विदेशी लगानी : प्रतिबद्धता बढ्दो, आउने रकम घट्दो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी लगानी : प्रतिबद्धता बढ्दो, आउने रकम घट्दो

सुविधा लिने तर लगानी नल्याउनेको भिसामा कडाइ
सीमा तामाङ

काठमाडौँ — प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्रिएपछि उद्योग विभागले व्यावसायिक भिसामा कडाइ गर्न सुरु गरेको छ । प्रतिबद्धता मात्र गर्ने तर लगानी नल्याउने प्रवृत्ति बढेपछि विभागले गत साता व्यावसायिक भिसामा कडाइ थालेको हो । विदेशी लगानीको प्रतिबद्धता र मुलुकमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रकम हेर्दा बर्सेनि प्रतिबद्धता मात्र बढ्दै गएको देखिएको छ ।

विगत ५ वर्षको तथ्यांकले समेत प्रतिबद्धताको तुलनामा ५१ दशमलव ५९ प्रतिशत कम लगानी भित्रिएको देखाएको छ । एकातिर विभागले लगानी प्रतिबद्धता बढ्दै गएको देखाएको छ भने अर्कोतिर लगानी रकम आउने क्रम घट्दो रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । सँगै विदेशी लगानी स्वीकृति गराई लिइने व्यावसायिक भिसाको समेत दुरुपयोग बढ्दै गएको बताइएको छ ।

पछिल्लो समय नक्कली लगानीकर्ताको संख्या बढ्दै गएकाले उनीहरूलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । ‘केही लगानीकर्ता लगानी स्वीकृत गरी भिसा लिन्छन्, त्यसको अवधि सकिएपछि पुनः नयाँ परियोजनामा लगानी स्वीकृत गराई भिसा लिन्छन्,’ उनले भने, ‘यसरी उनीहरूको नियत भिसा लिने मात्र देखियो । एउटै व्यक्तिले पाँच पटकसम्म लगानी स्वीकृत गरी भिसा लिएको देखिएको छ । तर ती व्यक्तिले हालसम्म लगानी ल्याएका छैनन् ।’

बर्सेनि प्रतिबद्धताभन्दा कम लगानी भित्रिएको विभाग र राष्ट्र बैंकको तथ्यांकले नै देखाएको छ । आर्थिक वर्ष ०७४/७५ मा प्रतिबद्धताको तुलनामा ६७ दशमलव ५८ प्रतिशतले कम लगानी भित्रिएको छ । आर्थिक वर्ष ०७५/७६ मा ३३ दशमलव ४१, आर्थिक वर्ष ०७६/०७७ मा ४८, आर्थिक वर्ष ०७७/०७८ मा ३७ दशमलव ९४ र गत आर्थिक वर्षमा ५४ दशमलव ८८ प्रतिशतले कम विदेशी लगानी भित्रिएको हो ।

चालु आर्थिक वर्षको साउन–भदौ–असोजमा १९ वटा लगानी स्वीकृत हुँदा २ अर्ब २४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको विभागको तथ्यांक छ । राष्ट्र बैंकका अनुसार साउन–भदौमा ९ करोड ९७ लाख मात्रै एफडीआई भित्रिँदा १ अर्ब ८० करोड ७ लाख पुरानो विदेशी लगानी बाहिरिएको छ । यसरी भदौसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।

यसै क्रममा विभागले गत शुक्रबार सूचना जारी गर्दै व्यावसायिक भिसा सिफारिसमा केही सर्त राखेको छ । यसअघि विदेशी लगानी स्वीकृत हुनासाथ ३ महिना र त्यसपछि प्रगतिका आधारमा १ वर्षका लागि भिसा दिने गरिएको थियो । तर, अब प्रमाणका आधारमा प्रगति देखिएकालाई मात्र व्यावसायिक भिसाको सिफारिस गर्ने विभागले जनाएको छ ।

