भारतमा बिजुली बेच्ने चौथो आयोजना बन्यो मर्स्याङ्दी

४ आयोजनाको २ सय ३४ मेगावट बिजुली भारतलाई बिक्री

काठमाडौँ — नेपालले मंगलबार रातिदेखि मर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली पनि भारतमा बेच्न थालेको छ । मर्स्याङ्दीसहित विभिन्न ४ वटा आयोजनाबाट ५६ सय मेगावाट आवर (करिब २ सय ३४ मेगावाट) बिजुली भारतमा बेचिरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराइले जानकारी दिए ।

भारतमा बिजुली बेच्ने चौथो आयोजना बन्यो मर्स्याङ्दी

त्यस्तै, बिहीबारबाट मध्यमर्स्याङ्दी आयोजनाको बिजुली पनि भारतमा बेच्नका लागि आज बोलकबोलमा भाग लिन लागिएको उनको भनाइ छ ।

यसअघि नेपालले गत शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाटसहित कुल १७७.७ मेगावाट बिजुली भारत निर्यात गर्ने थालिसकेको थियो । मर्स्याङ्दी थपिएसँगै करिब २ सय ३४ मेगावाट बिजुली भारत जान थालेको हो ।

नेपालले इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्नका लागि गतवर्ष कात्तिकमा अनुमति पाएको थियो । गतवर्ष त्रिशूली र देवीघाट जलविद्यु्त् आयोजनाको मात्रै बिजुली भारतले किनेकोमा अहिले मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, कालीगण्डकी र लिखुसमेत गरी कुल ३६४ मेगावाट बिजुली किन्नका भारतले सहमति दिएको छ । लिखुको बिजुली बेच्नका लागि नेपालले अनुमति पाएको भए पनि बेच्न भने थालिसकेको छैन ।

नेपालले बिजुली बेच्न प्रस्ताव गरेका अरु तीन आयोजना माथिल्लो तामाकोसी, माथिल्लो भोटेकोसी र चमेलियाको बिजुली किन्नका लागि भने भारतले हालसम्म स्वीकृति दिएको छैन ।

केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई बिजुली बेच्न थालेको हो । वर्षायाममा नेपालको बिजुली खपत नभएर खेर जाने अवस्था भएपनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।

नेपालले गतवर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो ।

प्रकाशित : जेष्ठ २५, २०७९ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?