‘कुशासन र हचुवाका निर्णयले अर्थतन्त्रमा दुर्घटना निम्त्याउँछ’

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकमा मौलाउँदै गएको कुशासन र हचुवाको भरमा निर्णय गर्ने प्रवृत्तिले दुर्घटना निम्त्याउन सक्ने अर्थशास्त्री एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्लेले बताएका छन् । अहिले नेपालको अर्थतन्त्र र सूचकहरुको अवस्था श्रीलंकाभन्दा राम्रो रहे पनि कुशासन र हचुवाको भरमा निर्णय गर्ने प्रवृति उस्तै देखिएकाले मुलुक संकटको अवस्थामा जाने जोखिम कायमै रहेको उनले बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘नेपाली अर्थतन्त्रको आगामी दिशा’ विषयमा बुधबार राजधानीमा आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । सुपारी, केराउ लगायत वस्तुको आयात खुला गर्ने निर्णय राजनीतिक लाभ र आर्थिक कुशासनकै कारण भएकोतर्फ उनले इंगित गरे । करका दरहरुमा उल्लेख्य कमी गराएपछि राजस्वमा कमी आएकाले सन् २०१९ देखि नै श्रीलंका कमजोर हुँदै गएको उनले बताए । वाग्लेले भने, ‘श्रीलंकाले हचुवाको भरमा करका दरहरू परिर्वतन गर्यो । त्यसले अर्थतन्त्रमा ठूलो असर पुग्यो ।’ पूर्वाधार विकास गर्दा कहाँ लगानी गर्ने भन्ने विषयमा विवेकशील निर्णय हुन नसक्नु र सनकका आधारमा नीतिगत निर्णय लिनु श्रीलंकाको मुख्य समस्या रहेको उनले बताए । वाग्लेले भने, ‘कुशासन र नीतिगत कच्चापनमा नेपाल पनि श्रीलंकाजस्तै हुन थालेका छौं ।’

प्रकाशित : वैशाख २१, २०७९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्

जनमत देखाउन सर्वसाधारण खोसाखोस

‘अघिपछि मतलब नगर्ने नेताहरु हात जोड्न घरमै आइपुग्छन् । गाडीमा राखेर प्रचारमा हिँड्न अनुरोध गर्छन् ।’
ठाकुरसिंह थारु

बाँके — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्नो पक्षमा जनमत देखाउन राजनीतिक दल सर्वसाधारणलाई प्रचारप्रसारमा लैजान खोसाखोस गरिरहेका छन् । सर्वसाधारणलाई प्रचारमा लैजान उम्मेदवारले अटो रिक्सा, मोटरसाइकल, ट्याक्टर र साना सवारी साधनहरु घरमै पठाउने गरेका छन् ।

कुनै पनि दलमा नलागेका सर्वसाधारणहरुलाई दलका उम्मेदवारले आफ्नो पक्षमा ल्याउन कसरत गर्दै आएका छन् । कतिपय सर्वसाधारण एक दिन एउटा र अर्को दिन अर्को पार्टीको प्रचार गरिरहेको देख्न सकिन्छ । प्रचारमा लगिएका सर्वसाधारणलाई उम्मेदवारले चिसो पेय पदार्थ, पानी र बिस्कुट, भेली खुवाउने गरेका छन् ।

त्यस्तै, साँझको समयमा खाजाको व्यवस्था मिलाइएको छ । ‘एउटा पार्टी आउँछ हाम्रो प्रचारमा जानु पर्‍यो भन्छन् । अर्को पार्टी आएर हामीसँग प्रचारमा हिँड्नु पर्‍यो भन्छन्,’ डुडुवा गाउँपालिकाका आशाराम मौर्य भन्छन्,‘अघिपछि मतलब नगर्ने नेताहरु हात जोड्न घरमै आइपुग्छन् । गाडीमा राखेर प्रचारमा हिँड्न अनुरोध गर्छन् ।’

यसअघि बोल्न र नमस्कार गर्न फुर्सद नपाउने नेतालाई चुनाव आएपछि मात्रै सर्वसाधारणको घरदैलौमै पुग्ने गरेका छन् । सर्वसाधारण भने भोट पाएपछि नचिन्ने प्रवृत्ति नदोहोर्‍याउन नेताहरूलाई सुझाव दिइरहेका छन् ।

‘हामी कुनै पनि पार्टीमा लागेका छैनौँ । चुनाव आएपछि भोट दिने गरेका छौँ । अहिले घरमा काम पनि छैन । त्यसैले गाडी लिएर जोकोही आयो भने गाडी चढेर प्रचारमा जान्छौँ,’ बैजनाथ गाउँपालिका पेडारी गाउँका एक सर्वसाधारण भन्छन्, ‘चुनाव आएपछि खुबै रमाइलो भइरहेको छ । गाडी चढ्न पाइएको छ । खाजा पनि सित्तै खाइएको छ ।’

प्रकाशित : वैशाख २१, २०७९ १५:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×