मजदुरको पारिश्रमिक वृद्धिपछि अघि बढ्यो सुनकोसी मरिण डाइभर्सनको काम - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मजदुरको पारिश्रमिक वृद्धिपछि अघि बढ्यो सुनकोसी मरिण डाइभर्सनको काम 

राजकुमार कार्की

सिन्धुली — मजदुरहरुको पारिश्रमिक वृद्धिपछि सुनकोसी–मरिण डाइभर्सनको काम अघि बढेको छ ।  सरकारी जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक पाउनुपर्ने लगायतका माग राख्दै एक सातादेखि सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काार्यरत मजदुर आन्दोलित  थिए । ठेकेदार कम्पनीले मजदुरको न्यूनतम पारिश्रमिक दैनिक ३० रुपैयाँ बढाएपछि आन्दोलन स्थगित भएर आइतबारबाट काम सुरु भएको हो ।

सुनकोसी मरिण डाइभर्सनअन्तर्गत सुरुङ मार्गको ठेक्का लिएको चाइनिज कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभ्याक)का जनसम्पर्क अधिकृत जनक विकका अनुसार अर्धदक्ष मजदुरले ८ घण्टा काम गरेबापत पाउँदै आएको ५८० रुपैंयाँमा ३० रुपैयाँ बढाएर ६१० कायम गरिएको छ । त्यस्तै दक्ष मजदुरको हकमा ७५० मा ३० बढाएर ७८० रुपैयाँ बनाइएपछि आन्दोलनरत पक्ष र ठेकेदार कम्पनीबीच सहमति भएको हो । जिल्ला दररेटमा भने अर्धदक्ष कामदारको ७५० र दक्षको एक हजार पारिश्रमिक छ ।

आन्दोलनरत मजदुरहरुले १० वटा माग राखेकोमा मुख्य पारिश्रमिक वृद्धि थियो । अन्य मागहरु कम्पनीले यसअघि नै सम्बोधन गरिसकेको जनसम्पर्क अधिकृत विकको दावी छ । कमलामाई नगरपालिका २ को कुसुमटारमा सुरुङ खन्नको लागि प्रवेश मार्गमा पाँचसय भन्दा बढि नेपाली मजदुरहरु कार्यरत छन् ।

आयोजना प्रमुख मित्र बरालका अनुसार ठेकेदार कम्पनी, आयोजना, स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच वार्ता भई सहमति भएसँगै काम अगाडि बढेको छ । ‘सुरुङ खन्नमा प्रयोग हुने टीबीएम मेसिनको प्लेटफर्म जडान भइरहेको छ,’ उनले भने, ‘अब दुई महिनाभित्रमा सुरुङ खन्ने कामको थालनी हुन्छ ।’ सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराईका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ मेगावाट विद्युत् समेत उत्पादन गर्ने आयोजनाको उद्देश्य छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणसँगै अन्य संरचनाको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिएको छ । आयोजना आर्थिक वर्ष २०८२/८३ सम्ममा सक्ने लक्ष्य छ । सुनकोसीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । बहुउद्देश्यीय आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान छ ।


प्रकाशित : श्रावण २२, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

गठबन्धनमा सामेल हुन लोसपालाई देउवाको प्रस्ताव

मधु शाही

काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा सामेल हुन प्रस्ताव राखेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार बालुवाटार पुगेका लोसपाका शीर्ष नेताहरुलाई उक्त प्रस्ताव राखिएको वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

आफूहरुले पनि बाँकी माग पूरा भए गठबन्धनमा बस्ने विषयमा सकारात्मक रहेको बताएका नेता महतोले कान्तिपुरलाई जानकारी दिए ।

'गठबन्धन र चुनावका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग भेटवार्ता भयो । गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीजीले प्रस्ताव गर्नुभयो । हाम्रा मागहरु पूरा हुन्छ भने लोसपा गठबन्धन वा चुनावी तालमेलका लागि सकारात्मक रहेको जवाफ दियौं,' नेता महतोले भने ।

लोसपाले तराईका नागरिकको नागरिकताको समस्या समाधान गर्नुपर्ने, विभिन्न आन्दोलनका क्रममा झुट्टा मुद्दा लागेका कार्यकर्तालाई रिहा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । ती मागमध्ये नागरिकता विधेयक संसद्‌बाट पारित भइसकेको छ ।

नेता महतोले भने, 'नागरिकता विधेयक त प्रतिनिधिसभाबाट पारित भइसकेको छ । हाम्रा नेता, कार्यकर्तामाथि लागेका मुद्दा फिर्ताबारे पनि प्रधानमन्त्रीजी सकारात्मक देखिनुभएको छ ।' सत्तामा सहभागी नभए पनि लोसपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेको छ ।

सत्तारुढ गठबन्धनमा अहिले कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । जसपाबाट फुटेर बनेको लोसपा र भर्खरै पुनर्गठन भएको बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा सामेल गराउने सत्ता पक्षको प्रयास देखिन्छ ।

स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन तालमेलसहित नेकपा एमाले-राप्रपाको गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएको थियो । आउँदो मंसिर ४ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेल गरेर चुनाव लड्ने गठबन्धनले निर्णय गरिसकेको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×