‘विदेश जाने बाटो सजिलो बनाऔं’

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरोकारवालाको सामूहिक प्रयास अपरिहार्य
कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर रेमिट एन्ड माइग्रेसन समिट–२०२१’ को पहिलो सत्र ‘विदेश जाने अप्ठ्यारो बाटो’ मा श्रमिकले भोगिरहेका समस्या, तिनको समाधान र यसमा राज्यस्तरबाट गर्नुपर्ने विविध नीतिगत नियमका विषयमा छलफल भयो । वक्ताहरूले एजेन्टहरूले बढी पैसा उठाएर वैदेशिक रोजगारीमा पठाउने र सम्बद्ध श्रम मुलुकमा पहिले भनिएअनुसारको काम र पारिश्रमिक नपाउनु जस्ता विषय दुःखद् रहेको बताए । यस्ता समस्या नीतिगत रूपमा समाधान गर्न सकिने र सबैको साथसहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ ।

कार्यक्रममा आप्रवासनविद् मीना पौडेलले वैदेशिक रोजगारीमा जाने महिलालाई संसद्अन्तर्गत श्रम समितिले नै महिलालाई बिचौलियाको जिम्मा लगाइदिएको आरोप लगाइन् । समितिले वैदेशिक रोजगार विभागको हात बाँधेर महिलालाई फटाहाहरूको जिम्मा लगाइदिएको उनको दाबी छ । ‘राज्यले गर्न सक्ने तर नगरेको काम नीतिगत संरचना नै हो,’ उनले भनिन्, ‘अहिले श्रम गन्तव्य मुलुकका लागि सात वटा सर्त तेर्स्याइएको छ । तर यी सर्त अव्यावहारिक छन् ।’

वैदेशिक रोजगारीमा जाने महिला पनि नेपाली समाजकै रहेको र उनीहरूले बाँच्न, छोराछोरी पाल्न र हिंसाबाट बच्नकै लागि घर छाड्नुपरेको उनको भनाइ छ । ‘तर विडम्बना घरबाट निस्केदेखि नै शोषित, पीडित हुनुपरेको छ । लालपुर्जा दलाललाई दिएर जसरी पनि विदेश पठाइदिनुपर्‍यो भन्ने बाध्यता छ,’ उनले भनिन्, ‘भद्रगोल अवस्थामा महिला श्रमिकलाई कसरी बाटो सहज बनाउन सक्छौं ?’


कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले भने म्यानपावर व्यवयायीलाई दलाल र मानव तस्करका रूपमा नभई देशभित्रको बेरोजगारी हटाउने महत्त्वपूर्ण क्षेत्रका रूपमा चित्रित गरिनुपर्नेमा जोड दिए । व्यवसायीहरू तस्करीमा नलागेको उनको दाबी छ । ‘व्यवसायीहरू अवैध बाटो वा तस्करीमा लागेका छैनन्,’ उनले भने, ‘छानबिन गर्दा हुन्छ, बाध्यात्मक कारणले त्रुटि भएका होलान् । तर, तस्करीमा लागेका छैनौं ।’


श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएका देशमा प्रस्ट रूपमा एक महिनाको पारिश्रमिक म्यानपावर कम्पनीलाई सर्भिस चार्जका रूपमा दिने उल्लेख नै गर्न आवश्यक रहेको पूर्वराजदूत उदयराज पाण्डेले बताए । ‘केही ठाउँमा यस्तो काम सुरु भइसकेको पनि छ, यस विषयमा व्यवसायी सहमत छन्,’ उनले भने, ‘अर्को कुरा बिचौलियालाई हटाउन सबैले भूमिका खेल्न जरुरी छ । धेरै बिगारेको एजेन्ट भनाउँदाले नै हो ।’


नेपालबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गरेर सरकारका तर्फबाट अभिलेखीकरण गर्ने पद्धति विकास गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेको भनाइ छ । श्रमिकहरूको विवरणसहित क्यूआर कोड सिर्जना गर्न केही प्रशासनिक काम गर्नुपर्नेछ । त्यसो भयो भने मात्र क्यूआर कोडको काम अघि बढ्ने उनले बताए । वैदेशिक रोजगारीमा देखिने समस्या समाधानका लागि सम्बद्ध सरकारी सेवा प्रदायक र रोजगारदाता सबैले सामूहिक पहल गर्नुपर्ने उनको धारणा छ । ‘सबैले सहयोगी भूमिका निर्वाह गरौं । त्यसो भयो भने विदेश जाने अप्ठ्यारो बाटोलाई सजिलो बनाउन सकिन्छ ।’


सन् २०१५ मा गरिएको फ्रि भिसा फ्रि टिकटबारे सरकारले पुनरावलोकन गर्ने तयारी गरिरहेको पनि काफ्लेले जानकारी दिए । रोजगारीका रूपमा जाने श्रमिकलाई भिसा वा शुल्क कुनै पनि किसिमको समस्या नरहोस् भन्नेमा आफूहरू सचेत रहेको पनि उनले बताए । तर रोजगारीमा जाने सिलसिलामा श्रमिकले दिएको पैसाको अभिलेख राख्न भने समस्या हुने गरेको उनले स्विकारे । ‘एउटा व्यक्तिले अर्को व्यक्तिलाई कति पैसा दियो भनेर रेकर्ड राख्न गाह्रो छ,’ उनले भने ।

प्रकाशित : पुस १५, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

ईपीएल : शीर्ष स्थानमा सिटीलाई ८ अंकको अग्रता 

कान्तिपुर संवाददाता

काठमाडौँ — म्यानचेस्टर सिटीले बुधबार इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ । सिटीले ब्रेन्टफोर्डलाई १–० ले हराएपछि उपाधि होडमा आफूलाई बलियो बनाएको हो ।

उसका लागि केभिन डे ब्रुएनाले १६ औं मिनेटमा निर्णायक गोल गरे । यस जितका बाबजुद सिटी व्यवस्थापक पेप ग्वार्डिओलाले उपाधि होड अझै खुल्ला रहेको र जुनसुकै बेला अंकतालिकामा तलमाथि हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

बुधबारकै अर्को खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरी खेल्यो । सिटीको २० खेलबाट ५० अंक भएको छ । चेल्सी समान खेलबाट ४२ अंकमा दोस्रो स्थानमा छ । लिभरपुल भने १९ खेलबाट ४१ अंकमा तेस्रो स्थानमा छ ।


प्रकाशित : पुस १५, २०७८ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×