कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जग्गाको मूल्यांकन कतै बढ्यो, कतै उस्तै

भक्तपुरको अरनिको राजमार्गसँग जोडिएको जग्गाको मूल्य आनामै ९ लाख २४ हजार रूपैयाँसम्म बढेको छ
सीमा तामाङ

काठमाडौँ — उपत्यकाका ५ वटा मालपोत कार्यालयले आर्थिक वर्ष ०७९/८० का लागि घरजग्गाको थैली अंक (न्यूनतम मूल्यांकन) बढाएका छन् । मालपोत कार्यालय कलंकी र साँखु, भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर, लगनखेल र मालपोत कार्यालय गोटीखेलले न्यूनतम मूल्यांकन बढाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

जग्गाको मूल्यांकन कतै बढ्यो, कतै उस्तै

चालु आर्थिक वर्ष मालपोत कार्यालय चाबहिल, भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार, मालपोत कार्यालय टोखा र मनमैजुले भने गत वर्षको मूल्यांकनलाई नै निरन्तरता दिएका छन् ।

सबैभन्दा धेरै मूल्य बढाउने भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर हो । भक्तपुर नगरभित्र पर्ने अरनिको राजमार्गसँग जोडिएको जग्गाको मूल्य प्रतिआना ९ लाख २४ हजार रुपैयाँसम्म बढेको छ ।

गत वर्ष प्रतिआना २३ लाख ७६ हजार रुपैयाँ रहेको उक्त ठाउँको जग्गाको मूल्य आर्थिक वर्ष ०७९/८० को लागि प्रतिआना ३३ लाख रुपैयाँ छ । मालपोत कार्यालयले एकै पटक झन्डै ३९ प्रतिशत हाराहारीमा मूल्य बढाएको छ । भक्तपुरभित्रका ४ वटा नगरपालिकाभित्र सबैभन्दा बढी भक्तपुरमा बढेको छ । सल्लाघारी चोकदेखि दूधपाटी चोकसम्म, जगाती–च्यामासिङ–पसिखेल सडकदेखि कमलविनायकसम्म, सल्लाघारी चोकदेखि दुवाकोट छुट्टिने खस्याङखुसुङसम्म प्रतिआना २० लाख रुपैयाँ पुर्‍याइएको छ । गत वर्ष उक्त ठाउँको न्यूनतम मूल्यांकन प्रतिआना १३ लाख २८ हजार थियो । नगरकोट सडक (सल्लाघारी चोकदेखि देकोचासम्म) गत वर्ष प्रतिआना १२ लाख रहँदा यस वर्ष २० लाख पुर्‍याइएको छ ।

कार्यालयले मध्यपुर थिमि नगरभित्रका वडा १, २ र ३ का अरनिको राजमार्गसँग जोडिएको जग्गाको दायाँ–बायाँ गत वर्ष प्रतिवर्गमिटर ८७ हजार २ सय हुँदा यस वर्ष ९५ हजार ९ सय पुर्‍याएको छ । मध्यपुरकै वडा नम्बर ८ र ९, ४, ५, ६ मा गत वर्ष प्रतिआना २३ लाख ७६ हजार थियो । यस वर्षका लागि प्रतिआना २६ लाख १३ हजार ६ सय रुपैयाँ रहेको कार्यालयले जनाएको छ । सूर्यविनायक नगरभित्र ५, ६ र ८ मा प्रतिआना २८ लाख ७५ हजार कायम छ । गत वर्ष भने यहाँ प्रतिआना २६ लाख १३ हजार ६ सय रुपैयाँ थियो ।

भूमि सुधार तथा मालपोत कार्यालय लगनखेलको कार्यक्षेत्रभित्र पर्ने ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र वाग्मती गाउँपालिकाले जग्गाको न्यूनतम मूल्यांकन बढाएका छैनन् । तर कोन्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकाले भने जग्गा र बाटोको प्रकृति हेरी प्रतिआना १० हजारदेखि १ लाख रुपैयाँसम्म बढाएका छन् । गोदावरी नगरपालिका–१ भित्र कालोपत्र सडकमा गत वर्ष प्रतिआना ५ लाख ५० हजार रुपैयाँ न्यूनतम मूल्यांकन रहँदा यस वर्ष ६ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

यस्तै सहायक कालोपत्र सडकमा गत वर्ष प्रतिआना ४ लाख थियो । यस वर्ष भने ४ लाख ५० हजार रुपैयाँ पुर्‍याइएको छ । कार्यालयले गोदावरी नगरपालिकाका सबै ठाउँको मूल्य बढाएको छ । कोन्ज्योसोम गाउँपालिकाको नल्लु क्षेत्रमा पिच मोटर बाटो प्रतिरोपनी ४ लाख ४० हजार रुपैयाँ न्यूनतम मूल्यांकन तोकिएको छ । सोही ठाउँमा गत वर्ष प्रतिरोपनी ४ लाख रुपैयाँ कायम थियो । कच्ची मोटर बाटोमा गत वर्ष प्रतिरोपनी ३ लाख ५० हजार थियो । यस वर्ष भने ३ लाख ७५ हजार पुर्‍याइएको छ ।

