वर्षाले डुबायो धान

बीउ नजोगिने चिन्तामा किसान
कतै हुरीले ढल्यो, कतै पानीमा डुब्यो
कान्तिपुर टिम

काठमाडौँ — अन्न भण्डार मानिने तराईका जिल्लामा दुई दिनयताको अविरल बेमौसमी झरीले धान बाली खेतमै डुबाएको छ । दसैं सकिएसँगै धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । पहाडी जिल्लाका सिँचाइ हुने खेत र तराईका फाँटमा धान पाक्न सुरु भएको छ । आइतबारदेखिको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् । काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ ।

वर्षाले डुबायो धान

बेलामा मल, बीउ र सिँचाइको असुविधाका बीच यो वर्ष बर्खामा नियमितजसो वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई बीउ नै मासिने चिन्ता बढेको छ । बर्खामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानी समेत नउठ्ने चिन्ता थपेको छ ।

बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा धान बालीमा क्षति पुगेको छ । रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवार, सियारी, शुद्धोधन, सम्मरीमाई, कोटहीमाईलगायत क्षेत्रका धेरै किसानले खेतमा धान ढलाएका थिए । तर आइतबारदेखिको वर्षाले भित्र्याउन पाएनन् । ‘खेतमा धान पूरै पाकेको थियो,’ मर्चवारीका किसान रामअवतार यादवले भने, ‘शनिबार र आइतबार काटेको पूरै धान पानीमा डुबेको छ ।’ पानीमा डुबेको धानबाट चामल राम्रो नहुने उनको गुनासो छ ।

पसाउँदै गरेको धान पानीले ढलेको शुद्धोधन गाउँपालिका–७ का किसान नारदमुनि यादवले बताए । पसाउने बेलामा ढलेको धानमा बाला लाग्दैन । ‘एक बिघा खेतको धान ढलेको छ,’ उनले भने, ‘अब पानीले खेत हिलो भएकाले मेसिन लगाएर काट्न मिल्दैन, मान्छेले काट्दा लागत पनि बढ्छ ।’ मेसिन लगाउन नपाएपछि धान उत्पादनको लागत साढे दुई गुणासम्म बढ्ने उनको भनाइ छ ।

रूपन्देहीमा गोरखनाथ, राधा–४, सर्जु–५२ जातको धान धेरै उत्पादन हुन्छ । यी छिटो पाक्ने जातका धान हुन् । त्यही पाकेको अधिकांश धान खेतमै डुबेको छ । रूपन्देहीसमेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख सन्देश धितालले दुवै जिल्लामा पाक्न थालेको धानमा भइरहेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए । रूपन्देहीको ८२ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ६९ हजार हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको छ । समयमै पानी परेको र मल पनि पर्याप्त भएकाले अहिले धान धेरै फलेको तर भित्र्याउने बेलामा नोक्सान भएको ओमसतिया गाउँपालिका–५ का किसान राजेन्द्र चौधरीले बताए ।

पाल्पाको ठूलो फाँटका रूपमा चिनिने माडीमा पाक्न लागेको धान बालीमा खोला पसेको छ । माडीका चिदीपानीको बुढीकोट, माडी, हुमीनको बग्चौरको तल्लो भाग, खहरे, कसेनी, पोखराथोकको तल्लो भाग, चिर्तुङधारा, दमकडा बाँसटारीको खेतमा खोला पसेको छ । धेरै स्थानमा पाक्न लागेको धानमा खोला पसेको बुढीकोटका दीपक घिमिरेको भनाइ छ । खेतमा काटेको र काट्न ठिक्क भएको धानमा पानीले बढी क्षति भएको उनले बताए । माडी फाँटमा ढकबहादुर ठाडाको १५ रोपनी, विष्णुकुमारी घिमिरेको २१ रोपनी, भुवनसिंह कुँवरको ५ रोपनी खेतमा तिनाउ खोला पसेको छ ।

