कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हस्तान्तरण भयो पोखरा विमानस्थल

लालप्रसाद शर्मा

पोखरा — जग्गा अधिग्रहण गरेको ४६ वर्षपछि पोखरामा बल्ल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । चीन सरकारले प्रायः सबै मुख्य संरचना निर्माण सम्पन्न भएको विमानस्थल शनिबार नेपाललाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण भयो पोखरा विमानस्थल

चीनका विदेशमन्त्री वाङ यीले काठमाडौंमा समकक्षी नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गरे । पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी सीएएमसीई र परामर्शदातालाई कदरपत्र प्रदान गरे ।

विमानस्थलको मुख्य संरचना निर्माणको काम सकिएको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । यसैगरी सम्पूर्ण उपकरण र औजारको जडानको काम पनि पूरा भएको छ । एयरसाइडतर्फ २५ सय मिटर रनवे, डोमेस्टिक र इन्टरनेसनल एप्रोन, ह्यांगर, आइसोलेटेड पार्किङ, ट्याक्सी वे, एयरफिल्ड ग्राउन्ड लाइटिङलगायत मुख्य काम सकिइसकेका छन् । बिल्डिङतर्फ टर्मिनल, एटीसी टावर, ह्यांगरलगायत १४ वटा भवन बनेका छन् । सबै संरचना बनेर अहिले फिनिसिङका क्रममा छन् । ‘समग्रमा ९३ प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘निर्माणको काम सकिएकाले सञ्चालन प्रक्रियामा अघि बढेको छ ।’ राष्ट्रिय गौरबको विमानस्थल चीन सरकारको सहुलियतपूर्ण झन्डै २२ अर्ब ऋणमा निर्माण गरिएको हो । आयोजनाको वित्तीय प्रगति भने ७४ प्रतिशत छ । ऋण रकममध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याज र २५ प्रतिशत चीन सरकारको निर्ब्याजी ऋण हो ।

सन् २०२१ जुलाई १० भित्र सक्ने गरी २०७३ वैशाख १ मा विमानस्थलको शिलान्यास गरिएको थियो । तर कोरोनाका कारण आवश्यक उपकरणलगायत सामान आयात र कामदारको समेत अभाव भएपछि एक वर्ष म्याद थपिएको हो । आगामी जुलाई १० भित्र बाँकी काम पनि सकिने मुनकर्मीले बताए ।

विमानस्थलमा बाढीको व्यवस्थापन, रिट्ठेपानी डाँडा काट्ने र पोखरा महानगरको ल्यान्डफिल साइट सार्ने चुनौती छन् । रिट्ठेपानी डाँडा छिट्टै कटान सुरु हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइ छ । चार महिनाभित्र ल्यान्डफिल्ड साइट नसारिए विमानस्थल सञ्चालनमा नआउने उनले स्पष्ट पारे । ‘डाँडा काटेपछि परीक्षण उडान हुनेछ,’ उनले भने, ‘तर ल्यान्डफिल्ड साइड नसारिए उडान अनिश्चित हुन्छ ।’ ल्यान्डफिल साइट हटाउन पोखरा महानगरले स्थान हेरिरहेको भए पनि अझै यकिन हुन सकेको छैन ।

सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो । नेपाल सरकार र प्राधिकरणबीच २०१६ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह गर्‍यो । २०१७ जुलाई ११ बाट काम सुरु भयो ।

विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकीय गतिविधि थप बढ्ने भएकाले सोहीअनुसार तारे होटलदेखि अन्य पूर्वाधार निर्माण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले निजी क्षेत्रसँग अनुरोध गरे । पोखरामा हुने उडानका लागि कञ्चनपुरबाट बाहिरिने भए पनि भित्रिने रुट अहिलेसम्म यकिन नभएकाले दुईतर्फी रुटका लागि भारतसँग अनुरोध गरिएको उनले बताए । निर्माण कम्पनी सीएएमसीईका अध्यक्ष ली हाई सिनले विमानस्थल निर्माणले ४० वर्षभन्दा बढी समयदेखिको सपना पूरा गर्ने धारणा राखे । यसबाट नेपाल मात्र नभएर दक्षिण एसियाको हवाई यातायातमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

प्रकाशित : चैत्र १३, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?