‘मुस्ताङको आलु’ मेन्यु मात्रै कि मुस्ताङकै हो ?

मुस्ताङले वर्षमा करिब ९ हजार मेट्रिक टन मात्रै आलु उत्पादन गर्छ । जसमध्ये ६० प्रतिशत अर्थात् ५ हजार ४ सय मेट्रिक टन पोखरा र काठमाडौं पुग्छ, त्यो पनि धेरैजसो घरायसीप्रयोजनका लागि । तर, उपभोक्ताको रोजाइमा परेर ब्रान्ड बन्न सफल ‘मुस्ताङको आलु’ मा बजारमा सहजै पाइने ठूला आकारको आलु नै प्रयोग हुने गरेको छ ।

श्रावण ६, २०७९

सीमा तामाङ

काठमाडौँ — प्रायः होटल रेस्टुरेन्टहरूमा पछिल्लो समय अनिवार्य जस्तै भएको एउटा मेन्यु हो ‘मुस्ताङको आलु’ । काठमाडौं उपत्यकाका अधिकांश होटल तथा रेस्टुँराको मेन्युमा कतै ‘मुस्ताङको आलु’ त कतै ‘हिमालयन आलु’ को नाममा यो परिकार अटाएकै पाइन्छ । कारण हो ग्राहकको अधिकतम रोजाइमा पर्नु । टिमुरसमेत राखेर तयार गरिने भएकाले मुखै परररर बनाउने स्वादका कारण यो धेरैको रोजाइमा पर्ने गरेको हो । यसरी होटल तथा रेस्टुराँमा हरेक दिन पाइने यो परिकार बनाउन मुस्ताङमै उत्पादन भएको आलु प्रयोग गरिन्छ त ?

चर्को मूल्य लिइने गरे पनि ‘मुस्ताङको आलु’ ब्रान्ड मात्रै हो । होटल तथा रेस्टुरेन्ट सञ्चालक र सेफहरू नै यो कुरा स्विकार्छन् । कुमारीपाटीस्थित ऐला रेस्टुरेन्टमा कार्यरत एक सेफले ‘मुस्ताङको आलु’ मा बजारमा पाइने ठूला आकारका आलुको प्रयोग हुने गरेको बताए । ‘उक्त परिकारमा हालिने मसला र बनाइने तरिका मात्रै एउटै हो,’ ति सेफले भने, ‘मुस्ताङको आलु त ब्रान्ड मात्रै हो । त्यसमा प्रयोग हुने आलु स्थानीय बजारकै हो । ठूला–ठूला आलूलाई नै त्यस्तो स्वादमा परिणत गरिन्छ ।’

बुद्धनगरस्थित वाग्मती नदी किनारमा रहेको रेल स्टेसन क्याफे एन्ड रेस्टुरेन्टले पनि ‘मुस्ताङको आलु’ परिकार उपभोक्तामाझ पस्किने गरेको छ । तर, त्यसका लागि मुस्ताङमै उत्पादन भएको आलु ल्याउन सम्भव नभएको सञ्चालकमध्येका एक सुदन भण्डारी बताउँछन् । ‘दिनमा १० देखि १५ किलोसम्म आलु खपत हुन्छ तर मुस्ताङमै उत्पादन भएको ल्याउन सम्भव नै छैन,’ उनले भने, ‘यहींका स्थानीय व्यापारीले आलु ल्याइदिन्छन् । त्यो आलु स्थानीय पनि होइन, मुस्ताङको पनि होइन ।’

उपभोक्तामाझ अहिले ‘मुस्ताङको आलु’ आफैंमा ब्रान्ड बनेको छ । तर, ठूला सहरहरूमै बजारमा पाइने सामान्य आलुलाई नै विभिन्न मसलासँग संयोजन गरी परिकार बनाएर महँगोमा बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको छ । ‘मुस्ताङको आलु’ बनाउँदा आलुलाई नगल्ने गरी उसिनेर एकातिर मोटो र अर्कोतिर चुच्चो पारेर काटिन्छ । त्यसमा पिठो लगाई तेलमा ‘डिप फ्राई’ गरिन्छ । छुट्टै अदुवा, लसुन, टिमुरको मिश्रण (पेस्ट) लाई फ्राई गरी तयार गरिएको मसला आलुमा मोलिन्छ । अन्तिममा स्वादअनुसार धनियाँ वा लसुनको पात राखिन्छ । यसैलाई होटल र रेस्टुरेन्टहरू ‘मुस्ताङको आलु’ भन्दै बेच्छन् । जसको मूल्य प्रतिप्लेट २ सयदेखि ४ सय रुपैयाँसम्म लिने गरिन्छ । ‘तर बजारमा उपलब्ध आलु प्रयोग गरेर बनाउँदा त्यसको खर्चबढीमा ५०/६० रुपैयाँ मात्रै लाग्छ,’ ऐला रेस्टुरेन्टका ती सेफले भने ।

नयाँ बानेश्वरस्थित हंगर हब रेस्टुरेन्ट एन्ड बारका म्यानेजर ध्रुव श्रेष्ठ पनि उपत्यकाका सीमित होटलमा सिजनमा मात्रै मुस्ताङमा उत्पादित आलुकै परिकार बन्ने गरेको बताउँछन् । ‘अपवादका रुपमा केही होटलमा मात्रै मुस्ताङको आलु पाइने हो, नत्र सामान्य मुडेलगायत स्थानीय आलु नै हो सबैजसोले प्रयोग गर्ने,’ उनले भने, ‘हाम्रोमा पनि स्थानीय ठूला खालका आलुकै परिकार बन्छ ।’ उत्पादन हुने परिमाणले पनि मुस्ताङको आलु बाह्रैमास बजारमा पाउन सम्भव नभएको देखाउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार जिल्लामा ३०५ हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुन्छ । त्यसमाथि वर्षमा एक पटक मात्रै खेती गरिन्छ । पुसदेखि फागुनसम्म रोपेर असार १५ देखि असोजसम्म आलु भित्र्याइन्छ । यसको मूल्य पनि उत्पादन भएको क्षेत्र (तल्लो र माथिल्लो मुस्ताङ) का आधारमा फरक–फरक हुन्छ । सिजनमा प्रतिकिलो ४० देखि ८० रुपैयाँसम्म बारीबाटै आलु बिक्री हुने किसान बताउँछन् ।

अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा मुस्ताङमा ९ हजार १३८ मेट्रिक टन आलु उत्पादन भएको केन्द्र प्रमुख प्रकाश बास्ताकोटीले बताए । उनका अनुसार करिब ५ हजार ४८३ मेट्रिक टन पोखरा र काठमाडौंमा मात्रै खपत भएको थियो । यसमध्ये पनि धेरै आलु स्थानीय स्वादका पारखीहरूले पहिले नै मगाउने गर्छन् । ‘यहाँ उत्पादन हुने आलुमध्ये ४० प्रतिशत स्थानीयस्तरमै खपत हुन्छ । बाँकी ६० प्रतिशत जिल्ला बाहिर जान्छ,’ उनले भने, ‘मुख्यतः जिल्लाबाहिर पनि घर र होटलमै प्रयोग हुन्छ ।’

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully