रोगले जुनार–सुन्तलाका बगैंचा सखाप

११० किसानका बगैंचाबाट लिइएका ६२५ नमुना परीक्षण गर्दा ६२० वटामा सिट्रस ग्रिनिङ रोग पुष्टि
राजकुमार कार्की

सिन्धुली — जुनार र सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको सिन्धुलीमा सिट्रस ग्रिनिङ (बोट सुकेर मर्ने) रोगका कारण बगैंचा सखाप हुँदै गएका छन् । गोलन्जोर, सुनकोसी, फिक्कल गाउँपालिकाका बगैंचामा जुनार, सुन्तलाका बोट धमाधम मर्न थालेपछि किसान चिन्तित छन् ।

रोगले जुनार–सुन्तलाका बगैंचा सखाप

सुन्तला जातका फलफूलमा सिट्रस ग्रिनिङ रोगको प्रकोप बढेर जुनार, सुन्तलाका बगैंचा नै नासिँदै गएको केन्द्रीय जुनार संघका अध्यक्ष दीपक कोइरालाले बताए । रोग लागेका जुनार, सुन्तलाका बोट सुकेर दाउरा पनि काम नलाग्ने भएको उनको भनाइ छ । ‘यो रोगलाई बेलैमा नियन्त्रण गर्न नसके जुनार, सुन्तला देख्नै नपाइने अवस्था पनि आउन सक्छ,’ उनले भने । बगैंचामा पुराना र नयाँ बोट दुवैमा रोग लागेको छ । संघले गोलन्जोरको चिसापानी, नाकाजोली, माख्लो आलेगाउँ, तल्लो आलेगाउँ, माझकुबिन्डे, ओख्ले, खोक्लिङ, नयाँखर्कका १ सय १० किसानका जुनार, सुन्तलाका बगैंचाबाट रोगको लक्षणका आधारमा ६ सय २५ नमुना परीक्षण गर्दा ६ सय २० वटामा यो रोग पुष्टि भएको उनले जानकारी दिए ।

झन्डै शतप्रतिशत नै जुनार, सुन्तलाको बोटमा सिट्रस ग्रिनिङ रोग फेला परेकाले अवस्था भयावह रहेको पुष्टि हुने जुनार विकास संघका अध्यक्ष तिलकबहादुर थापा बताउँछन् । ‘फल दिन लागेको एक वर्षमै रोगले बोटहरू सुकेर खंग्रङ्ग हुने गरेको छ,’ उनले भने । पछिल्लो २ वर्षमा गोलन्जोर–५ नयाँखर्कका किसान रामबहादुर बरालको बगैंचामा भएका जुनारका ५ सय बोटमध्ये अब एक सयको हाराहारीमा मात्र बाँकी छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोनबाट अनुदानमा वितरण गरिएको संक्रमित बिरुवाका कारण रोग छिटो फैलिएको किसानको आरोप छ । नर्सरीबाट नै रोगले ग्रसित बिरुवा अनुदानमा वितरण भएकाले बगैंचाहरूमा रोग चाँडो फैलिएको अध्यक्ष कोइरालाले दाबी गरे ।

सुपर जोनका प्रमुख देवराज अधिकारी सिट्रस ग्रिनिङ रोग तीव्र फैलिएको बताउँछन् । ‘यसको व्यवस्थापनका लागि विश्वमै विभिन्न परीक्षण भइरहेका छन् । अझै सही विधि पत्ता लागेको छैन,’ उनले भने, ‘हाललाई रोग अन्यत्र फैलन नदिन संक्रमित सुन्तला जातका फलफूलको बोट नष्ट गर्नु नै बुद्धिमानी हुन्छ ।’ सुपर जोनका प्राविधिकको सल्लाहमा रोग लागेका बोटहरू धमाधम नष्ट गरिरहेको किसानहरूले बताए । तर कति मात्रामा क्षति पुगेको भन्नेबारे भने यकिन तथ्यांक आइनसकेको अधिकारीले बताए ।

उनका अनुसार सिन्धुलीमा १ हजार ३ सय ८५ हेक्टर क्षेत्रफलमा जुनार खेती हुन्छ । यो वर्ष विस्तार भएको ४५ हेक्टरसहित ७ सय ५० हेक्टरमा गरिएको जुनार खेतीबाट किसानले प्रत्यक्ष आम्दानी लिने अनुमान थियो । तर करिब ४ सय हेक्टरमा लगाइएको जुनार, सुन्तलाका बोट नै सुकेको आकलन छ । जुनार खेतीमा ५ हजार किसान आबद्ध छन् ।

प्रकाशित : पुस १८, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?