काठमाडौँ — नलिब बैंक र नेपाल बंगलादेश बैंक बीचको मर्जर पूरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिले यी बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेसँगै प्रक्रिया पूरा भएको हो । यद्यपि आजसम्म बैंकहरुले राष्ट्र बैंकको पत्र पाइनसकेको स्रोतले बताएको छ ।
राष्ट्र बैंकको पत्र प्राप्त गरेपछि र कम्पनी राजिष्ट्रारको कार्यालयबाट एउटै कम्पनीको अनुमति ल्याएपछि बैंकले एकीकृत कारोबार सुरु गर्न सक्नेछ । राष्ट्र बैंकको पत्र आजै प्राप्त भए आउँदो दुई साताभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी बैंकको छ। ‘पहिले पत्र प्राप्त होस्, राष्ट्र बैंकले के कस्ता सर्त राखेको छ हेरौं । सबै अवस्था सहज भए आगामी दुई साताभित्रै एकीकृत कारोबार गर्छौं,’ नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले भने, ‘हाम्रो तयारी यही असार २७ (जुलाई ११ तारिख) मा एकीकृत कारोबार सुरु गरौं भन्ने हो ।'
नबिल बैंकले बंगलादेश बैंकको १ सय कित्ता सेयरलाई आफ्नो ४३ कित्ता हुने गरी (१००: ४३) सेयर मिलान अनुपातमा गाभ्न लागेको हो । मर्जरपछि बन्ने नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा बंगलादेशका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना हुने निश्चित भइसकेको छ ।
