३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विभिन्न १० वस्तुको आयातमा भदौ १४ सम्म पूर्ण रोक

१५० सीसीभन्दा माथिका मोटरसाइकल र ३ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयातमा बन्देज

काठमाडौँ — सरकारले विलासिताका वस्तुको आयातमा झनै कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय सरकारले गरेको हो ।

विभिन्न १० वस्तुको आयातमा भदौ १४ सम्म पूर्ण रोक

यसअघि सरकारले २५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । तर साउन १ बाट लागू हुने गरी १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न पाइनेछैन । यसअघि ६ सय डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएको थियो । अब भने ३ सय डलर (शुक्रबारको विदेशी विनियमदर अनुसार ३८ हजार ४ सय रुपैयाँ) भन्दा बढी मूल्यका स्मार्टफोन पनि आयात गर्न पाइनेछैन ।

आयात पूर्ण प्रतिबन्ध लगाइएका वस्तुहरूमा मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक) हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३२ इन्चभन्दा माथिका टेलिभिजन सेट, जिप/कार/भ्यान (एम्बुलेन्स र शववाहनबाहेक) लगायत छन् । त्यसैगरी सबै प्रकारका खेलौना, तास, कुरकुरे, कुरमुरे, लेज तथा यस्तै प्रकृतिका अरू उत्पादनको आयातमा लगाइएको प्रतिबन्धलाई पनि निरन्तरता दिइएको छ । निर्यात रोक्नुअघि गत आर्थिक

वर्ष ०७८/७९ को ११ महिनामा मात्र यी वस्तुको खरिदमा ६५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको भन्सार विभागको तथ्यांक छ ।

पछिल्लो समय विदेशी मुद्रा निरन्तर घट्दै गएपछि सरकारले यी वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तसम्ममा नेपालको कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको छ । जब कि ०७८ असार मसान्तसम्ममा नेपालको विदेशी मुद्रा सञ्चिति करिब १४ खर्ब रुपैयाँ बराबर थियो ।

गत आर्थिक वर्ष ०७८/७९ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग विदेशी मुद्रा सञ्चिति साढे सात महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने रहेको राष्ट्र बैंकले जनाएको छ । मुलुकको भुक्तानी सन्तुलनको अवस्था निरन्तर बिग्रिँदै गएपछि सरकारले गत वैशाख दोस्रो साताबाट यी विभिन्न १० प्रकारका वस्तुको आयातमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो । तर मदिरा र सुर्तीजन्य पदार्थको चोरी पैठारी भइरहेको स्वयं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्विकार्दै आएको छ ।

सरकारले यी विभिन्न १० वस्तुको आयातमा बन्देज लगाए पनि बढी तस्करी हुने सुपारी, केराउ, मरीच जस्ता वस्तुको आयात भने निर्बाध रूपमा खोलिरहेको छ । सरकारले यस्ता वस्तु औद्योगिक प्रयोजनका लागि मात्रै आयात गर्न अनुमति दिए पनि व्यापारिक प्रयोजनका लागि समेत आइरहेको देखिन्छ ।

यी हुन् आयातमा पूर्ण रोक लगाइएका १० वस्तु

· कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

· सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)

· चुरोट तथा सूर्तीजन्यवस्तु (औद्योगिक कच्चा पदार्थ बाहेक)

· हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)

· ३ सय डलरभन्दा बढी मूल्यका मोबाइल

· ३२ इन्चभन्दा माथिका टेलिभिजन सेट

· जीप, कार र भ्यान

· १५० सीसीभन्दा माथिका मोटरसाइकल

· सबै प्रकारका खेलौनाहरु

· खेल्ने तास

प्रकाशित : श्रावण १, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?