सिन्धुपाल्चोकमा ९१ मेगावाटका थप तीन आयोजना बन्दै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोकमा ९१ मेगावाटका थप तीन आयोजना बन्दै

ऋषिराम पौड्याल

काठमाडौँ — सिन्धुपाल्चोकको भोटेकोसी र ब्रह्मायणी नदीबाट ९१ मेगावाटका तीन विद्युत् आयोजना निर्माण सुरु भएको छ । जुगल गाउँपालिकाको तेम्बाथानमा दुई आयोजना निर्माण गरिने छ। यसका लागि विद्युत् खरिद सम्झौता भइसकेको छ । निर्माणको चरण पनि सुरु भइसकेको आयोजनाहरुको भनाइ छ ।

शैलुङ पावर कम्पनी प्रालिले ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजना बनाइरहेको छ । भोटेकोसी गाउँपालिकामा अढाई दशकअघि बनेको ४५ मेगावाटको अपर भोटेकोसी आयोजनाको पावर हाउसबाट निस्केको पानी प्रयोग गरेर उक्त नयाँ आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । विद्युत् खरिद सम्झौता एक वर्षअघि नै भइसकेको छ भने लागत करिब ८ देखि ९ अर्ब लाग्ने अनुमान रहेको उनले बताए ।

भोटेकोसीको पानी करिब तीन किमि सुरुङबाट स्थानीय चाकुमा निर्माण हुने अन्डरग्राउन्ड पावरहाउसमा प्रवेश गराइनेछ । आयोजनाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर निर्माण सुरु गरेको पौडेलले जनाए । बैंक ऋणको प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डमा पर्ने उक्त आयोजनाका लागि प्रवेशमार्ग निर्माण, जग्गा अधिग्रहणलगायत काममा झन्झट नरहेको उनले बताए । आयोजनाको निर्माण सहज हुने अनुमान गरिएको पौडेलको भनाइ छ ।

ब्रह्मायणी हाइड्रोपावर कम्पनीले ३६.५२ मेगावाटको ब्रह्मायणी जलविद्युत् आयोजना निर्माण थालेको छ । जुगल गाउँपालिकास्थित हिमाली भेग तेम्बाथान बस्तीको अर्काे साइटमा निर्माण हुने यो आयोजनाको लागत करिब ७ अर्ब छ । यस आयोजनामा पनि विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । उक्त आयोजनाको सुरुङ ६ किमिको हुनेछ । आयोजनाको हेड ५ सय ५२ मिटर हुने र यसले वर्षेनी करिब एक अर्ब २२ करोडको विद्युत् बिक्री गर्ने कम्पनीका अध्यक्ष भरत पराजुलीले जानकारी दिए ।

इन्टिग्रेटेड हाइड्रो फन्ड नेपाल प्रालिले १५.१५ मेगावाटको अप्पर ब्रह्मायणी जलविद्युत् आयोजना निर्माण गर्दै छ । जुगल हिमालको फेदीमा निर्माण गरिने उक्त आयोजनाका लागि करिब तीन अर्ब लगानी हुने अनुमान छ । लगानबेसीमा निर्माण हुने उक्त आयोजनामा जुगल हिमालबाट बग्ने नाम्या मसाल खोलाको पानीबाट विद्युत् उत्पादन गरिने हाइड्रो फन्डका अध्यक्ष भरत पराजुलीले बताए । बर्सेनि ५२ करोडको विद्युत् बिक्री गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । अहिले आयोजनामा पुग्ने प्रवेशमार्ग निर्माण भइरहेको छ । काठमाडौंबाट ११० किमि दूरीमा पर्ने दुवै आयोजना निर्माणका लागि संस्थापक सेयर २५ र बैंक ऋण ७५ प्रतिशत रहने पराजुलीले जानकारी दिए । ‘अहिले हामी प्रमोटरहरूकै लगानीले काम गरिरहेका छौं,’ उनले भने, ‘बैंक ऋण स्वीकृत हुने प्रक्रियामा छ ।’


प्रकाशित : कार्तिक २८, २०७८ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानन्यायाधीशको राजीनामा माग्दै बाँकेका कानुन व्यवसायीले दिए धर्ना

ठाकुरसिंह थारु

नेपालगन्ज — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनमा एक्यबद्धता जनाउँदै बाँकेका कानुन व्यवसायीहरुले आइतबार धर्ना दिएका छन् ।

नेपाल बार एसोसिएसन उच्च अदालत बार नेपालगन्ज र जिल्ला अदालत बारको संयुक्त आयोजनामा बाँके जिल्ला अदालत परिसरमा हातमा कालो पट्टी बाँधेर एक घन्टा धर्ना दिएका हुन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै यहाँका कानुन व्यवसायीहरुले तीन दिनसम्म अदालतमा धर्ना दिने कार्यक्रम रहेको उच्च अदालत बार नेपालगन्जका सचिव पदम पाण्डेले बताए । उनले तीन दिनपछि केन्द्रीय बारको निर्देशनमा आन्दोलन सशक्त पार्ने बताए । प्रधानन्यायाधीश जबराको राजीनाम माग गर्दै केन्द्रीय बारले आन्दोलन सुरु गरेपछि जिल्लाका कानुन व्यवसायीहरुले पनि एक्यबद्धता जनाएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिए जिल्लामा पनि मुद्दाको सुनुवाई ठप्प पार्ने कानुन व्यवसायीहरुले बताए ।

प्रकाशित : कार्तिक २८, २०७८ १३:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×