अब लगानी स्वीकृत गराई ३ महिना भिसा लिइसकेपछि पुनः आवेदन दिँदा कम्पनी दर्ताको प्रमाणपत्रसमेत पेस गर्नुपर्ने विभागले जनाएको छ । यी प्रक्रिया पूरा भए थप ३ महिनाको भिसा सिफारिस गरिने सूचनामा उल्लेख छ । लगत्तै तोकिएको समय सकिएपछि पुनः भिसाको आवेदन दिन उद्योग दर्ता गरेको पेस भए थप ६ महिना वा उद्योग दर्ताका सम्बन्धमा भएको प्रगति विवरण सन्तोषजनक भए थप ३ महिनाका लागि व्यावसायिक भिसा सिफारिस गर्ने व्यवस्था गरेको छ । उक्त अवधिमा उद्योग दर्ता गरे विदेशी लगानीको प्रक्रिया सुरु गर्नुपर्ने सर्त राखेर मात्रै भिसा सिफारिस गर्ने विभागको भनाइ छ ।

प्रस्तावित विदेशी लगानी नभित्र्याएसम्म स्वीकृत नयाँ विदेशी लगानीका आधारमा पुनः व्यावसायिक भिसा सिफारिस नगरिने विभागको निर्णय छ । त्यसपछिको हकमा विदेशी लगानी तथा हस्तान्तरण नियमावली, ०७७ को नियम ९ बमोजिमको लगानी भित्र्याएपछि मात्र थप व्यावसायिक भिसा दिइने विभागले जनाएको छ । यसअघि व्यावसायिक भिसा लिई अवधि थप्न आवेदन दिनेको हकमा समेत तोकेको प्रावधानअनुसारका सर्त राखी सामञ्जस्य कायम गरिने सूचनामा उल्लेख छ ।

एकातिर विदेशी लगानी प्रतिबद्धता बढेको भनिरहँदा अर्कोतिर त्यति नै लगानी नभित्रिएकाले प्रतिबद्धता र भित्रिएको लगानीबीच धेरै ‘ग्याप’ देखिएको महानिर्देशक तिवारीले बताए । ‘पहिला हामीले लगानी स्वीकृत हुनासाथ तीन महिना र त्यसपछि प्रगतिका आधारमा एक वर्षसम्मका लागि भिसा दिने प्रावधान थियो । तर कस्तो प्रगति भनेर व्याख्या गरिएको थिएन,’ उनले भने, ‘लगानीकर्ताले काम गर्दै छु भन्नेलाई एकैपटक वर्ष दिनको भिसा दिने अभ्यास बस्यो । सोध्दा काम गर्दै छु भन्ने तर नगर्ने भयो । हामीले वास्तविक लगानीलाई प्रोत्साहन गर्ने नै हो । पहिला जस्तो मुखले भनेर हुँदैन । अब काम गरिरहेको प्रमाण नै चाहिन्छ ।’

मुलुकमा विदेशी लगानी नभित्रिनुका धेरै कारण रहेको नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत उद्योग समितिका सभापति भरतराज आचार्य बताउँछन् । ‘मुलुकमा अझै व्यावसायिक वातावरण बन्न सकेको छैन । लगानी स्वीकृत गर्नै एक महिना लाग्छ । उद्योग दर्ता प्रक्रिया लामो छ । एकल बिन्दु सेवा केन्द्रसमेत राम्ररी सञ्चालन भएको छैन,’ उनले भने, ‘बाहिरी मुलुकबाट लगानीकर्ता आफ्ना योजनाहरू लिएर आएका हुन्छन् । तर, हाम्रोमा प्रशासनिकदेखि सबै प्रक्रियाले धेरै समय लिन्छन् । त्यसकारण पनि नेपालमा लगानी भित्रिन नसकेको हो ।’

