ट्वीटरमा पडकास्ट समावेश

भाद्र १०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्वीटरमा अब पडकास्ट सुन्न पाइने भएको छ । यसले स्पेस ट्याबमा पडकास्ट पनि समावेश गर्न लागेको छ । योसँगै माइक्रोब्लगिङ साइट ट्वीटर पडकास्ट एपसमेत बनेको छ । ट्वीटरको स्पेस ट्याबमा हाल प्रयोगकर्ताहरूले लाइभ अडियो संवाद गर्दै आएका थिए । अब यसमा रेकर्डेड र लाइभ संवादका साथै पडकास्ट समावेश हुन लागेको छ । यसबारे ट्वीटरले बिहिबार साँझ जानकारी दिएको थियो । स्पेस ट्याबलाई पुनः निर्माण गरेर यसमा नयाँ फिचर राख्न लागिएको छ ।

तुरुन्तै लागू गरिने भनिएको यो फिचरमा सुरुमा अंग्रेजी भाषाका पडकास्ट मात्रै उपलब्ध हुनेछन् । ट्वीटर र पडकास्ट एक–अर्कालाई सुहाउँदो हुने अपेक्षा गरिएको छ । कम्पनीका सिनियर प्रोडक्ट म्यानेजर इभान जोन्सका अनुसार ट्वीटरका ४५ प्रतिशत प्रयोगकर्ता पडकास्टका स्रोता हुन् । ट्वीटर समाचारमुखी भएकाले यसमा पडकास्ट उपलब्ध हुनु अर्थपूर्ण हुने बताइन्छ ।

ट्वीटरले पडकास्ट ट्याब परीक्षण गरिरहेकोबारे यसअघि नै हल्ला चलिरहेको थियो । यो कुरा अहिले आएर साँचो साबित भएको छ । यद्यपि, कम्पनीले छुट्टै पडकास्ट ट्याब बनाउनुकाे सट्टा स्पेस ट्याबमै पडकास्ट राख्ने निर्णय गरेको छ । ‘हामीले विभिन्न आइडियाहरूमा परीक्षण गरिरहेका छौं,’ जोन्सले द भर्ज मिडियासँग भनेका छन्, ‘अहिलेलाई यो आइडिया अघि आयो ।  पडकास्टहरू एक न एक दिन स्पेसको अंश हुने नै थिए ।’


ट्वीटर पडकास्टको दुनियाँमामा प्रवेश गरिरहँदा फेसबुकले भने हालै पडकास्ट सेवा बन्द गरेको छ । पडकास्ट सार्वजनिक गरेको एक वर्षपछि फेसबुकले सेवा बन्द गरेको हो । यसले साउन्डबाइट्स र अडियो हब सुविधा पनि हटाइसकेको छ । मेटाले अडियोभन्दा सर्ट–भिडियोहरूलाई प्राथमिकता दिन थालेको छ । यसमा टिकटकसँग फेसबुक, युट्युब, स्न्यापच्याट लगायत मिडियाले प्रतिस्पर्धा गरिरहेका छन् ।

सामाजिक सञ्जालमा सर्ट भिडियोको लहर चलिरहेका बेला ट्वीटरले भने आफ्नो सर्ट–भिडियो फिचर बन्द गरिदिएको छ । यसका प्रयोगकर्ताले यो फिचर खासै प्रयोग गरेनन् पनि । तसर्थ, ट्वीटर अब अडियोतर्फ लागेको छ ।

कान्तिपुर

Link copied successfully