२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेपाल टेलिकमको डाटा प्रयोग गर्नेको संख्या २ करोड ३ लाख

काठमाडौँ — नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ब्रोडब्यान्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशत विन्दुले बढेर ५३.८२ प्रतिशत पुगेको छ । द्रुत गतिको डाटासँगै जीएसएम सेवाको ग्राहक आधार पनि १४.२४ प्रतिशतले वृद्धि भएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको डाटा प्रयोग गर्नेको संख्या २ करोड ३ लाख

बिहीबार टेलिकमको चौधौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको बताए । डाटा सेवामा प्रशस्त ग्राहक बढिरहँदा भ्वाइस सेवाको ग्राहक आधार भने ५.५७ प्रतिशतले मात्रै वृद्धि भएको टेलिकमको तथ्यांक छ ।

‘यस आर्थिक वर्षमा कम्पनीले डाटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि गरेको छ,’ अध्यक्ष अर्यालले भने, ‘प्रविधिमा भएको विकास र परिवर्तनसँगै विश्वमै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा छ ।’ उनका अनुसार टेलिकमले यस पटक ७ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले कर तथा गैर करबापत आफ्नो कुल आयको ५० प्रतिशतभन्दा धेरै रकम अर्थात् २७ अर्ब ७३ करोड रुपैयाँ राजस्व दाखिला गरेको अर्यालको भनाइ छ । ‘यस अवधिमा संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रूपमा नेपाल टेलिकम सरकारद्वारा सम्मानित भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्वाइस र डाटा दुवै सेवामा नेपाल टेलिकम देशको अग्रणी संस्थाको रूपमा स्थापित हुन सफल भएको छ ।’

उपभोक्तालाई सरल, सहज र सुलभ दरमा विविध सेवाहरू उपलब्ध गराउन तथा कम्पनीको राजस्व वृद्धि गर्न वायरलेस प्रविधिको फोरजी एलटीई विस्तार कार्यलाई पूर्णता दिई चाँडै नै फाईभजी सेवाको परीक्षण गर्ने अध्यक्ष अर्यालले कार्यक्रममा बताएका थिए । उनले चालु आर्थिक वर्ष २०७८/७९ मा कार्यान्वयन गरिने प्रमुख कार्यक्रम तथा आयोजनाका बारेमा समेत संक्षिप्तमा प्रकाश पारेका थिए । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका सेयरधनीहरूलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : चैत्र २४, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?