आयल निगमले भन्यो : हाललाई पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

आयल निगमले भन्यो : हाललाई पेट्रोलियम पदार्थको मूल्य घटाउँदैनौं

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेकाले मूल्य यथावत राखिएको जनाएको छ । 

भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो । निगमका लागि सो मूल्य घटेर आएपछि हाल उसलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । यो बक्यौता रकम भुक्तानी गर्दै क्रमश: पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्नुपर्ने दायित्व रहेको रहेको भन्दै निगमले यो पटक मूल्य नघटाउने स्पष्ट पारेको छ । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।



प्रकाशित : श्रावण १८, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्

विद्यार्थीमा कोरोना देखिएपछि जुम्लामा विद्यालय बन्द

डीबी बुढा

जुम्ला — विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि जुम्लाको तिला गाउँपालिका ६ स्थित जनजागृती माध्यमिक विद्यालय बन्द गरिएको छ । खोकी लाग्ने,ज्वरो आउने, टाउको दुख्ने लक्षण भएका ८८ नमुना परीक्षण भएकोमा ३ जनामा संक्रमण भेटिएको प्रधानाध्यापक जयलाल रोकायाले जानकारी दिए । ती विद्यार्थीहरु एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले पालिकाको स्वास्थ्य शाखालाई परीक्षणको लागि गरेको थियो । 

वडाध्यक्ष जंगबहादुर रोकायाका अनुसार एन्टिजेन परीक्षणमा एक विद्यार्थी र एक स्वास्थ्यकर्मीलाई कोरोना देखिएको हो । विद्यालयले विज्ञप्ति निकालेर साउन १९ र २० गते विद्यालय बन्द रहने जनाएको हो ।

वडाध्यक्ष रोकायाका अनुसार शिक्षक र विद्यार्थी रुघाखोकी र ज्वरोले ग्रसित छन् । सबै शिक्षक र विद्यार्थी बिरामी भएकोले पठनपाठन प्रभावित बनेको छ । प्रधानाध्यापक रोकायाले विद्यालयमा कोरोना संक्रमण देखिएपछि गाउँमा त्रास फैलिएको बताए । संक्रमित राख्नका लागि क्वारेन्टीनको व्यवस्था छैन । उनले भने,‘आआफ्नो घरमा सुरक्षित रहन भनिएको छ ।’ कोरोना परीक्षणका लागि सबै विद्यार्थीलाई विद्यालयमा बोलाइएको भए पनि गम्भीर बिरामी परेका विद्यार्थी आउन नसकेको उनले बताए ।

जनजागृती मावि घोडेमा २ सय २२ जना विद्यार्थी छन् । कोरोना देखिएपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न थालिएको छ ।

यसअघिको कोरोना महामारीको बेलाका सबै संरचना ध्वस्त भइसकेका छन् । न आइसोलेसन न क्वारेन्टीन । अहिले कोरोना देखिएका बिरामी होम क्वारेन्टीनको नाममा घरमै राखिएको छ । जसका कारण अन्य सँग पनि लसपस बढेकोले कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने स्थानीय बताउँछन् ।

वडाध्यक्ष जंगबहादुर रोकायाले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको बताए । तिला ६ मा ३ गाउँ छन् । उनले भने,‘हरेक विद्यालय र बस्तीलाई कोरोना संक्रमण हुनबाट जोगिन अपिल गरिएको छ । ’

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईंले कोरोना संक्रमित भेटिएको जानकारी पाएको बताइन् । उनले भनिन्,‘जनस्वास्थ्य सेवा कार्यालय जुम्लासँग समन्वय गरेर अघि बढ्दैछौं । त्यहाँको अवस्था बुझ्दैछौं । ’ यसअघि हिमा गाउँपालिकाको महावैपातरखोलामा रहेको विद्यालयमा एक जना संक्रमित भेटिएका थिए ।

प्रकाशित : श्रावण १८, २०७९ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×