यस्तै भनाइ नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीको पनि छ । ‘पहिलैदेखि नै वैदेशिक लगानी भित्र्याउन झन्झटिला कानुनी प्रक्रिया छन् । संशोधन गर्न संसद्मा पेस भएको छ । तर, पहिला संसद्को अवरोध त्यसपछि निर्वाचन प्राथमिकतामा परेपछि पास हुन सकेन,’ परिसंघको उद्योग समितिका संयोजकसमेत रहेका अधिकारीले भने, ‘वैदेशिक लगानीलाई सहज बनाउन केही प्रावधान संशोधन गरी पास हुने चरणमा गएर अड्किएको छ । ती कानुन सुधार नगरी विदेशी लगानी बढ्दैन ।’ कोभिडअघि प्रतिबद्धता गरेका कम्पनी तथा लगानीकर्ताहरू पनि कोभिडपछिको अवस्थामा आर्थिक रूपमा अन्तर्राष्ट्रियस्तरबाट आएको मन्दीले गर्दा ‘पर्ख र हेर’ को रणनीतिमा रहेको उनले बताए । ‘पहिला कतिपय कानुनी प्रक्रियाले गर्दा प्रतिबद्धताअनुसार लगानी आउन सकेन ।

प्रकाशित : कार्तिक २५, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

सगरमाथा आधारशिविर पैदल जाने बढे

दोलखाको जिरीसम्म सवारी साधन प्रयोग गर्ने पर्यटकले त्यसपछि सगरमाथा आधार शिविरसम्म पैदल मार्ग रोज्ने गरेका छन्
कान्तिपुर संवाददाता

रामेछाप — उत्तरी रामेछापको शिवालय हुँदै पैदल मार्गबाट सगरमाथा आधारशिविरतर्फ जाने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ । कोरोना महामारीका कारण गएका केही वर्ष न्यून संख्यामा मात्र रामेछाप हुँदै विदेशी पर्यटक सगरमाथातर्फ गएका थिए ।

गौरीशंकर संरक्षण क्षेत्रको शिवालय चेकपोस्टमा राखिएको तथ्यांकअनुसार गत सेप्टेम्बरमा २५, अक्टोबरमा १ सय ५९ र नोभेम्बरमा हालसम्म ७३ गरी २ सय ५७ जना पर्यटक रामेछापको शिवालय हुँदै सगरमाथातर्फ गएका छन् । गत वर्ष सोही अवधिमा ३६ जना विदेशी पर्यटकले मात्र उक्त पैदल मार्ग प्रयोग गरेका थिए ।

दोलखाको जिरीसम्म सवारीसाधन प्रयोग गर्ने पर्यटकले त्यसपछि सगरमाथा आधार शिविरसम्म पैदल मार्ग रोज्ने गरेका छन् । कोरोनाले विदेशी पर्यटकको आगमनमा आएको कमीका कारण उक्त पदमार्ग सुनसान थियो ।

सोलुको लुक्लाका लागि निजी क्षेत्रका हवाई कम्पनीले उडान गर्न थालेपछि धेरैजसो पर्यटक काठमाडौंबाट सीधै जहाजमा लुक्ला पुग्न थालेपछि खचाखच पैदल यात्रु हुने उक्त पदमार्गमा विदेशी पर्यटक घट्ने क्रम सुरु भएको हो ।

हवाई यात्राभन्दा पैदल यात्रा गरेर पर्यटन गर्दै केही दिन लगाएर सोलु पुग्ने पर्यटकले भने अझै पनि यो मार्ग नछाडेको स्थानीय आङनिमा शेर्पाले बताए । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने नुम्बुर चिज सर्किटसमेत विदेशी पर्यटकका लागि खुला छ । तर उक्त सर्किटमा भने यो वर्ष कुनै पनि विदेशीले पैदल यात्राका लागि अनुमति नलिएको संरक्षण क्षेत्रकी अरुणिमा कार्कीले जनाइन् ।

प्रकाशित : कार्तिक २५, २०७९ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×