वर्षाका कारण दाङमा धानबाली र भर्खरै लगाइएको मसुरो बालीमा क्षति पुगेको छ । जिल्लाका अधिकांश स्थानमा काटेको धान बालीमा वर्षाका कारण ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्रमणि पौडेलले जनाए । प्रारम्भिक रूपमा गरिएको अध्ययनले करिब १२ करोडको क्षति पुगेको अनुमान छ । जिल्लामा यस वर्ष ३९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । कृषि ज्ञान केन्द्रले यस वर्ष जिल्लामा मनसुन सक्रिय भएको र बेलैमा धान रोपिएकाले धान उत्पादन बढ्ने प्रक्षेपण गरेको थियो । सोमबार बेलुकी ८ बजेसम्मको तथ्यांकअनुसार जिल्लामा १ सय ३३ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । यो तथ्यांक वर्षको सबैभन्दा उच्च वर्षा रहेको कार्यालयले जनाएको छ ।

बाँकेमा पनि वर्षाले पाकेको धानमा क्षति पुर्‍याएको छ । काटेको धानमा पानी जमेर भिजाएपछि किसान चिन्तामा छन् । पाक्न ठिक्क परेको धान पानीसहितको हावाले ढलाइदिएको छ । खेतको पानी सुक्न समय लाग्ने भएकाले थप क्षति व्यहोर्नुपर्ने चिन्तामा किसान छन् । ‘पाकेको धान पानीमा डुबेको छ । धान सत्यानाश भएको छ । पानी सुक्न धेरै दिन लाग्छ,’ खजुरा गाउँपालिका सोनपुरका किसान दिनवा यादवले भने, ‘काटेको धान काम नलाग्ने भइसक्यो ।’

वर्षाले पाकिसकेको धानमध्ये २० प्रतिशतभन्दा बढीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । काटेको धान धेरै दिन पानीमा रहँदा फेरि त्यहीं उम्रिने र बिग्रिन सक्ने उनको भनाइ छ । बर्दियामा पनि आइतबारदेखि परेको अस्वाभाविक वर्षाले भित्र्याउन ठिक्क परेको धान भिजेको छ । त्यसले किसान निराश छन् । दसैंलगत्तै बर्दियाका किसान धान भित्र्याउने तयारीमा थिए । तर वर्षाले बर्दियामा १९ दशमलव १० प्रतिशत बढी धान बालीलाई क्षति पुर्‍याएको प्रारम्भिक अनुमान एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्रमुख विनोद घिमिरेले बताए ।

नियमित वर्षा र मलखादको सहज आपूर्तिले यस वर्ष सात प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरिएका बेला आइतबारदेखिको वर्षाले धान बालीलाई क्षति पुर्‍याएको छ । ‘चार जना मजुरा राखेर आइतबार दिनभरि धान काटें,’ कपिलवस्तु नगरपालिका–३ महिताका माधव बेल्बासेले भने, ‘सोमबार पानीले डुबाएर आहाल बनाएको छ ।’ चार कट्ठामा लगाएको सावा मन्सुली धान डुबेर नष्ट भएको उनले बताए । वर्षाले किसानलाई ठूलो क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रका प्रमुख रवीन्द्र चौबेको भनाइ छ । पश्चिम नवलपरासीको बर्दघाट, सुनवल, रामग्राम, पाल्हीनन्दनलगायतका क्षेत्रमा पनि काटेको धान खेतमै भिजेको छ ।

यस वर्ष लुम्बिनी प्रदेशमा ३ लाख १९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जनाए । त्यसबाट १५ लाख २५ हजार ३ सय टन धान उत्पादन हुने अनुमान छ । बेमौसमी वर्षाले १० देखि १५ प्रतिशतसम्म क्षति पुग्ने अनुमान निर्देशनालयले गरेको उनले बताए ।

सुदूरपश्चिमको अन्नको भण्डार भनिने कैलाली र कञ्चनपुरलगायत पहाडी जिल्लामा वर्षाले धानबालीमा ठूलो क्षति भएको छ । बेमौसमी झरीले लहलहाउँदो धान खेतमै डुबाएको छ । खेतमै धान डुबेपछि यो वर्ष राम्रो फसल हुने आसमा बसेका किसान चिन्तित छन् । भित्र्याउने बेलाको वर्षाले काटेर खेतमै रहेको र काट्न बाँकी धानको गुणस्तर खस्कने र उत्पादनमा ह्रास आउने कृषि विज्ञ बताउँछन् ।