कलंकी मालपोत कार्यालयभित्र पर्ने काठमाडौं महानगरका वडा १३, १४, १५ र नागार्जुन नगरपालिकाले जग्गाको मूल्यांकन बढाएका छैनन् । तर अन्य पालिकाको भने मूल्य बढाएका छन् । कीर्तिपुर नगरपालिकाको सीता पेट्रोल पम्प, ट्याङ्ला चोक, कीर्तिपुर स्विमिङ पुल हुँदै कीर्तिपुर चक्रपथसम्म प्रतिआना ७ लाख ७० हजार रुपैयाँ मूल्यांकन छ ।

गत वर्ष यही ठाउँको मूल्यांकन प्रतिआना ७ लाख रुपैयाँ थियो । कीर्तिपुर चक्रपथ सडकको ९ नं वडा कार्यालय, तगः ओपी, पा, दोबाटो, लोकतान्त्रिक चोक हुँदै बर्खा हिटी, नगरपालिकाको भवन निर्माण स्थलसम्म तथा लोकतान्त्रिक चोकदेखि कीर्तिपुर गेटसम्मका जग्गाको मूल्य प्रतिआना १६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष प्रतिआना १४ लाख ८५ हजार थियो । यस्तै पाँगा चोकदेखि हनुमान घाटसम्म गत वर्ष प्रतिआना १२ लाख रुपैयाँ थैली अंक हुँदा यस वर्ष १३ लाख २० हजार रुपैयाँ पुगेको छ ।

चन्द्रागिरिमा प्रतिआना ११ हजार रुपैयाँदेखि १ लाख ६५ हजार रुपैयाँसम्म बढेको छ । चन्द्रागिरि नगरभित्र त्रिभुवन राजपथले छोएको दायाँ–बायाँ प्रतिआना १८ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यहाँ प्रतिआना १६ लाख ५० हजार रुपैयाँ थियो । दक्षिणकाली नगरभित्र प्रतिआना ३ हजारदेखि ५० हजार रुपैयाँसम्म मूल्य बढाएको छ । दक्षिणकाली नगरको मूल सडकमा गत वर्ष प्रतिआना ५ लाख हुँदा यस वर्ष ५ लाख ५० हजार पुगेको छ ।

मालपोत कार्यालय साँखुले पनि प्रतिआना ५० हजार रुपैयाँभन्दा धेरै मूल्य बढाएको छ । साँखु कार्यालयअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिकाका केही भाग र शंखरापुर नगरपालिका पर्छन् । कागेश्वरी चक्रपथ मूल कालोपत्र सडकको भद्रवासदेखि गागलफेदी सिमानासम्म र मूल कालोपत्र सडक गाउँपालिका भवनदेखि वाग्मती खोलासम्म प्रतिआना ७ लाख ५० हजार पुर्‍याइएको छ । गत वर्ष भने यहाँ प्रतिआना ६ लाख ५० हजार रुपैयाँ थियो ।

इन्द्रायणी गाविसअन्तर्गत साँखु जाने मूल कालोपत्र बाटोका जग्गा १२ लाख ५० हजार रुपैयाँ हुँदा यस वर्ष प्रतिआना १३ लाख ५० हजार रुपैयाँ छ । गागलफेदीअन्तर्गत कागेश्वरी चक्रपथ मूल कालोपत्र सडकसँग जोडिएका जग्गामा प्रतिआना ७ लाख ५० हजार कायम गर्दा गत वर्ष ६ लाख ५० हजार रुपैयाँ थियो ।

मालपोत कार्यालय गोटीखेलले प्रतिआना ३ हजारदेखि ३० हजार रुपैयाँसम्म बढाएको छ । गोटीखेल मालपोत कार्यालयले चन्दनपुर, ठूलादुर्लुङ, गोटीखेल, बुखेल, मानिखेल, साँखुलगायत क्षेत्रमा न्यूनतम मूल्यांकन बढाइएको छ । उक्त कार्यालयले गिम्दीमा भने यथावत् नै राखेको छ । सामान्यतया गत वर्षको मूल्यमा २० देखि २५ प्रतिशतसम्म बढाउने गरिएको विभागका जग्गा प्रशासन शाखाका प्रमुख महेश भट्टराईले जनाए । ‘वर्षमा यति नै बढाउने/घटाउने भन्ने छैन, सामान्यतया २०/२५ प्रतिशतसम्म बढाउने गरिएको छ,’ उनले भने, ‘सम्बन्धित ठाउँमा हुने कारोबार हेरेर जग्गाको न्यूनतम मूल्य बढाउने हो ।’

प्रकाशित : भाद्र १, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?