हाइड्रोजन ऊर्जाको बल्ल गृहकार्य

‘हरित ऊर्जामा हाइड्रोजन बढी प्रभावकारी’

काठमाडौँ — पेट्रोलियम पदार्थ र नवीकरणीय ऊर्जाका विभिन्न स्रोतलाई हाइड्रोजन ऊर्जाले प्रतिस्थापन गर्न सकिनेबारे बहस सुरु भएको छ । अहिले प्रयोग भइरहेका इन्धनका विभिन्न स्रोतलाई हाइड्रोजन ऊर्जामा परिणत गरेर कार्बन उत्सर्जन नियन्त्रण गर्ने र हरित ऊर्जा प्रवर्द्धनमा सघाउन सकिनेबारे नेपालले पनि गृहकार्य थालेको हो ।

हाइड्रोजन ऊर्जाको बल्ल गृहकार्य

नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति र व्यापार गरिरहेको एकमात्र सरकारी कम्पनी नेपाल आयल निगमले हाइड्रोजन ऊर्जालाई प्रवर्द्धन गर्न लगानी गरिरहेको छ । काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा ‘ग्रिन हाइड्रोजन ल्याब’ स्थापना गरेर हाइड्रोजन ऊर्जाको उत्पादन, यसको आवश्यकता र प्रयोगबारे अध्ययन भइरहेको निगमले जनाएको छ । डिजेल, पेट्रोल, मट्टीतेल, एलपीजीलगायत पेट्रोलियम पदार्थको ठाउँमा हाइड्रोजन ऊर्जाबाट चल्ने प्रविधिको विकासका लागि अध्ययन भइरहेको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

काठमाडौं विश्वविद्यालयले सञ्चालन गरिरहेको ग्रिन हाइड्रोजन ल्याब नेपालमा पहिलो हो । विकसित मुलुकहरूले पेट्रोलियम पदार्थ तथा कार्बन उत्सर्जन गर्ने ऊर्जालाई शून्यमा झारेर हरित ऊर्जालाई अवलम्बन गर्न विभिन्न रणनीति तथा प्रयोग गरिरहेका छन् । यसमध्ये हाइड्रोजन इनर्जी सम्भावित क्षेत्रका रूपमा पहिचान भइसकेको छ । हाइड्रोजन प्रयोगबाट कार्बन उत्सर्जन हुँदैन । त्यसैले यसलाई हरित ऊर्जाको भरपर्दो स्रोतका रूपमा हेरिँदै आएको छ ।

इन्धनका स्रोत विस्तारै परिवर्तन हुँदै गएको र पेट्रोलियम पदार्थ मात्र नभई अरू नवीकरणीय ऊर्जालाई पनि हाइड्रोजन ऊर्जाले प्रतिस्थापन गर्न सक्नेबारे सोच्नुपर्ने बेला आएको काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा बताउँछन् । ‘विभिन्न मुलुकले ऊर्जा क्षेत्रको अबको बाटो हाइड्रोजनको प्रयोगबाट तय गर्ने रणनीति बनाइसकेका छन् । यसलाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भनेर अध्ययन/अनुसन्धान आवश्यक छ,’ थापाले भने, ‘हाइड्रोजन कसरी उत्पादन गर्ने ? उत्पादन गरेर कहाँ प्रयोग गर्ने ? उत्पादित हाइड्रोजनको बजार कहाँ हुन्छ लगायत विषयबारे जानकारी गराउनु छ ।’ यस विषयलाई नीति निर्माण तहबाटै बहसमा ल्याउन आवश्यक रहेको ग्रिन हाइड्रोजन ल्याबका सल्लाहकारसमेत रहेका उपकुलपति थापाको भनाइ छ ।

निगमले अहिले पेट्रोलियम पदार्थको व्यापार गरिरहेको छ । भविष्यमा पेट्रोलियम पदार्थको प्रयोग घट्दै जाने र त्यसलाई अरू कुनै क्षेत्रले प्रतिस्थापन गर्नुपर्ने अवस्थाबारे समेत सोचेर हाइड्रोजन ऊर्जामा लगानी गरिरहेको भट्टराईले बताए । ‘भविष्यमा निगमलाई हाइड्रोजन उत्पादन गर्ने र निर्यात गर्न सक्ने संस्थाका रूपमा विकास गर्न सकिन्छ,’ उनले भने ।

हाइड्रोजन अब ऊर्जा क्षेत्रको प्रभावकारी र दिगो स्रोतका रूपमा उदाउने ल्याब सञ्चालनको नेतृत्व गरिरहेका विराज सिंह थापा बताउँछन् । ‘विकसित मुलुकमा हवाईजहाज, रेल, बस, पानीजहाजलगायत यातायातका क्षेत्रमा हाइड्रोजन प्रयोग हुन थालिसकेको छ । हामीले पनि बिस्तारै यसलाई अवलम्बन गर्नुपर्छ,’ उनले भने । नर्वे, फ्रान्स भारत, चीन, दक्षिण कोरिया, अमेरिकालगायत देशले पछिल्लो समय हाइड्रोजन उत्पादनका लागि आफ्ना रणनीति सार्वजनिक गरिरहेका छन् । पेट्रोलियम पदार्थ निर्यात गर्ने मध्यपूर्वी देश नै हाइड्रोजन उत्पादनतिर केन्द्रित हुनुले अबको ऊर्जा क्षेत्रको नेतृत्व यसले गर्न सक्ने सम्भावना बलियो बन्दै गएको ठानिएको छ ।

सुरुवाती चरणमा नेपालमा रासायनिक मल, विभिन्न उद्योग र यातायातका क्षेत्रमा हाइड्रोजन प्रयोग गर्न सकिने सम्भावनाबारे अध्ययन गरिरहेको थापाको भनाइ छ । ‘विद्युत् बढी खपत हुने फलाम, स्टिल, सिमेन्टलगायत उद्योगमा हाइड्रोजनको प्रयोग बढी प्रभावकारी हुन सक्छ,’ उनले भने, ‘यातायातका क्षेत्रमा पनि यसलाई प्रयोगमा ल्याउन सक्छौं । किनकि हाइड्रोजनमा इनर्जी भण्डारण गर्न सक्ने क्षमता बढी हुन्छ । हामीले अहिले प्रयोग गरिरहेका ब्याट्रीहरूलाई दोब्बर बढी इनर्जी स्टोर गर्न सकिन्छ ।’

प्रकाशित : आश्विन ५, २०७८ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?