काठमाडौँ — सोमबारसम्म उच्च अंकले ओरालो लागेको सेयर बजारले मंगलबार भने एकाएक ठूलो छलाङ मार्यो । १२: ३८ बजे नेप्से ५ प्रतिशत (१ सय १४ अंक) बढेपछि सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि कारोबार बन्द भयो । त्यसपछि खुलेको बजारमा थप १० मिनेटसम्म मात्र लगानीकर्ताले सेयर किनबेच गर्न पाए ।
बजार ६ प्रतिशतले बढेपछि दिनभरका लागि कारोबार बन्द भयो । कारोबारको समयावधि नै न्यून भएपछि कारोबार रकम जम्मा १ अर्ब ८४ करोडमा सीमित भयो । पछिल्ला दिनको सेयर बजारको उचारचढाबलाई सबैतिरबाट चासोका साथ हेरिएको छ । आइतबार र सोमबार उच्च अंकमा घटेको बजार मंगलबार सर्किट ब्रेक नै लाग्नेगरी बढ्नुपर्ने कारण के ? बजारको उतारचढाबलाई कसैले उच्च नेताहरुको अभिव्यक्तिको असर भनिरहेका छन् भने अर्काथरिले अर्थतन्त्रका आधारभुत सूचकहरुमा सुधार नभएकाले बजार बढ्न नसकेको तर्क गरिरहेका छन् ।
सेयर विश्लेषक रबिन्द्र भट्टराईले मंगलबारको बजारलाई हेरेर मात्र आगामी दिनको आँकलन गर्न नसकिने बताए । पछिल्ला दिनहरुमा बजार धेरैले घटिसकेको थियो । घटेको बजारमा लगानीकर्ताले एक्कासी खरिद चाप बढाएपछि मंगलबार नेप्सेमा उच्च अंकको सुधार देखिएको भट्टराईले बताए । ‘आउँदा दिनमा नेताहरुको अभिव्यक्तिमा सुधार आउला तर, बजारका लागि आवश्यक आधारभूत पक्षमा तत्काल सुधारको सम्भावना छैन,’ उनले भने, ‘यसकारण एक/दुई दिनको बजारलाई हेरेर भविष्यवाणी गर्न सकिँदैन ।’
खासगरी तरलता संकट र बढ्दो ब्याजदरले पनि बजारलाई असर गरिरहेको उनले बताए । बैंकहरुले मुद्दती खातामा नै १०. ०५ प्रतिशत ब्याज दिइरहेका छन् । यसले गर्दा आगामी दिनमा आधार दर बढ्न गई यसले ऋणको ब्याजदर झनै बढाउँदै लैजान सक्ने छ । ‘जहिले पनि सेयर बजारलाई ब्याजदरले असर पारेकै हुन्छ’ भट्टराईले भने ‘तत्काल ब्याजदर घट्ने अवस्था देखिँदैन त्यसले गर्दा सेयर बजार तत्काल धेरै नबढ्ला ।’
मौद्रिक नीतिमार्फत व्यक्तिले एक संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँभन्दा धेरै सेयर लगानीका लागि कर्जा लिन नपाइने व्यवस्थाले पनि बजार घट्नमा मद्दत पुगेको उनको टिप्पणी छ । उक्त सीमाभन्दा धेरै ऋण लिएकाले एक वर्ष भित्रै निर्देशित सीमा भित्रै झार्नुपर्नेछ । सोभन्दा धेरै ऋण लिएकाले सेयर बिक्री गरेरै घटाउनुपर्ने बाध्यता छ ।
तर घटेको बजारलाई मौकाका रुपमा हेर्नुपर्ने सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन् । बजार धेरै दिनदेखि घटेकाले सेयर सस्तो मूल्यमा आइसकेको थियो । यहीं कारण एक्कासी खरिद बढ्न जाँदा मंगलबार सर्किट नै लागेको उनले बताए । ‘लगानीकर्ताले आफ्नो विवेक प्रयोग गर्ने हो, घटेको बेला किन्ने अवसर हो, सधैं बढ्ने वा सधैं घट्ने हुँदैन’ उनले भने ।
यसअघि धेरै नै घटिसकेकाले मंगलबार बजारमा माग पक्ष केही बलियो बनेको छ । तर तरलता संकट र ब्याजदरको अवस्थामा सुधार नदेखिएकाले बजारको वृद्धिदर अल्पकालीन हुन सक्ने जानकार बताउँछन् । कम्पनीको वित्तीय अवस्थालाई मात्रै नभई बजार प्रभावित पार्न सक्ने तरलताको अवस्था, ब्याजदर लगायत पक्षलाई समेत अध्ययन गरेर मात्रै लगानी गर्नुपर्नेमा उनीहरुको सुझाव छ ।
विगतलाई हेर्दा पनि अहिलेको समय बजार घट्ने सिजन नै रहेको भट्टराई तर्क गर्छन् । सूचीकृत कम्पनीको साधारण सभापछि ती कम्पनीको सेयर कारोबारमा सुस्तता आउनु स्वभाविक रहेको उनले बताए । त्रैमासिक रुपमा सरकारलाई कर र बैंक तथा वित्तीय संस्थालाई साँवा ब्याज तिर्नुपर्ने समय भएकाले पुस महिनामा असर पर्न सक्नेछ । हाल बैंक तथा वित्तीय संस्थाले अल्पकालीन प्रकृतिका सेयर किन्न नपाउने र लघुवित्त वित्तीय संस्थालाई सेयर किनबेचमा बन्देज लगाइँदा पनि बजारलाई असर परेको भट्टराईले बताए ।
