२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

निजी क्षेत्रबाट पनि बिजुली किन्न बंगलादेश तयार

२०२२ को मार्चभित्र पूर्वतयारी सकेर २०२६ भित्र ३५ सय मेगावाटसम्म बिजुली किन्ने प्रतिबद्धता
हामी नेपालमा खेर गइरहेको बिजुली किन्न सक्छौं, मार्चमा नेपाल भ्रमण गरेर यो विषय टुंगो लगाउनेछु । – नसरुल हमिद, बंगलादेशी ऊर्जा राज्यमन्त्री 
सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिनुपर्‍यो, नेपाल–भारत–बंगलादेशबीच छुट्टै सम्झौता गर्नुपर्‍यो ।– विष्णु अग्रवाल-अध्यक्ष, नेपाल उद्योग परिसंघ

काठमाडौँ — बंगलादेशले नेपालको बिजुली निजी क्षेत्रसँग समेत सहकार्य गरी दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरेर लैजाने तयारी थालेको छ । बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले यस्तो तयारी भइरहेको बताए ।

निजी क्षेत्रबाट पनि बिजुली किन्न बंगलादेश तयार

नेपालका लागि यो महत्त्वपूर्ण उपलब्धि रहेको परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताए । बंगलादेशले नेपालमा उत्पादन हुने बिजुली आउँदो वर्षबाटै खरिद गर्नेसमेत प्रतिबद्धता जनाएको छ । ‘नेपालमा उत्पादित बिजुली खपत नभएर खेर गइरहेको अवस्था छ । त्यो विद्युत् हामी खरिद गर्न सक्छौं,’ बंगलादेशका ऊर्जामन्त्रीको भनाइ उद्धृत गर्दै परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राज्यमन्त्री हमिदले नेपालबाट बिजुली आयातका लागि प्रसारणलाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनसमेत निर्माण थालनी गरिने बताएका छन् । बंगलादेशले सन् २०२६ सम्ममा नेपालबाट ३५ सय मेगावाटसम्म बिजुली खरिद गर्ने र त्यसका लागि पूर्वतयारीको काम सन् २०२२ को मार्चभित्र सकिसक्ने प्रतिबद्धता पनि उनले जनाए । ‘मार्चमा म नेपाल भ्रमण गरेर यो विषयको टुंगो लगाउनेछु,’ राज्यमन्त्री हमिदले भने । बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग सीधै विद्युत् खरिद सम्झौता गराउने गृहकार्य सुरु गर्ने पनि उनले बताए ।

बंगलादेशको तयारी र प्रतिबद्धतालाई मूर्त रूप दिन नेपाल सरकारले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको वातावरण बनाइदिनुपर्ने परिसंघका अध्यक्ष अग्रवालको भनाइ छ । ‘अब नेपाल सरकारले निजी कम्पनीहरूलाई विद्युत् व्यापारको लाइसेन्स दिनुपर्‍यो । भारतसँगका प्रसारण लाइनको समस्या समाधान गर्नुपर्‍यो । नेपाल–भारत–बंगलादेशबीचको एउटा छुट्टै सम्झौता गर्नुपर्‍यो,’ उनले भने, ‘अहिलेदेखि नै त्यसको तयारी गरे हामीले छिट्टै बंगलादेशमा बिजुली पठाउन सक्छौं ।’

नेपालले अहिले विद्युत् प्राधिकरणमार्फत मात्रै बिजुलीको व्यापार गरिरहेको छ । निजी क्षेत्रबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले विद्युत् व्यापारको अनुमति मागिरहेका छन् । ऊर्जा मन्त्रालयले यस प्रस्तावलाई सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । तर अर्थले हालसम्म स्वीकृति दिएको छैन । बंगलादेशले अनुमति प्राप्त निजी कम्पनीबाट समेत बिजुली लिइदिने प्रतिबद्धता जनाएको हो । नेपालको बिजुलीको सम्भाव्य बजार भारत भए पनि बंगलादेशको प्रतिबद्धतासँगै निजी क्षेत्र अन्तरदेशीय विद्युत् व्यापारमा आशावादी भएको छ । बंगलादेशसँग मात्र नभई भारतसँग पनि नेपालले त्रिदेशीय प्रसारणलाइन निर्माणका लागि आग्रह गरिरहेको छ ।

बंगलादेशसँग नेपालले सरकारीस्तरबाटै पनि बिजुली बेच्न प्रयास गरिरहेको छ । गत भदौ अन्तिम साता बसेको दुई देशका ऊर्जा सचिव स्तरीय (जोइन्ट स्टेयरिङ कमिटी) बैठकबाटै बंगलादेशले नेपालबाट बिजुली बेच्न सकिने नसकिनेबारे सुनिश्चितता खोजेको थियो । त्यस्तै नेपालका दुई जलविद्युत् आयोजना खिम्ती–शिवालय र सुनकोसी–३ मा लगानी गर्न पनि बंगलादेशले चासो देखाइरहेको छ । जोइन्ट स्टेयरिङ कमिटी बैठकमा भारतको प्रसारणलाइन प्रयोग गरेर पनि बंगलादेशमा बिजुली पठाउन सकिनेबारे छलफल भएको थियो । यसका लागि नेपाल–भारत–बंगलादेश त्रिदेशीय सम्झौता आवश्यक छ । तर अहिले निजी क्षेत्रको छलफलका क्रममा बंगलादेशले डेडिकेटेड प्रसारणलाइन नै बनाउन सकिने र त्यसका लागि पहल गर्ने पनि प्रतिबद्धता जनाएको छ ।

नेपालमा बजार व्यवस्थापन हुन नसक्दा गएको वर्षायाममा ५ सय मेगावाटसम्म बिजुली खेर गएको थियो । मागभन्दा बढी उत्पादन, पर्याप्त प्रसारण लाइन र आन्तरिक एवं बाह्य बजारको अभावका कारण नेपालमा उत्पादित बिजुली खेर गइरहेको छ । भारतले मार्च २०२१ मा अन्तरदेशीय ऊर्जा व्यापार कार्यविधि जारी गरेपछि त्रिदेशीय विद्युत् व्यापारको ढोका खुलेको छ । यो कार्यविधिले अन्तरदेशीय विद्युत् व्यापारमा नियमन र कानुनी संयन्त्रसम्बन्धी द्विविधा अन्त्य गरेको छ । बंगलादेशलाई सन् २०४० सम्ममा २४ हजार मेगावाट नवीकरणीय ऊर्जा आवश्यक छ र अबको ४ वर्षमा कोइलाबाट ऊर्जा उत्पादन गर्ने आयोजना बन्द गर्ने बंगलादेशको योजना छ । नेपालमा उत्पादन हुने बिजुली बंगलादेशका लागि अहिलेभन्दा आधा सस्तो पर्छ ।

परिसंघको टोलीले नेपालको जलविद्युत्मा लगानी बंगलादेशका लगानीकर्ताका लागि खुला गर्न आग्रह गरे । अध्यक्ष अग्रवालले नेपालका निजी क्षेत्रसँग सीधै पीपीए गरेर विद्युत् खरिद गर्न पनि राज्यमन्त्रीसँग अनुरोध गरेका थिए । नेपालमा विद्युत् उत्पादन र खपतको अवस्थाबारे परिसंघको पूर्वाधार समितिका सभापति एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष आशिष गर्गले राज्यमन्त्री नसरुल हमिदलाई जानकारी गराएका थिए ।

प्रकाशित : मंसिर २९, २०७८ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?