काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा र रेमिट्यान्सले मुलुकको व्यापार घाटामा प्रत्यक्ष प्रभाव पारेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले गरेको एक अध्ययनले यस्तो देखाएको छ ।
प्रतिवेदनअनुसार अहिले निजी क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाले एक सय रुपैयाँ कर्जा प्रवाह गर्दा दीर्घकालमा ५० रुपैयाँ बराबरले व्यापार घाटा बढाउने गरेको तथ्य औंल्याएको छ । बिहीबार सार्वजनिक उक्त अध्ययन प्रतिवेदन परिसंघका लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रमेशचन्द्र पौडेलले गरेका हुन् ।
अध्ययनले रेमिट्यान्ससँग पनि मुलुकको व्यापार घाटाको सम्बन्ध जाेडिएको देखाएको छ । रेमिट्यान्सको सम्बन्ध मुलुकको व्यापारसँग ७५ प्रतिशत हाराहारी रहेको प्रतिवेदनले देखाएको छ। रेमिट्यान्स रकमलाई बाध्यकारी रुपमै बचत र लगानीमा लगाउने व्यवस्था गर्नु पर्ने सुझाव समेत अध्ययनले दिएको छ। बचतलाई प्रोत्साहन गर्न ब्याज वा विनिमय दरमा ५ देखि १० प्रतिशत बढी दिन सक्ने, बीमा सुविधा दिन सकिने पनि अध्ययनले उल्लेख गरेको छ ।
