भारतलाई बिजुली बेच्न खुल्यो बाटो

बुधबारका लागि औसत मूल्य प्रतियुनिट ४ रूपैयाँ ३३ पैसा

कार्तिक १७, २०७८

हेमन्त जोशी

काठमाडौँ — नेपालले भारतीय बजारमा विद्युत् बेच्न अनुमति पाएको छ । कोइला अभावमा चरम ऊर्जा संकट भोगिरहेको भारतले इन्डियन इनर्जी एक्सचेन्ज बजारमा प्रतिस्पर्धामार्फत बिजुली बेच्न नेपाललाई अनुमति दिएको हो । भारत सरकारले सोमबार यस्तो अनुमति दिएकामा नेपालले मंगलबार पहिलोपटक प्रतिस्पर्धामा भाग लिएको थियो ।

प्रत्येक दिन बोलकबोलका आधारमा मूल्य निर्धारण हुने एक्सचेन्ज बजारमा नेपालले बुधबार बेच्ने बिजुलीका लागि प्रतियुनिट औसत ४ रुपैयाँ ३३ पैसा (२.७१ भारु) कबोलेको प्राधिकरणले जनाएको छ । यसअघि नेपालबाट भारतमा साटासाट अर्थात् पैंचोको अवधारणामा मात्रै विद्युत् जाने गरेको थियो । बर्खायाममा बढी भएको विद्युत् भारतलाई दिएर नेपालले हिउँदमा फिर्ता लिने गरेको थियो । एकतर्फी रूपमा भारतले विद्युत् बेच्ने अवस्थाको समेत अब अन्त्य भएको छ । इन्डियन इनर्जी एक्सचेन्जमा भाग लिने नेपाल पहिलो मुलुकसमेत बनेको छ । 

अब विद्युत् खरिदबिक्रीका लागि एक दिनअघि प्रतिस्पर्धा गर्ने गरी (डे अहेड मार्केट) नेपालले भारतलाई विद्युत् बेच्नेछ । इन्डियन इनर्जी एक्सचेन्ज बजारमा विद्युत् बेच्न नेपालले अब हरेक दिन बिहान १० देखि १२ बजेसम्म चल्ने बोलकबोल प्रक्रियामा भाग लिनुपर्नेछ । डे अहेड मार्केटमा विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट बिक्रीदर तय हुन्छ । 

एक दिनको बोलकबोलबाट प्रतिस्पर्धी दर तय भएपछि अघिल्लो दिन रातको १२ बजेदेखि अर्को दिनको राति १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् बेच्न सकिन्छ । भारतले एक दिनमा हरेक १५ मिनेटको एउटा ब्लक बनाएर दैनिक ९६ वटा ब्लकमा विद्युत् किनबेच गर्ने गरेको छ ।

यसमा नेपालले बुधबारका लागि न्यूनतम १.६० भारुदेखि अधिकतम ४.६८ भारु राखेर विद्युत् बेच्न लागेको हो । विद्युत् व्यापारका लागि स्वीकृति पाएसँगै नेपालले मंगलबार रातिबाट ३९ मेगावाट विद्युत् भारत पठाउनेछ । २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतलाई बिक्री गर्न लागिएको प्राधिकरणले जनाएको छ । यी दुवै भारतीय लगानीका आयोजना हुन् । अरू आयोजनाबाट पनि विद्युत् बेच्न नेपालले सहमति मागेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । तर यी दुई आयोजनाबाट उत्पादित विद्युत् मात्रै किन्न भारतले स्वीकृति दिएको हो । 

नेपालले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, मर्स्याङ्दी जलविद्युत् केन्द्रको ६९ मेगावाट र माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाको ४५ मेगावाट विद्युत् बेच्न पनि नेपालले भारतसँग स्वीकृति मागेको जनाइएको छ । ‘अरू आयोजनाबाट विद्युत् लिन चाहे भारतले त्यसको पूर्वस्वीकृति दिन्छ । यद्यपि हाम्रो एकीकृत प्रसारण प्रणाली भएकाले कुन आयोजनाको विद्युत् कसरी जान्छ भन्न सकिँदैन,’ प्रवक्ता भट्टराईले भने । 

प्राधिकरणका अनुसार अहिले दिउँसोको समयमा २ सय र राति ५ सय मेगावाट हाराहारीमा विद्युत् खेर गइरहेको छ । तर भारतले जारी गरेको अधिकारप्राप्त संस्थाहरूले विद्युत् आयात/निर्यातका लागि स्वीकृति तथा सहजीकरण प्रक्रियासम्बन्धी कार्यविधि २०२१ (प्रोस्युड्युर फर एप्रुभल एन्ड फेसिलेटिङ इम्पोर्ट/एक्सपोर्ट अफ इलेक्ट्रिसिटी बाई डेजिग्नेटेड अथोरिटी–२०२१) मा अरू देशको लगानी रहेका प्रसारण र वितरण आयोजनाबाट विद्युत् नकिन्ने प्रावधान छ । भारतले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको विद्युत् बेच्न स्वीकृति दिएर अरू आयोजनामा स्वीकृति नदिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भारतलाई विद्युत् बेच्न ४ सय केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन प्रयोग हुनेछ । नेपालले अहिले राजविराज–कटैया, वीरगन्ज–रक्सौल, गण्डक–रामनगर, महेन्द्रनगर–टनकपुर र ढल्केबर मुजफ्फरपुर गरी ५ वटा प्रसारणलाइनबाट विद्युत् आदान–प्रदान गरिरहेको छ । प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार भारतीय कम्पनी नेसनल थर्मल पावर कोअपरेसन लिमिटेड (एनटीपीसी) मार्फत हुनेछ । नेपालसँगको विद्युत् व्यापारका लागि यो सम्पर्क निकाय (नुडल एजेन्सी) हो ।

हेमन्त

Link copied successfully