२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

अमेरिकाबाट शाहले ल्याएको लगानी भित्र्याउन सहजीकरण गरिदिएको हुँ : अर्थमन्त्री

अर्थमन्त्रालयकै प्रेस नोटमार्फत आरोपित शाहको प्रतिक्रिया : शर्माको सहयोगप्रति आभार व्यक्त गर्दै उहाँलाई लगाइएको लान्छनाप्रति खेद् व्यक्त गर्दछु

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको रकम राष्ट्र बैंकले रोक्का राखिदिएपछि वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिएको प्रतिक्रिया दिएका छन् । बिहीबार कान्तिपुर दैनिकले ‘अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय’ भन्ने समाचार प्रकाशन गरेपछि त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रेस नोट जारी गरी उक्त प्रतिक्रिया दिएका हुन् ।

अमेरिकाबाट शाहले ल्याएको लगानी भित्र्याउन सहजीकरण गरिदिएको हुँ : अर्थमन्त्री

‘समाचारमा सत्यता नरहेको तर वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने नीतिलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मन्त्री शर्माले बताउनुभएको छ,’ प्रेस संयोजक अजित अधिकारीले जारी गरेको प्रेस नोटमा भनिएको छ । शाहले अमेरिकाबाट ल्याएको १२ लाख डलरको स्रोत अनुसन्धानमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्र बैंकलाई पत्र लेख्दै कसुर/अपराध गरेको स्थापित हुने आधार समेत नदेखिएको उल्लेख गरेका छन् । (अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय)

त्यसपछि बैंक खाताहरु रोक्का राख्नु नपर्ने देखिए पनि बैंक खाताहरु फुकुवा नभएपछि शाहले ११ चैतमा अर्थमन्त्री शर्मासमक्ष निवेदन दिएको उल्लेख गरिएको छ । ‘शाहले निवेदन र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको विभिन्न पत्रसमेत पेश गरेको आधारमा उहाँलाई थप दुःख नदिई बैंक खाता फुकुवा गर्नुपर्ने र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्नुपर्ने निष्कर्षसहित अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई खाता फुकुवा गरिदिन अनुरोध गरेको बताउनुभयो,’ प्रेस नोटमा भनिएको छ ।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शाहको बैंक खाता फुकुवा गर्नू भनी दिएको निर्देशन कार्यान्वयन गर्न राष्ट्र बैंकलाई अनुरोध गरी पठाएको हो’ मन्त्री शर्माले भने । विदेशबाट आएको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति कार्यान्वयन गर्नु आफ्नो दायित्व रहेको उनले बताएका छन् । ‘वैदेशिक लगानीलाई सहजीकरण गरी थप लगानी भित्र्याउने वातावरण बनाउन उहाँले सबैलाई आग्रह पनि गर्नुभएको छ,’ प्रेस नोटमा भनिएको छ ।

अर्थमन्त्रीको प्रेस नोटमार्फत शाहले समेत प्रतिक्रिया दिएका छन् । ‘न्यायका लागि अर्थमन्त्रीलाई अनुरोध गर्दा उहाँलाई अप्ठ्यारो पार्ने गरी यो घटनामा जोडिएकोमा दुःख व्यक्त गर्दछु’ उनले भने ‘मैले दुई महिनादेखि न्यायका लागि धाइरहेको छु । यस क्रममा अर्थमन्त्रीले प्रचलित कानुनअनुसार गरेको सहयोगप्रति म आभार व्यक्त गर्दै उहाँलाई लगाइएको विभिन्न लान्छनाप्रति खेद् व्यक्त गर्दछु ।’

प्रकाशित : चैत्र २४, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?