टेलिकमले मागेजति सबैलाई ई-सिम वितरण गर्ने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेलिकमले मागेजति सबैलाई ई-सिम वितरण गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले अब मागेजति सबैलाई ई–सिम वितरण गर्ने भएको छ । मंगलबारदेखि विभिन्न स्थानबाट टेलिकमको ई–सिम वितरण गरिने भएको छ । हालसम्म सुन्धारास्थित नेपाल टेलिकममको ग्राहक सेवा केन्द्रबाट मात्र ई–सिम दिइँदै आएको थियो । मंगलबारदेखि टेलिकमका अन्य ग्राहक सेवा केन्द्रहरूबाट पनि वितरण गरिने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमका ग्राहकले अब नक्साल, चाबहिल, थिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालय तथा ग्राहक सेवा केन्द्र, पुलचोकबाट ई–सिम प्राप्त गर्न सक्नेछन् । यथेष्ट संख्यामा ई-सिम मौज्दात रहेकाले सेवाग्राहीको माग बमोजिम उपलब्ध गराइने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । भदौ ३१ मा वितरण सुरु गर्दा दिनमा ५० जनालाई मात्र ई–सिम दिइएको भन्दै लाइन बसेका थुप्रै सेवाग्राही खिन्न भएका थिए । ग्राहकको अत्यधिक रूचि र मागलाई मध्यनजर गर्दै थप सुविधाका लागि विभिन्न स्थानबाट ई–सिम वितरण गर्न लागेको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले हाल निःशुल्क रूपमा ई–सिम (इम्बेडेड सिम) वितरण गरिरहेको छ । मोबाइल सेटमा ई–सिम इन्स्टल गर्न क्यूआर कोडमार्फत् स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले, सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि केन्द्रमा जान टेलिकमले आग्रह गरेको छ। आइफोन र एन्ड्रोइड मोबाइल फोनकोे सेटिङमा भएका विभिन्न अप्सन हेरेर ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डाटा प्लान देखियो भने त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने थाहा हुन्छ ।

भाैतिक पोस्टपेड र प्रिपेड सिम चलाइरहेकाले निःशुल्क ई–सिमका रुपमा परिवर्तन गर्न सक्नेछन् । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने भनिएको छ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

प्रकाशित : आश्विन ३, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्

नेसपाका ५ जना नेता माओवादीबाट समानुपातिक उम्मेदवार 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सिफारिसबाट नेपाल समाजवादी पार्टी(नेसपा)बाट ५ जनाको नाम समानुपातिकको बन्दसूचीमा राखेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले हँसिया हथौडा चुनाव चिह्न लिएर लड्ने भएकाले भट्टराईको सिफारिसका ५ जनाको नाम समानुपतिक सूचीमा राखिएको जानकारी दिए । 

भट्टराईको सिफारिसमा गंगानारायण श्रेष्ठसहित पाँच जनाको नाम सिफारिस भएको हो । श्रेष्ठले पनि उक्त कुराको पुष्टि गरेका छन् ।

माओवादी महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षमान पुन र गिरिराजमणि पोखरेल तथा गंगानारायण श्रेष्ठलगायतका नेताहरू समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।

आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित : आश्विन ३, २०७९ १८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×