमा पठाउने साना टेक्स्ट फाइलहरू हुन् । प्रयोगकर्ताका विवरण र क्रियाकलापहरू याद राख्न वेबसाइटहरूले कुकिज पठाउँछन् । तर यसरी कुकिज प्रयोग गर्ने/नगर्ने भन्नेबारे प्रयोगकर्ताको राय लिन आवश्यक हुन्छ र प्रयोगकर्ताले रुची नदेखाएमा कुकिज रिजेक्ट गर्ने सुविधा पनि वेबसाइटहरूले प्रदान गर्नुपर्छ । विज्ञापनकर्ताहरूले कुकिज प्रयोग गरी प्रयोगकर्ताका क्रियाकलाप ट्रयाक गर्ने र तिनको रुचीअनुरुप विज्ञापन देखाउने गर्छन् । युजर नेम, पासवर्ड, इमेल आईडी जस्ता विवरणहरू सेभ गरी कुकिजले प्रयोगकर्तालाई सहजता प्रदान गरे पनि यिनले व्यक्ति तथा संस्थाको अनलाइन एकाउन्टमा अनधिकृत पहुँच बनाउने, गोपनियता उल्लंघन गर्ने र साइबर आक्रमणको जोखिम बढाउनसक्ने भएकाले कुकिजलाई लिएर ससंकित हुने गरिएको छ ।

फ्रान्सेली नियामकले हाल पत्ता लगाएको भनिएका कुकिजसम्बन्धी समस्याहरू गत साल नै समाधान गरिसकेको टिकटकका प्रवक्ताले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई बताएका छन् । ‘अनावश्यक कुकिज रिजेक्ट गर्न र कतिपय कुकिजबारे थप जानकारी समावेश गरेर हामीले समस्याको सम्बोधन गरिसकेका छौं,’ प्रवक्तालाई उदृत गर्दै रोयटर्सले लेखेको छ, ‘अनुसन्धानका क्रममा हामीसँगको सहकार्यबारे सीएनआईएल स्वयम्‌ले उल्लेख गरेको थियो । टिकटकका लागि प्रयोगकर्ताको गोपनीयता सधैं उच्च प्राथमिकतामा रहने गरेको छ ।’

एजेन्सी

Link copied successfully