आश्वासन पाए, चामल पाएनन्

सरकारले बुधबार चामल ढुवानी गर्ने बताए पनि हेलिकोप्टरर लोड गर्ने कामदार नभएको भन्दै शुक्रबारलाई भाका सारेको छ

मंसिर ९, २०७८

राजु चौधरी

काठमाडौँ — हुम्लाको नाम्खा गाउँपालिकामा आगामी शुक्रबारदेखि मात्रै खाद्यान्न ढुवानी हुने भएको छ । ४ दिनको कष्टपूर्ण हिउँको यात्रा तय गरी सरदमुकाम सिमकोट र त्यसपछि काठमाडौं आएका हुम्लीलाई मंगलबार गृहसचिव टेकनारायण पाण्डेले बुधबारदेखि ढुवानी गरिदिने आश्वासन दिएका थिए । तर हेलिकोप्टर र हिल्सामा खाद्यान्न लोड गर्ने कामदार नभएको भन्दै बुधबार ढुवानी भएन ।

‘हिल्सामा खाद्यान्न लोड गरिदिने मान्छे नै भएनन् । त्यसको व्यवस्थापन गर्न अझै २/३ दिन लाग्ने भयो,’ नाम्खा–६ का अध्यक्ष पाल्जोर तामाङले भने, ‘अब शनिबारसम्म ढुवानी हुने आसमा छौं ।’

ढुवानीमा कमिसनको खेल हुँदा हुम्लाका अधिकांश क्षेत्रमा चामल अभाव भएको छ । खाद्य संकट परेपछि नाम्खाका प्रतिनिधि चामल माग्न सिंहदरबारसम्म आइपुगेका छन् । ३० जनाको टोली ४ दिनसम्म कठ्यांग्रिँदो हिउँ छिचोल्दै सिमकोटसम्म आइपुगेको थियो । सिमकोटबाट भने वडाध्यक्ष तामाङ र सांसद छक्कबहादुर लामा काठमाडौं आएका हुन् । मंगलबार दिउँसो १ बजे सिंहदरबार पुगेका उनीहरूले अर्थमन्त्री र गृहमन्त्रीलाई भेट्न खोजेका थिए । मन्त्रीहरूसँग भेट नभएपछि गृह सचिव पाण्डेलाई भेटे ।

चामल ढुवानीमा कमिसनको खेलले भोकमरी

त्यस क्रममा पाण्डेले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बुधबारदेखि ढुवानीको व्यवस्था मिलाउने आश्वासन दिएका थिए । तर हुम्लीले चामलका लागि अझै पर्खिनुपर्ने अवस्था बनेको छ । प्रजिअ गणेश आचार्यले नेपाली सेनाले मंसिर १० मा उडानमार्फत ढुवानी गरिदिने जनाएको बताए । ‘हिल्साबाट नाम्खामा चामल ढुवानी गर्न मुख्यमन्त्री, प्रदेश सचिव र गृह प्रवक्तासँग छलफल भएको छ । खाद्यान्न लोड गर्नका लागि बुधबार साँझ १२ जना कामदार हिल्सा पुगेका छन्,’ उनले भने, ‘हेलिकोप्टरका लागि सेनासँग कुरा गर्दा १० गते मात्रै उडान गरिदिने बताएको छ । हेलिकोप्टरको कुरा हो, प्राविधिक समस्या भए १/२ दिन पर पनि सर्न सक्छ ।’

नाम्खाको लिमीमा करिब ११ सय जनसख्या छ । वडा–६ मा साढे ४ सयको बसोबास छ । यहाँ उवा र आलु मात्रै उत्पादन हुन्छ । खाद्यान्नका लागि उत्तरी सीमावर्ती बजारमा आश्रित यहाँका स्थानीय कोरोनाका कारण करिब २ वर्षदेखि सीमा बन्द हुँदा खाद्य संकट भोग्दै आएका छन् । यसबीचमा चीनको पुराङ काउन्टीको ताक्लाकोटस्थित स्थानीय प्रशासनले लिमीवासीलाई मैदा र चामल सहयोग गरेको थियो ।

‘तर ५ क्विन्टल चामल र ४६१.५ क्विन्टल पिठो सीमामै छ । असोज ३१ पछि हिउँ परेकाले ढुवानी हुन नसक्दा समस्या भएको हो,’ प्रजिअ आचार्यले भने । उनका अनुसार पिठो भण्डारण गरिएको स्थानमा हाल सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको टोलीबाहेक ६ जना मात्रै छन् । ‘लोड–अनलोड गर्ने मान्छे नै नभएपछि मौज्दात खाद्यान्न ल्याउन समस्या भएको हो,’ उनले भने, ‘हिउँले बाटो पनि बन्द भयो । १५ दिनयता डोजरको प्रयोग गरी सडक व्यवस्थापनको प्रयास भइरहेको छ ।’ लिमीका लागि थप २ सय क्विन्टल चामल ढुवानी गर्न गृह मन्त्रालयमा प्रस्ताव गरिएको उनले जनाए । गृहले स्वीकृति दिएपछि उक्त चामल पनि हेलिकोप्टरबाटै ढुवानी हुनेछ ।

नाम्खाका लागि यो वर्ष १ हजार क्विन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको थियो । तर हालसम्म ढुवानी भएको छैन । खाद्य कम्पनीले कमिसनको प्रलोभनमा महँगो ढुवानी दर कबोल गर्नेलाई स्वीकृति दिन खोज्दा ठेक्का नै विवादमा परेको छ । खाद्य कम्पनीले हवाई मार्गबाट हुम्लामा १० हजार क्विन्टल चामल पठाउन बोलपत्र आह्वान गरेपछि ४ कम्पनीेले आवेदन दिए । तर किलोमै ४२ रुपैयाँ महँगो कबोल गर्नेलाई अनुमति दिन खोज्दा विवाद भएको हो ।

हुम्लामा ६० हजार जनाको बसोबास छ । जिल्लामा २७ हजार ९ सय क्विन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको छ तर ४ महिनामा कत्ति पनि चामल पुगेको छैन । खाद्य संकटपछि चामल माग्दै आचार्यले २ पटक गृहमा पत्राचार गरेका थिए तर सुनुवाइ भएन । उनी कात्तिक २३ मा आफैं काठमाडौं आएका थिए । अहिले भने वडाध्यक्ष र सांसद चामल माग्न आएका हुन् ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully