नेसनल पेमेन्ट स्वीचको थालनी : वालेट-वालेटबीच कारोबार गर्न मिल्ने, नेपाल पेमेन्ट कार्ड ल्याउने 

मंसिर ३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसिएचएल)ले नेसनल पेमेन्ट स्वीचको थालनी गरेको छ । पहिलो चरणमा २९ बैंक तथा वित्तीय संस्थाहरु नेसनल पेमेन्ट स्वीचमा जोडिएका छन् । १८ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी यसमा आवद्ध भएका छन् । बिहीबार राजधानीमा एक औपचारिक कार्यक्रममा ती संस्था र एनसिएचएलबीच सम्झौता भएको हो ।

नेपाल सरकारको बजेट तथा मौद्रिक नीतिमा समेत उल्लेख भएबमोजिम नेसनल पेमेन्ट स्वीचको स्थापनाका लागि नेपाल क्लियरिङ्ग हाउसलाई स्वीकृति प्रदान गरिएको थियो । अन्य बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकहरुलाई समेत नेसनल पेमेन्ट स्वीचमा आबद्ध गराइने एनसिएचएलले जनाएको छ । कम्पनीका अनुसार कार्ड बाहेकका भुक्तानी प्रणालीबीच अन्तर आबद्धता कायम गर्ने, डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गर्नका लागि हाल सम्पूर्ण तयारी भइसकेको छ । अब यसलाई कार्यान्वयनमा लगिनेछ । 

नेसनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु जारी हुनेछन् । वालेट–वालेटबीच अन्तरआबद्धता पनि हुने कम्पनीले जनाएको छ । यसले एक वालेटबाट अर्को वालेटमा कारोबार गर्न मिल्नेछ । विभिन्न भुक्तानीका लागि बिल र गेटवे मार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने छन् । 

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइकामार्फत बैंक, वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसै गरी दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागि नेसनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको कम्पनीले जनाएको छ । नेपाल पेमेन्ट कार्ड आइसकेपछि यसमा आवद्ध जुनसुकै बैंकका एटिएमबाट सहजै पैसा झिक्न मिल्नेछ । यद्यपि यसमा 'न्यून' शुल्क भने लाग्न सक्ने छ । 

नेसनल पेमेन्ट स्वीचको कार्यान्वयनसँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालासँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थप सहज, सुलभ र सुरक्षित बनाइने दावी गरेको छ । 

हाल नेसनल पेमेन्ट स्वीचमा जोडिएका वाणिज्य बैंकमा कृषि विकास, बिओके, सेन्चुरी, सिटिजन्स, एभरेष्ट, हिमालयन, लक्ष्मी, माछापुच्छ्रे, मेगा, नबिल, एनसिसी, नेपाल बंगलादेश, एनआइसी एसिया, एनएमबी, प्रभु, प्राइम कमर्सियल, सानिमा र सनराइज बैंक छन् । त्यस्तै गरिमा, कामना सेवा, लुम्बिनी, महालक्ष्मी, मुक्तिनाथ विकास बैंक यसमा आवद्ध भएका छन् । आवद्ध भएका फाइनान्स कम्पनीमा सेन्ट्रल, गुडविल, आइसिएफसी, मञ्जुश्री, रिलायन्स र समृद्धि फाइनान्स छन् ।  

कान्तिपुर

Link copied successfully