नियमित वर्षाका कारण कञ्चनपुर र कैलालीमा धान बालीमा ठूलो क्षति पुर्‍याएको छ । किसानहरूले धान काटेर सुकाउन खेतमा राखेका छन् । कतिपयले खेतमै काटेको धान थुपारेर कुन्यु बनाएका छन् । घर आँगनमा पनि काटेको धान थुपारेका छन् । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको किसान बताउँछन् । ‘खेतमा थुपारेको सबै धान भिज्यो,’ किसान राकेश भट्टले भने, ‘खेतसमेत पूरै डुबानमा परेको छ ।’ उनको एक बिघाको धान भिजेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरमा ७० प्रतिशत धान बाली भित्र्याइसकिएको छ । ३० प्रतिशतमध्ये अधिकांश धान काटेर खेतमै छाडेको छ । जिल्लामा धानको पकेट क्षेत्रका रूपमा चिनिने भीमदत्त नगरपालिका, बेदकोट, कृष्णपुर, बेलौरी र पुनर्वास क्षेत्रमा अझै धान भित्र्याउन बाँकी छ । उक्त क्षेत्रमा बीज वृद्धि कार्यक्रमअन्तर्गत लगाइएको धानमा समेत वर्षाले नोक्सान पुर्‍याएको छ । जसका कारण अर्काे वर्ष बीउको समेत अभाव हुन सक्ने देखिन्छ । ‘यसपाला धान बाली राम्रो थियो, उत्पादन पनि राम्रै हुने अपेक्षा थियो,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले भने, ‘अहिलेको वर्षाले उत्पादनमा ह्रास ल्याउँछ ।’

कैलाली भजनी नगरपालिका–८ कृष्णनगरका किसान कृष्ण चौधरीको गत वर्ष पाँच बिघामा लगाएको धान बाली बाढीले बगाउँदा भकारी रित्तै रह्यो । यसपालि खेतमा धानका बाला लहलह झुलेका थिए । काटेर भित्र्याउनै लागेका बेलाको वर्षाले धान खेतैमा पानीले डुबाएको छ भने काट्न बाँकी धान ढलेर क्षति भएपछि उनी चिन्तामा परेका छन् ।

खेतमा पानी भरिएर काट्न लागेको धान ढलेको, काटेर खेतमै बिछ्याएको धान डुबाएको र चुट्न राखेको कुन्युभित्र पनि पानी पसेको उनले बताए । बाली भित्र्याउने बेला परेको पानीले किसानलाई मर्का पारेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माको भनाइ छ । जिल्लामा ५० प्रतिशत धान भित्र्याउन बाँकी रहेको उनको भनाइ छ ।

काटेर खेतमा सुकाउन राखिएको धान सबै सखाप भएकाले लगानी पनि नउठ्ने अवस्था बनेको जानकी गाउँपालिका–६ का किसान भोजराज चौधरीले बताए । पहाडी जिल्लामा पनि काटेको धान खेतमै डुबेको छ । वर्षाका कारण बाजुरामा लगभग ५० प्रतिशत धान क्षति भएको कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत मीनप्रसाद जैसीले जानकारी दिए । धान बाली थक्याउने बेलाको वर्षाले गण्डकी प्रदेशमा पनि व्यापक क्षति गरेको छ । काटेर खेतमै सुकाएको धान भिजाएको, हावाहुरीले ढलाएको र ढिलो फल्ने धानको फूल झारिदिएका कारण उत्पादन घट्ने प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

प्रदेशका ११ मध्ये मनाङ र मुस्ताङबाहेक अन्य जिल्लाको १ लाख २० हजार ५ सय ८० हेक्टरमा धान खेती हुन्छ । यसमध्ये यस वर्ष ९८ प्रतिशत अर्थात् १ लाख १७ हजार ९ सय ३० मा रोपाइँ भएको थियो । ‘समयमै वर्षा भएको, मलको अभाव नभएकाले यस वर्ष धान उत्पादन बढ्ने निश्चित थियो,’ कृषि विकास निर्देशक वासुदेव रेग्मीले भने, ‘तर थन्क्याउने बेलाको वर्षा र हावाहुरीले उत्पादन घट्ने देखियो ।’

