५ वर्षभित्र नेपालमा ३ हजार मेगावाट विद्युत्‌ माग हुन्छ : कुलमान घिसिङ

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी ५ वर्षभित्र नेपालमा ३ हजार मेगावाट विद्युत्‌को माग हुने बताएका छन् । 

५ वर्षभित्र नेपालमा ३ हजार मेगावाट विद्युत्‌ माग हुन्छ : कुलमान घिसिङ

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको 'पावरप्वइन्टदेखि पावरलाइन्ससम्म' शीर्षकको सत्रमा बोल्दै घिसिङले आगामी केही वर्षभित्रमै नेपालमा ३ हजार मेगावाट विद्युत्‌को माग हुने बताएका हुन् ।

कन्क्लेभमा बोल्दै उनले अहिले घरेलु उपयोगमा माग बढिरहेको बताएका हुन् ।

एक वर्षभित्र हामी बांग्लादेशलाई सांकेतिक रूपमा भए पनि ५० देखि १०० मेगावाटसम्म विद्युत् निर्यात गर्नेछौं । त्यसको प्रक्रिया सुरु भएको छ ।

यसका साथै एक वर्षभित्र बांग्लादेशलाई सांकेतिक रूपमा भए पनि ५० देखि १०० मेगावाटसम्म विद्युत् निर्यात गर्ने अवस्थामा नेपाल पुग्ने भन्दै उनले त्यसको प्रक्रिया सुरु भइसकेको बताए ।

'हाम्रो अहिले क्षमता भनेको २२०० मेगावाट हो । हामीले अहिले ४०० मेगावाट विद्युत् निर्यात गरिरहेका छौं । ट्रान्समिसन कनेक्टिभिटी ४०० केभीएको छ भने ७ वटा १३२ केभीएको लाइन छ । अहिले भारतलाई २ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने हाम्रो अवस्था छ । एक वर्षपछि यो क्षमता वृद्धि भएर ४५ सय मेगावाटसम्म पुग्छ । हामीले वर्ष दिनभित्रै एउटा ४ सय केभीए र एउटा १३२ केभीए ट्रान्समिसन लाइन निर्माण पूरा गर्ने लक्ष्य राखेका छौं,' उनले भने ।

अर्को ५ वर्षमा हाम्रो उत्पादन क्षमता करिब १३ हजार मेगावाट पुग्छ भन्ने अनुमान गरिएको भन्दै निर्देशक घिसिङले लम्की बेरली र इनरुवा पुर्णिया ट्रान्समिसन लाइन निर्माण कार्य अर्को एक-दुई वर्षमा सुरु हुने बताए ।

'सन् २०२६-२७ सम्ममा निर्यात गर्नका लागि हामीसँग मनग्गे ट्रान्समिसन क्षमताको विकास हुन्छ । पाइपलाइनमा हामीसँग धेरै परियोजनाहरू भएकाले त्यसबेलासम्ममा ७ हजार मेगावाटसम्म विद्युत् उत्पादन हुने देखिन्छ । त्यो समयमा हाम्रो आन्तरिक आवश्यकता ३ हजार मेगावाटसम्म पुग्न सक्छ । बाँकी हामीले निर्यात नै गर्ने हो,' उनले भने ।

अहिले नेपालले मासिक ४०० मेगावाट विद्युत् निर्यात गरेर २ अर्ब रुपैयाँसम्म कमाइरहेको भन्दै उनले अहिलेसम्म नेपालले कूल ६-७ अर्ब रुपैयाँ बराबरको रकम कमाइसकेको बताए । '५ वर्षपछिको कुरा गर्ने हो भने हामीले विद्युत् निर्यात गरेर मात्रै २ अर्ब डलर कमाउन सक्छौं; त्योभन्दा बढी पनि हुन सक्छ,' उनले भने ।

'अर्को दुई वर्षभित्रमा सुख्खा सिजनमा पनि हामीलाई आफ्नै उत्पादनले पुग्ने हुन्छ । भारतसँग विद्युत् किन्नुपर्ने बाध्यता हट्ने छ,' उनले भने, 'भारतको सतलज र जीएमआरले बनाउने परियोजना त्यसमा पर्छ । सतलजले करिब २ हजार मेगावाटको परियोजना निर्माण गर्ने छ भने जीएमआरले बनाउने माथिल्लो कर्णालीको विद्युत् बांग्लादेश निर्यात गरिने छ । बांग्लादेशसँग हामीले सम्झौता गरिसकेका छौं । अब हामीले भारत-बांगलादेश-नेपालबीच त्रीपक्षीय सम्झौता पनि गर्ने क्रममा छौं ।'

पछिल्लो ४-५ वर्षयता नेपालको आन्तरिक माग २० प्रतिशतले बढेको भन्दै उने ५ वर्षमा अहिले भइरहेको मागको दोब्बर हुने अनुमान गरिएको बताए । 'घरेलु क्षेत्रमा पनि विद्युत्‌को माग दिनदिनै बढ्दै गएको छ । विद्युतीय गाडीको माग निकै बढेको छ; त्यसले पनि आन्तरिक विद्युतीय मागलाई बढाएको छ,' उनले भने, 'हामीले औद्योगिक र घरेलु प्रयोगका लागि ट्रान्समिसन प्रणाली बनाउनुपर्ने देखिन्छ; त्यो गरिरहेका पनि छौं । काठमाडौं उपत्यकाको मात्रै कुरा गर्ने हो भने पनि यहाँको विद्युतीय प्रणालीलाई भरपर्दो बनाउन आगामी ३-४ वर्षमा ५०-६० बिलियन रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ ।'

प्रकाशित : भाद्र २५, २०७९ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?