सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाता १७ हजार नाघे

योगदानकर्ता साढे ३ लाख
कान्तिपुर संवाददाता

काठमाडौँ — सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाताको संख्या १७ हजार २ सय ३० पुगेको छ । यो गत बिहीबारसम्मको तथ्यांक हो । सोही अवधिमा ३ लाख ४९ हजार २ सय ५२ श्रमिकले कोषमा योगदान गरेका छन् । ती योगदानकर्ताहरुबाट कोषमा गत बिहीबारसम्म २१ अर्ब ५४ करोड योगदान रकम संकलन भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाता १७ हजार नाघे

विभिन्न चार योजनाअन्तर्गत हालसम्म ४८ हजार ५ सय ८६ योगदानकर्तालाई १ अर्ब ७६ करोड ३१ लाख दाबी भुक्तानी गरिएको कोषको तथ्यांक छ । भुक्तानी गरिएको रकममध्ये सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको रहेको बताइएको छ । यो शिर्षक अन्तर्गत २१ हजार ८ सय ७ लाभग्राहीलाई २३ करोड ७२ लाख ३७ हजार ९७२ रुपैयाँ भुक्तानी भएको कोषले जनाएको छ ।

यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ९ सय २१ लाभग्राहीलाई २ करोड ५२ लाख ९२ हजार ४ सय ६९ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबाट ३ हजार ७ सय ५९ लाभग्राहीलाई ३ करोड ७४ लाख ९८ हजार ५७५ रुपैयाँ भुक्तानी गरिएको कोषको तथ्यांक छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ । यद्यपि धेरैभन्दा धेरै अनौपचारिक क्षेत्रलाई समेट्ने भनिएपनि धेरै रोजगारदाता अझै कोषमा दर्ता हुन आएका छैनन् ।

प्रकाशित : श्रावण १५, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?