१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘भाषा र सीप नसिकी विदेश जाँदा दु:ख पाइँदाे रहेछ’  

केशरी तामाङ

काठमाडौँ — सिन्धुपाल्चोकको विकट गाउँमा जन्मेकी म, स्कुलको मुख देख्न समेत पाइनँ । अहिलेसम्म अंग्रेजी अक्षरबारे थाहा छैन । नपढेका हामी परिवार र छोराछोरीको भविष्यका लागि विदेश जान्छौं । आफूले नपढे पनि बच्चाको भविष्यका लागि, छोराछोरीलाई पढाउने सोचले विदेश जाने हो ।

‘भाषा र सीप नसिकी विदेश जाँदा दु:ख पाइँदाे रहेछ’  

नेपालमा हामी नपढेका मान्छेलाई कति नै तलब हुन्छ ? सामान्य अफिसमा काम गर्दा १०/१५ हजार तलब छ, महँगी उस्तै छ । विदेशमा जाँदा केही पैसा खेलाउन पाइन्छ । श्रीमान् अशक्त हुनुहुन्छ, घरको जिम्मेवारी, घरको जेठी छोरी र जेठी बुहारी पनि भएकाले सबै व्यवहार म आफैंले धान्नु पर्छ । त्यसैले म विदेसिन बाध्य भएकी थिएँ ।

म २००९ मा फ्री भिसा, फ्री टिकट लिएर कुवेत पुगेकी थिएँ । त्यहाँ पुगेपछि नेपाली दिदीबहिनी एजेन्टले नै हामीलाई तीन महिनासम्म घरभित्र थुनेर राखे । जसरी गाउँघरमा दसैंताका खसीबोका छानेर किन्ने गरिन्छ, त्यसैगरी हामीलाई छानीछानी को राम्रो छ, कसले बढी काम गर्न सक्छ हेरेर कुवेतीहरुले १२/१५ सय दिनारमा हामीलाई लिएर जाने रहेछ । नेपालबाट जाँदा न त भाषा जानेका हुन्छौं, न त काम नै जानेका हुन्छौं । कुवेतीको घरमा पुगिसकेपछि हामीलाई धेरै गाह्रो हुने रहेछ । भाषा र काम नसिक्दा धेरै अप्ठ्यारो हुँदो रहेछ । काम नजान्दा गाली गर्ने, हेप्ने गर्छन् । मलाई पनि सुरुका तीन महिनासम्म एकदमै गाह्रो भयो ।

अरु देशबाट जानेभन्दा नेपाली महिलालाई हेर्ने दृष्टि नै फरक छ । फिलिपिन्स, इन्डोनेसिया लगायत राष्ट्रबाट आउनेलाई त्यहाँको सरकारले नै श्रम सम्झाैता गराएर, सीप सिकाएर मात्रै पठाएको हुँदो रहेछ । सरकारसँग श्रम सम्झौता नभएकाले खाडीमा हामीलाई ‘कानून नभएको देश तिमीहरुको नेपाल हो’ भनेर हेप्छन् ।

कुवेतको बसाईसँगै भाषा पनि जान्दै/बुझ्दै गएँ । दुई वटा काम गर्ने ठाउँ फेरेपछि अन्तिमको घरमा राम्रो भयो, सायद मैले भाषा बुझ्दै जाँदा पनि सहजता महसुस भएको होला । भाषा र काम नजानेकै कारण सुरुका दुई घर छाडे । त्यसपछि तेस्रो घर मेरा लागि राम्रो भयो । जसोतसो काम गरेर ९ वर्षपछि नेपाल फर्किएँ । अहिले विभिन्न संघसंस्थासँग आवद्ध भई आफूजस्तै समस्यामा परेकाको उद्धार गर्ने चाहना छ ।

नेपाल आउँदा कुवेतबाट सिधै पठाइयो । नेपालको एयरपोर्टमा आएपछि जाँच गर्ने क्रममा प्रहरीले मलाई रोक्यो । म घर आउँछु भनेर आएकी थिइनँ, पीडितको उद्धारका लागि आएकी थिएँ । कुवेतबाट 'कमला तामाङ' अभियान लिएर आएकी थिएँ । नेपालको एयरपोर्टमा आइसकेपछि सामान जाँच भयो । मसँग ल्यापटप, टीभी थियो । ४५ केजी भन्दा बढी सामान थियो । प्रहरीले मेरो पासपोर्ट जाँच गर्‍यो । श्रम स्वीकृति नभएकाले सो देशबाट आउनेले ल्याएको सामान पाउँदैन भनेर भन्यो । किन भनेर प्रश्न गर्दा श्रम स्वीकृति नलिइकन गएकाले एयरपोर्टमा भन्सार तिर्नु पर्छ भन्यो ।

म भिजिट भिसा वा कुन भिसामा गएकी रहेछु, त्यो मलाई नै थाहा थिएन । मैले प्रहरीलाई भनेँ ‘ठीक छ यो सामान राख्नू, म नेपालमा सहयोग अभियान लिएर आएकी हुँ, बाहिर मिडियाहरु पर्खिरहेका छन् । म जुन कामको लागि आएकी हुँ त्यसकै लागि जान्छु ।’ धेरैपछि मलाई छाडियो । यो मेरो एउटा अनुभव हो । अब खाडी मुलुकमा जाँदा पनि कोरियाजस्तै नेपाल सरकारबाट श्रम स्वीकृति वा सम्झौता भएर मात्रै जान पाए राम्रो हुन्थ्यो कि ? त्यसरी जान पाए केही सहज हुन्थ्यो कि भन्ने मेरो बुझाइ छ ।

म के भन्छु भने विदेश जाने महिला दिदीबहिनीहरुले आफू जुन काममा जाँदैछु, त्यो ठाउँको भाषा र काम सिकेर जाँदा राम्रो हुन्छ । फ्री भिसा, फ्री टिकट आयो भन्यो, दुई चार पैसा कमाइन्छ भनेर यहाँ दलालले लोभ पनि देखाइदिन्छ । हामीलाई पनि हो जस्तै लाग्छ । तर पढाइ छैन, सीप छैन, भाषा जानेको छैन, लोभ देखाइसकेपछि जसरी भए पनि जान खोज्छौं । त्यसकारण कमजोरी हामी आफैमा पनि छ । किनभने हामीले कुन काममा जाने त्यो काम सिकेर, भाषा सिकेर जाँदा मात्रै दुख कम हुन्छ ।

(आप्रबासी श्रमिक तामाङले ‘कान्तिपुर आईएमई माइग्रेसन एण्ड रेमिट समिट २०२१’ मा राखेको विचारको सम्पादित अंश)


प्रकाशित : पुस १८, २०७८ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?