मार्सी धानका लागि चर्चित कर्णाली प्रदेशको जुम्ला तातोपानी गाउँपालिकाका किसान धर्मानन्द न्यौपानेको ५ जनाको परिवार शनिबार बिहानैदेखि धान काट्न जुट्यो । झन्डै १० रोपनीमा मार्सी धानको खेती गरेका उनले धान भने भित्र्याउन पाएनन् । ‘सबैतिर टीका लगाउन जान पाएकै थिएनौं, बाली भित्र्याएर अन्य आफन्तका घरमा टीका लगाउने योजना थियो,’ उनले भने, ‘तर आइतबारदेखि लगातार पानी परेपछि काटेको सबै धान बारीमै निथ्रुक्क भिजेको छ ।’

न्यौपाने परिवारले काटेको सबैजसो धान खेतमै छरपष्ट छ भने झन्डै आधा धान बारीमै झरेको छ । छिमेकी कमल न्यौपाने पनि काटिसकेको धान कुहिन लागेपछि चिन्तित छन् । ‘बरु नकाटेकै भए धान बाली जोगिन्थ्यो कि,’ उनले भने, ‘वर्षभरि खान पुग्ने धान झरीले कुहियो, अब कसरी परिवार पाल्ने ?’ यस पटकको धानबाट आशा गर्ने अवस्थै नरहेको उनले बताए ।

झरी परिरहेकाले किसानलाई बारीको धान नउठाउन सल्लाह दिएको जिल्ला कृषि विकास प्रमुख बालकराम देवकोटाको भनाइ छ । जुम्लामा २९ सय हेक्टरमा धान खेती गरिन्छ । जसमा १४ सय हेक्टरमा मार्सी धान रोपिएको छ भने करिब १५ सय हेक्टरमा उन्नत जातको धान लगाइएको कार्यालयले जनाएको छ ।

दुई दिनसम्म लगातार भएको वर्षाले सल्यानमा पाकेको धानमा आंशिक क्षति पुर्‍याएको छ । पाकेको धान जोगाउन किसानलाई हम्मे परेको कृषि कार्यालयका निमित्त प्रमुख महेश आचार्यको भनाइ छ । सल्यानमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा वार्षिक २८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । क्षतिको विवरण संकलन गर्न गाउँगाउँमा प्राविधिक खटाइएको उनले जानकारी दिए ।

लगातारको वर्षाका कारण धान बालीमा केही क्षति पुगेको रुकुम पश्चिमका निमित्त कृषि विकास प्रमुख मीनबहादुर केसीले बताए । गत वर्ष सबैभन्दा बढी सुर्खेतमा १४ हजार ६ सय हेक्टरमा धान खेती गरिएकोमा ५१ हजार ४ सय ७२ टन धान फलेको थियो । सबैभन्दा कम डोल्पामा २ सय ७८ हेक्टरमा धान खेती गरिएकोमा ५ सय ८ टन उत्पादन भएको थियो । कर्णालीका हिमाली जिल्लामा मार्सी धानको खेती हुन्छ भने पहाडी जिल्लामा गुडी जातको स्थानीय धानको उत्पादन हुन्छ ।

घनश्याम गौतम (रूपन्देही), सन्जु पौडेल (लुम्बिनी), दुर्गालाल केसी (दाङ), माधव अर्याल (पाल्पा), ठाकुरसिंह थारू (नेपालगन्ज), कमल पन्थी (बर्दिया), मनोज पौडेल (कपिलवस्तु) र नवीन पौडेल (परासी), भवानी भट्ट (कञ्चनपुर), मोहन बुडाऐर (धनगढी), गणेश चौधरी (टीकापुर), अर्जुन शाह (बाजुरा), तृप्ति शाही (बैतडी), लालप्रसाद शर्मा (पोखरा), कृष्णप्रसाद गौतम (सुर्खेत) र विप्लव महर्जन (सल्यान)

प्रकाशित : कार्तिक २, २०७८ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?